मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोमबार काठमाडौंमा देखिएको धुलो–धुवाँ । तस्बिर : दीपेन्द्र ढुंगाना
यम बम काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार ०६:१५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिल्लीको प्रदूषण नेपालको तराईसम्म

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७८ कार्तिक ३० मंगलबार ०६:१५:००

भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो । यो सूचकांक दुई सय नाघ्नुलाई अति अस्वस्थकर र तीन सय नाघ्नुलाई घातक मानिन्छ । आइतबार विराटनगरमा यो सूचकांक एक सय ९७ थियो । 

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आइतबार साँझ यो मात्रा चार सय ६० पुगेको थियो । त्यसमा सुधार भई सोमबार १७६ मा झरेको छ । त्यस्तै, सोमबार सिमरामा एक सय ८४, धनगढीमा एक सय ५५, जनकपुरमा एक सय सात पुगेको छ भने काठमाडौंको कीर्तिपुरमा पनि एक सय १३ पुगेको छ । नेपालगन्ज, लुम्बिनीमा रहेका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक भने अपडेट भएको छैन । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांग- पश्चिमी वायु पूरै सक्रिय त छैन, तर केही प्रभाव परेको हुन सक्छ । तराई क्षेत्रमा तुवाँलो लाग्न थालेको विवरण पनि आइसकेको छैन ।

नेपालको राष्ट्रिय मापदण्डअनुसार पिएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्छ । हिउँदयाममा नेपालको वायु सामान्यतः प्रदूषित हुने गर्छ । त्यसमा पनि भारतीय क्षेत्रको प्रदूषणको प्रभावले पनि प्रदूषण बढ्ने गरेको छ । 

‘स्याटेलाइट हेर्दा दक्षिण एसियाली स्वरूप नै प्रदूषित देखिन्छ । काठमाडौंको वायु खराब भइसकेको त छैन, तर तराईमा असर पर्न थालेको छ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने भन्छन्, ‘हिउँदमा हावा पश्चिमबाट पूर्व बहने भएकाले दिल्ली तथा भारतीय सीमा क्षेत्रको प्रदूषणले नेपालमा केही न केही असर गर्छ ।’

चार वर्षअघि लुम्बिनी क्षेत्रमा प्रदूषणको कारणबारे अध्ययन गरेका प्राध्यापक रामप्रसाद रेग्मीले दिल्ली, हरियाणा, पन्जाब क्षेत्रको प्रदूषणको प्रभाव नेपालमा पनि पर्ने गरेको बताए । ‘लुम्बिनी क्षेत्रको प्रदूषणको मुख्य कारण स्थानीय धुलोजन्य उद्योग, धुलाम्य सडक, आगो बाल्नु र हिउँदमा शीतलहर हो,’ उनले भने, ‘तर, सीमावर्ती क्षेत्रको प्रदूषण पनि बहेर यहाँसम्म पुग्छ ।’ अन्तर्देशीय प्रदूषणको असर बाह्रै महिना नभई हिउँदका तीन–चार साता पर्ने गरेको उनी बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले दिल्लीमा रहेको प्रदूषणको प्रभाव नेपाल आउन दक्षिण–पश्चिमी वायु सक्रिय हुनुपर्ने बताए । ‘पश्चिमी वायु पूरै सक्रिय त छैन, तर केही प्रभाव परेको हुन सक्छ,’ उनले भने, ‘तराई क्षेत्रमा तुवाँलो लाग्न थालेको विवरण पनि आइसकेको छैन ।’

हिउँद लागेसँगै नयाँदिल्लीमा प्रदूषणको मात्रा डरलाग्दो गरी बढेको छ । हावाको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको तथ्यांकअनुसार आइतबार साँझ दिल्ली विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा ५८७ माइक्रोग्राम प्रतिघनमिटर नाघेको छ ।

अहिले दिल्लीमा आपत्काल घोषणा गरिएको छ र विद्यालयहरू बन्द गरिएको छ । सवारीसाधनको उपयोग ३० प्रतिशत मात्र गर्न केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले निर्देशन दिएको छ । 

सवारी प्रदूषण मापन केन्द्र खोइ ?
नेपालको वायु प्रदूषणको प्रभाव कम गर्न वातावरण विभागले ०७६ मा ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ बनाएको थियो जसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरे पनि यसै अलपत्र परेको छ । 

कार्ययोजनामा यातायात, निर्माण गतिविधि तथा उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गरिने उल्लेख छ । यसैगरी, नयाँ सवारीसाधनमा युरो–४ मापदण्ड तत्कालै लागू गरिने र प्रदूषणसम्बन्धी मापदण्ड लागू गरी पास हुने सवारीसाधनलाई हरियो स्टिकर दिइने कार्ययोजनामा उल्लेख छ । 

त्यस्तै, उपत्यकामा चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्न एक वर्षभित्र कम्तीमा दुईवटा प्रदूषण मापन केन्द्र स्थापना गरिने पनि कार्ययोजनामा समावेश गरिएको थियो । जसको कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार टेकुस्थित सवारी परीक्षण कार्यालयबाट सवारीको प्रदूषण जाँच हुने गरेको छ । त्यसबाहेक यातायात कार्यालय एकान्तकुना, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं र सवारी परीक्षण कार्यालय हेटौंडा र बुटवलबाट जाँच हुने गरे पनि नेपालमा छुट्टै सवारी प्रदूषण मापन केन्द्र नै छैन । 

‘सवारीको प्रदूषणकै जाँचका लागि छुट्टै केन्द्र स्थापना गर्ने भनिएको हो । तर, मन्त्रिपरिषद्बाट निर्णय भएको छैन,’ महानिर्देशक घिमिरेले भने, ‘आवश्यक पूर्वाधार बनाउन समय लाग्छ, तत्कालै अगाडि बढाउने भनेर पनि हुँदैन ।’

वातावरणविद् भूषण तुलाधार वातावरणीय प्रदूषण कम गर्न विभागको कार्ययोजना कार्यान्वयनमा लैजानुपर्ने माग गर्छन् । ‘मौसम अनुकूल हुँदा प्रदूषणमा सुधार आयो भनेर बस्न मिल्दैन, मन्त्रिपरिषद्बाट पारित कार्ययोजना लागू गर्नुपर्छ,’ वातावरणविद् तुलाधरले भने । 

वातावरण विभागका महानिर्देशक निरौलाले कार्ययोजना कार्यान्वयनकै चरणमा रहेको दाबी गरे । ‘कोरोना महामारीका कारण धेरै काम गर्न सकिएन, अहिले अवस्था सहज भएको छ । कार्यान्वयन अगाडि बढाइरहेका छौँ,’ उनले भने ।

वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने- स्याटेलाइट हेर्दा दक्षिण एसियाली स्वरूप नै प्रदूषित देखिन्छ । काठमाडौंको वायु खराब भइसकेको त छैन, तर तराईमा असर पर्न थालेको छ । हिउँदमा हावा पश्चिमबाट पूर्व बहने भएकाले दिल्ली तथा भारतीय सीमा क्षेत्रको प्रदूषणले नेपालमा केही न केही असर गर्छ ।

उच्चस्तरीय समिति नै अलपत्र, मन्त्री नेतृत्वको समन्वय समितिको बैठक नै बसेन
विभागको कार्ययोजना कार्यान्वयनका लागि दुईवटा उच्चस्तरीय समिति गठन गरिएको छ । वन तथा वातावरणमन्त्रीको अध्यक्षतामा रहने समन्वय समितिले नीतिगत निर्देशन दिने व्यवस्था छ भने वातावरणसचिवको नेतृत्वमा कार्यान्वयन समिति गठन गरिएको छ । तर, वातावरणप्रतिको सरकारी उदासीनताले गठन भएयता मन्त्री नेतृत्वको समन्वय समितिको एउटा पनि बैठक बसेको छैन । समितिका सदस्यसचिवसमेत रहेका महानिर्देशक निरौलाले भने, ‘यो समितिको बैठक बसेको सम्झना छैन ।’

समितिमा प्रधानमन्त्री कार्यालय, वन, अर्थ, भौतिक, उद्योग, खानेपानी, ऊर्जा, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय योजना आयोग गरी नौ सचिव सदस्य रहन्छन् । गत वर्ष माघ र चैतमा तुवाँलोले काठमाडौं उपत्यका ढाक्दा पनि महत्वपूर्ण निर्णय गर्न सक्ने यो समितिको बैठक बसेन । 

त्यस्तै, कार्ययोजना कार्यान्वयन, संयोजन र स्रोतसाधन व्यवस्थानको जिम्मेवारी पाएको कार्यान्वयन समितिको बैठक पनि दुई वर्षमा दुईपटक मात्र बस्यो । वनसचिव नेतृत्वको समितिको पहिलो बैठक गत चैत र दोस्रो बैठक असारमा बसेको थियो । बैठकले काठमाडौं उपत्यकामा प्रदूषण नियन्त्रणका लागि कार्ययोजनामा उल्लेखित विषय विषयगत कार्यालयमार्फत नै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । 

जनस्वास्थ्यमा गम्भीर असर गर्ने विषयमा बैठकसम्म पनि नबसेको जिज्ञासा राख्दा महानिर्देशक निरौलाले भने ‘म उपत्यकाबाहिर छु, अब चाँडै बैठक बसेर ठोस निर्णय हुन्छ ।’

सूचकांकले भन्छ– अहिलेको प्रदूषण घातक
नेपालको राष्ट्रिय मापदण्डअनुसार पिएम २.५ (पार्टिकुलेट म्याटर) भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्छ । हिउँदयाममा नेपालको वायु सामान्यतः प्रदूषित हुने गर्छ । वातावरण विभागको तथ्यांकअनुसार सोमबार साँझ साढे ६ विराटनगरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुग्यो । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ को मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो । यो सूचकांक दुई सय नाघ्नुलाई अति अस्वस्थकर र तीन सय नाघ्नुलाई घातक मानिन्छ । आइतबार विराटनगरमा यो सूचकांक १९७ थियो । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आइतबार साँझ यो मात्रा चार सय ६० पुगेको थियो । त्यसमा सुधार भई सोमबार १७६ मा झरेको छ ।