मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बोक्सी आरोपमा दुर्व्यवहार गरिएका झवसी ठाकुर र सुनैनादेवी ठाकुर शुक्रबार अस्पतालबाट फर्किंदै
रञ्जन भण्डारी महाेत्तरी
२०७८ कार्तिक १३ शनिबार ०६:२१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महोत्तरीमा फेरि बोक्सीको आरोपमा चरम हिंसा : निर्घात कुटपिट गरेर  देवर–भाउजूलाई मलमूत्र खुवाइयो

Read Time : > 2 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
२०७८ कार्तिक १३ शनिबार ०६:२१:००

बोक्सी आरोपमा महिलामाथि चरम हिंसा भएको दुई साता नबित्दै महोत्तरीमा त्यस्तै घटना दोहोरिएको छ । औरही नगरपालिका– ९ अगलेसराकी ५६ वर्षीया सुनैनादेवी ठाकुर (लोहार) र उनका देवर झवसी ठाकुरलाई बिहीबार साँझ स्थानीय रामशिलादेवी मण्डलसहितका व्यक्तिले मलमूत्र खुवाई कुटपिट गरेका छन् ।महोत्तरीकै जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीलाई गत २७ असोजमा मलमूत्र खुवाई चरम यातना दिइएको थियो । 

महोत्तरीका एसपी दिनेश आचार्य भन्छन्–एक आरोपी पक्राउ परेका छन्, बाँकी फरार छन्

धामी र बोक्सीको आरोप लगाउँदै देवर–भाउजूलाई मलमूत्र खुवाउँदै कुटपिट र लुटपाटसमेत भएको छ । एक आरोपी पक्राउ परेका छन् । फरार भएकाहरूको खोजी भइरहेको छ । 

छिमेकी रामकलेवर मण्डलकी पत्नी ३५ वर्षीया रामशिलादेवी बिहीबार साँझ केही स्थानीयसहित झवसीको घर आएकी थिइन् । उनीहरूले झवसीलाई धामी बनेर पिचास पठाएको र सुनैनादेवी बोक्सी भएको भन्दै कुटपिट गर्न थाले । रामशिलादेवीले ‘मेरो श्रीमान् तिमीहरूले नै मारेका हौ । अब मेरो छोरा मार्न खोजेका छौ’ भन्दै हँसियाले आक्रमण गर्न थालिन् । उनीसँगै आएका अरूले पनि कुटपिट गर्न थाले । 

कुटपिटबाट थलिएपछि उनीहरूमध्येको एकजनाले गिलासमा दिसा घोलेर ल्यायो । र, सबै मिलेर झवसी र सुनैनादेवीलाई कोच्याए । ‘मलाई धामी र भाउजूलाई बोक्सी भन्दै मार्नै खोजे । बिहीबार रामशिलाका छोरा रामउदेशलाई कुकुरले झम्टिएको रहेछ । त्यो कुकुरलाई पनि मैले पिचास बनाएको पठाएको र छोरा मार्न खोजेको भन्दै अत्याचार गरे,’ पीडित झवसीले भने, ‘कुटपिटबाट थिलथिलो भएका हामीहरू उनीहरूका अगाडि लाचार थियौँ । उनीहरूमध्ये कसैले गिलासमा मलमूत्र घोलेर ल्यायो, सबै मिलेर भाउजू र मलाई जबर्जस्ती कोच्याए ।’ 

कुटपिटबाट झवसीको बायाँ आँखा र दाहिने खुट्टाको तल्लो भागमा चोट लागेको छ । ‘हँसियाले मेरो खुट्टामा हिर्काए । उनीहरूले मेरो घाँटी नै रेट्न खोजेका थिए, तर मैले घाँटीछेउ पुर्‍याइसकेको हँसिया हटाउन खोज्दा आँखामा लाग्यो,’ उनले भने । घरमा भएको नगद र गरगहनासमेत लुटेर लगेको पीडितले बताएका छन् । 

सुनैनालाई बोक्सी आरोपमा र झवसीलाई धामीको आरोप लगाउँदै चरम हिंसा भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार रामशिलादेवीलाई पक्राउ गरिएको छ । अन्य आरोपी फरार छन् । ‘धामी र बोक्सीको आरोप लगाउँदै देवर–भाउजूलाई मलमूत्र खुवाउँदै कुटपिट र लुटपाटसमेत भएको घटनाको उजुरी परेको छ । एक आरोपी पक्राउ परेका छन् । फरार भएकाहरूको खोजी भइरहेको छ,’ एसपी आचार्यले भने । 

एसपी आचार्यले घटनालाई अति सूक्ष्म तरिकाले नियालिरहेको बताए । ‘महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाउने, चारपाटे मुण्डन गर्ने, हत्या गर्ने, कुटपिट गर्नेलगायत घटना बढेका छन् । यस्ता घटनामा संलग्नलाई कानुनी माध्यमले कठघरामा उभ्याउन प्रहरी चुक्दैन,’ उनले भने । औरही– ९ का वडाध्यक्ष शंकर झाले अमानवीय कार्य गर्नेलाई कानुनबमोजिम सजाय हुनुपर्ने बताए । 

पीडित झवसी ठाकुर भन्छन्–गिलासमा दिसा घोलेर ल्याए,  भाउजू र मलाई कोच्याए
बिहीबार साँझ घरको दोस्रो तलामा आलु मिलाउँदै थिएँ । रामशिलादेवी मण्डल एक हुल मान्छे लिएर आइन् । एक्कासि उनी भाउजूमाथि आक्रमण गर्न थालिन् । ‘मेरो श्रीमान् तिमीहरूले नै मारेका हौ । अब मेरो छोरा मार्न खोजेका छौ’ भन्दै रामशिलाले आक्रमण गरिन् । उनीसँगै आएकोहरूले पनि कुटपिट गरिरहे । हँसियाले मेरो खुट्टामा हिर्काए ।

उनीहरूले मेरो घाँटी नै रेट्न खोजेका थिए, तर मैले घाँटीछेउ पुर्‍याइसकेको हँसिया हटाउन खोज्दा आँखामा लाग्यो । मलाई र भाउजूलाई उनीहरूबाट छुटाउन आएकी मेरी श्रीमतीलाई समेत कुटे । कुटपिटबाट थिलथिलो भएका हामीहरू उनीहरूका अगाडि लाचार थियौँ । उनीहरूमध्ये कसैले गिलासमा मलमूत्र घोलेर ल्यायो, सबै मिलेर भाउजू र मलाई जबर्जस्ती कोच्याए । हामीले गुहार मागिरह्यौँ । तर, बचाउन कोही आएनन्, बरू उनीहरूले निरन्तर कुटिरहे ।

कसैले प्रहरीलाई खबर गरेको रहेछ, केहीबेरपछि प्रहरी आएर हाम्रो उद्धार गर्‍यो । गत दसैँमा सप्तमीको दिन रामशिलादेवीका श्रीमान्को मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवन गर्ने उनको मृत्युको दोष हामीमाथि लगाए । मलाई धामी र भाउजूलाई बोक्सी भन्दै मार्नै खोजे । बिहीबार रामशिलाका छोरा रामउदेशलाई कुकुरले झम्टिएको रहेछ । त्यो कुकुरलाई पनि मैले पिचास बनाएको पठाएको र छोरा मार्न खोजेको भन्दै सबै मिलेर आक्रमण गरे ।