१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Wednesday, 02 July, 2025
२o७८ कार्तिक १७ बुधबार o६:३६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जबरालाई कांग्रेस नेता पौडेलको सुझाव : जति ढिला गर्नुहुन्छ त्यति अपमानजनक बहिर्गमन हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o६:३६:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चाँडो राजीनामा नदिए थप अपमानजनक बहिर्गमन हुने चेतावनी दिएका छन् । मकवानपुर कांग्रेसले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्नै उनले तत्काल राजीनामा दिइहाल्न जबरालाई सुझाए । 

‘प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो– ल ल म छोड्न त छोड्छु, तर मलाई सम्मानजनक बहिर्गमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिएँ– जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक हुन्छ । जति ढिलो छोड्नुहुन्छ, त्यति असम्मानजनक बहिर्गमन हुन्छ तपाईंको,’ पौडेलले भने, ‘किनभने एकपछि अर्को सेटिङका विषय खोतलिँदै आउँछन् ।’

नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानन्यायाधीश जबरासँग सेटिङ गरेर संवैधानिक परिषद्लाई ध्वस्त पारेको र संविधानको आत्मामाथि नै प्रहार गरेको बताए । ‘सेटिङ गर्नुभएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित । प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु, आयुक्त दिन्छु, मेरो कुरा मान भन्ने । मैले संवैधानिक परिषद्को ऐन फेरेको पनि मान, संविधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान भने । संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ?,’ उनले जबरालाई पनि प्रश्न गरे, ‘त्यही सेटिङको समस्या हो कि होइन अहिले सर्वोच्च अदालतमा ?’

देशका अन्य संस्थाहरू ध्वस्त भएको र अहिले सर्वोच्चलाई पनि ध्वस्त बनाउने काम भइरहेको नेता पौडेलको भनाइ छ । ‘अरू संस्था त ध्वस्त भए–भए, जनताको न्यायको अन्तिम मन्दिर सर्वोच्च अदालत पनि ध्वस्त भइरहेको छ,’ उनले भने ।