महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

बिहिबार, २८ असोज, २०७८
डिजिटल संस्करण

भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको संक्रमण घट्दै गए पनि जोखिम पूर्ण रूपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे नै सीमित स्थानीयवासीद्वारा जात्रा गर्ने निर्णय गरिएको हो। 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रूपमा लिई यो जात्रा मनाउन थालिएको हो। यो जात्रालाई मोहनी नखाःको एक महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ। महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा परिणत हुने हुँदा त्यस अवसरमा महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेयकाे बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिएको संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

नवदुर्गा देवगृहमा राखिएका खःमेयलाई तान्त्रिक विधिअनुरूप पूजा गरी  नवदुर्गा द्योःछे (देवगृह) बाट दौडाएर ब्रह्मायणी पीठसम्म पुर्याइन्छ। नवदुर्गा भवानीलाई चढाइने खःमेयकाे टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि एक सय धार्नी तौल भएको मोटोघाटो राँगो चाहिन्छ।

सुझावित समाचार