मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गोलाप्रथा प्रणालीमा कसरी तोकिन्छ इजलास र पेसी ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०७:३५:००

संशोधित कार्यविधिमा पेसी तोक्ने प्रक्रिया र इजलास गठनबारे व्यवस्था गरिएको छ । प्रत्येक दिनका लागि साप्ताहिक र पूरक पेसी सूचीमा समावेश भएका तथा भैपरी आउने मुद्दाको सुनुवाइका लागि एकल, संयुक्त र पूर्ण इजलास गठन गरिन्छन् । गोला तान्नका लागि एकै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग हुनेछन् । गोलामा वर्णमालाका अक्षर र अंक प्रयोग हुन्छ । अपारदर्शी थैलीमा राखेर न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एक गोटी तान्नुपर्छ । सिसिक्यामेरामा देखिने गरी गोलाको संकेत प्रस्ट रूपमा पढ्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

न्यायाधीशहरूले तानेको गोटीबमोजिम क्रमशः कम्प्युटरमा सफ्टवेयर अद्यावधिक गर्दै इजलास गठन हुनेछन् । क्रमशः पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछन् । बृहत् पूर्ण र पूर्ण इजलास गठनका लागि भने अलग्गै गोटी र थैलीको व्यवस्था हुनेछ । पूर्ण इजलास भएको दिनमा त्यसपछि मात्रै क्रमशः एकल र संयुक्त इजलास गठन हुनेछ । अन्य दिनमा संयुक्त इजलास गठनपछि एकल इजलासका लागि गोला तान्ने व्यवस्था छ । यसरी तोकिने पेसीको विवरण बिहान १०:३० सम्म वेबसाइटमा अद्यावधिक भइसक्नेछ ।

गोला प्रणालीमा पुराना मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखिएको छ । मुद्दाको प्रकृति, दर्ताको मिति र कार्यबोझका आधारमा मुद्दा शाखाबाट निर्धारित कोटाका आधारमा पेसी तोकिन्छ । सुनुवाइ हुन नसकेका पाँच वर्ष पुराना मुद्दालाई दर्तामितिका आधारमा एक महिनाभित्र पुनः पेसी चढाउनुपर्ने अनिवार्य व्यवस्था कार्यविधिमा छ । साप्ताहिक पेसीको तारेख तोकिएको मुद्दाको विवरणसहितको सूची मंगलबारसम्म तयार गरी मुख्य रजिस्ट्रारलाई बुझाउनुपर्छ ।

पूरक पेसी सूचीमा भने साप्ताहिक पेसी सूचीमा नपरेका, तर इजलासमा सुनुवाइ हुनुपर्ने मुद्दा वा निवेदनहरू महाशाखा प्रमुखले सुनुवाइको अघिल्लो दिन दिउँसो ३ बजेभित्र बुझाउनुपर्छ । साप्ताहिक र पूरक पेसी सूचीबाट आएका मुद्दाको सुनुवाइका लागि इजलास गठन र मुद्दा सूचीको निर्धारण गोलाप्रथाबाट हुनेछ । हेर्दाहेर्दैमा परेका मुद्दाको पेसी तोक्दा भने इजलास स्वतः गठन भएको मानिने प्रावधान राखिएको छ । 

प्रत्येक दिन १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र सूचना प्रविधि प्रविधिज्ञको उपस्थितिमा गोला प्रक्रियाबाट इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुने कार्यविधिमा उल्लेख छ ।