
नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध निर्वाचित भएका छन् । बुधबारदेखि सदरमुकाम बेनीमा सुरु भएको साताैँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापतिमा निर्विरोध भएका गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति हुन् ।
केन्द्रमा सभापति देउवा पक्षनिकट मानिने गर्वुजासँग पौडेल पक्ष मानिने पूर्वजिल्ला सभापति एवं संविधानसभा सदस्य रेशमबहादुर बानियाँले प्रतिस्पर्धा गर्ने बताइएको भए पनि सहमतिमा नेतृत्व चयनका लागि बानियाँ उम्मेदवारीबाट पछि हटेका हुन् । सभापति पदमा सर्वसम्मत भए पनि अन्य पदहरूमा भने आवश्यक संख्याभन्दा बढी मनोनयन दर्ता भएको छ ।
त्यसैगरी अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजीमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध भएकोे निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा दुईजना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाको मनोनयन दर्ता भएको छ । उपसभापतिमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मीनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालको उम्मेदवारी परेको छ ।
त्यसैगरी दुईजना निर्वाचित हुने सचिव पदमा चारजनाको उम्मेदवारी परेको छ । सचिव पदमा अजयमिलन श्रेष्ठ, भरत ढकाल, दुर्गाराम सुवेदी र हिराबहादुर पुनको उम्मेदवारी परेको छ । दुईजना निर्वाचित हुने सहसचिव पदमा तीनजनाको उम्मेदवारी परेको छ । उक्त पदमा कोमलप्रसाद उपाध्याय, ध्रुवराज कार्की र श्रीराम पौडेलले मनोनयन दर्ता गराएका छन् । जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनको प्रयास गरिने र सहमति नजुटे निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको कांग्रेस म्याग्दीले जनाएको छ ।