मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Sunday, 13 July, 2025
गणेश लम्साल नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार o७:o९:oo
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भ्रष्टाचारविरुद्ध शिल्पीको  ‘ठूला माछा, साना माछा’ 

Read Time : > 1 मिनेट
गणेश लम्साल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार o७:o९:oo

गाउँगाउँमा ‘सिंहदरबार’ पुगेपछि झनै भ्रष्टाचार मौलाएको विरोधमा नाटकले खबरदारी गरेको छ 

विराटनगर बसपार्कबाट पश्चिमतर्फको नर्थसाउथ कलेक्टिभ सेन्टरको कार्यालयपछाडिको खुला स्थान शुक्रबार दिउँसोभरि निकै चहलपहल र भिडभाड रह्यो । नेता, पत्रकार, नागरिक समाजका अगुवा सबै एकै ठाउँमा भेला भएपछि स्वाभाविक रूपमा चहलपहल हुने नै भयो । यो चहलपहल कुनै राजनीतिक दलको भेला वा अधिवेशनका लागि भने थिएन । शिल्पी थिएटरले सुरु गरेकोे भ्रष्टाचारविरुद्धको नाटक ‘ठूला माछा, साना माछा’ हेर्न आएका नेता, पत्रकार, नागरिक समूहका प्रतिनिधिले यहाँ चहलपहल बढेको थियो ।

घिमिरे युवराज, नाटक निर्देशक

व्यवस्था परिवर्तन गराउन दल र नेताहरूले कलाकारलाई खुब प्रयोग गरे, तर सत्ता प्राप्त भइसकेपछि कसैले वास्ता गरेनन् । सबै आफ्नै स्वार्थमा मस्त रहे । त्यसैले सुशासनमा खबरदारी गर्न नाटकमार्फत हामी जुर्मुराएका हौँ ।

शिल्पी थिएटरले देशव्यापी अभियानअन्तर्गत शुक्रबार यहाँ खुला नाटक मञ्चन गरेको थियो । शिल्पीका कलाकारहरूले ५० मिनेटसम्म आफ्नो कला प्रस्तुत गरेका थिए । उपस्थित दर्शकले १३ जना कलाकारको प्रस्तुति निकै रोचक मानेर हेरेका थिए । अभिनयबाट दर्शक भावुक मात्रै भएनन्, केही दर्शकले त आँसु नै चुहाए । राजनीतिक व्यवस्था परिवर्तन भए पनि देशमा वास्तविक अधिकारका दाबेदारहरूले केही पाउन नसकेको, किसान अझै चरम शोषणमा परिरहेको, विकासका नाममा प्राकृतिक विनाश झनै बढेर गएको लगायत कथा र दृश्यले दर्शक आफ्नै दुःख सम्झिरहेका थिए । 

शिल्पी थिएटरको पहिलो प्रस्तुति हेरेपछि कांग्रेसका नेता शेखर कोइरालाले नाटक अत्यन्तै सान्दर्भिक रहेको र यसैगरी खबरदारी गर्ने कलाको खाँचो रहेको बताए । यस्तै, माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेतीले पनि नाटक हेरेर निकै भावुक बनेको बताए । उनले भने, ‘नाटकले भ्रष्टाचार, विकृति र विसंगतिलाई उधिनेको छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्न नाटक सफल छ ।’ पहिलोपटक मञ्चन भएको नाटक हेर्न तीन सयभन्दा बढी पुगेका थिए । शिल्पीले प्रदेश १ बाट भ्रष्टाचारविरुद्धको नाटक अभियान सुरु गरेको हो । 

प्रदेश १ मा १७ कात्तिकसम्म नाटक प्रदर्शन
शिल्पीले १७ कात्तिकसम्म प्रदेश १ का विभिन्न जिल्लामा ‘ठूला माछा, साना माछा’ नामक खुला नाटक यात्रा सुरु गरेको छ । सोही क्रममा शुक्रबार पहिलोनाटक विराटनगरका साहित्यकार, नेता, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरूका लागि नाटक देखाएको हो । नाटक निर्देशक घिमिरे युवराजले नाटकले देशमा विद्यमान समस्या र गाउँगाउँमा सिंहदरबार पुगे पनि भ्रष्टाचार झनै मौलाएको बारेमा खबरदारी गर्ने बताए । यस्तै, भ्रष्टाचारको विरोधका आवाजहरू मौन रहेकाले युवाशक्ति र नागरिक समाज, राजनीतिक दलहरूलाई समेत खबरदारी गर्न नाटक यात्रा सुरु गरेको उनले बताए । उनले भने, ‘व्यवस्था परिवर्तन गराउन दल र नेताहरूले कलाकारलाई खुब प्रयोग गरे, तर सत्ता प्राप्त भइसकेपछि कसैले वास्ता गरेनन् । सबै आफ्नै स्वार्थमा मस्त रहे । 

नाटकमा तीनवटा भाषाको प्रयोग
नाटकका परिकल्पनाकारसमेत रहेका निर्देशक घिमिरे युवराजले भने झैँ ‘ठूला माछा, साना माछा’ खुला नाटकमा स्थानीय पालिकाहरूमा भएको भ्रष्टाचार, जनप्रतिनिधिहरूको झगडा, अस्पताल, ठेक्कापट्टा, निर्माण व्यवसायमा छिनाझम्टी, सरकारी कार्यालयहरूको सेवामा भइरहेको खुला घुसखोरीदेखि बिचौलियाको मारमा परेका किसानहरूको यथार्थपरक कथा प्रस्तुत गरिएको छ । स्थानीयलाई बुझ्न सहज होस् भनेर नाटकमा नेपाली, मैथिली, उराँव तीनवटा भाषा प्रयोग गरिएको छ । र, नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगीता उराँव, मानहाङ लावती, असीम खनाल, ज्योति पोख्रेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल, सञ्जित थुलु राईले जीवन्त अभिनय गरेका छन् ।