मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्दै कांग्रेस प्रतिनिधिमण्डल
२०७८ असोज २३ शनिबार ०६:०२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतीय विदेशमन्त्रीलाई कांग्रेस प्रतिनिधिमण्डलको आग्रह : सीमावार्ता सुरु गरौँ,  तुइन प्रकरण फेरि छानबिन होस्

Read Time : > 2 मिनेट
२०७८ असोज २३ शनिबार ०६:०२:००

दिल्ली भ्रमणमा रहेको सत्तारुढ कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेर सीमावार्ता सुरु गर्नुपर्ने र दार्चुला तुइन प्रकरणको फेरि छानबिन गर्नुपर्ने प्रस्ताव गरेको छ । शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सभापति डा. प्रकाशशरण महतले तुइनबाट महाकालीमा खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत जयशंकरको ध्यानाकर्षण गराएका छन् ।

‘भारतीय विदेशमन्त्रीसँग हामीले खुला रूपमा छलफल गरेका छौँ । तुइन प्रकरणदेखि सीमाका विषयमा संवाद गरौँ भनेर स्पष्ट धारणा राखेका छौँ । भारतमा नोटबन्दीपछि नेपालमा बाँकी रहेको भारु सटही गरिदिन पनि आग्रह गरेका छौँ,’ भेटवार्तापछि महतले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालले खरिद गरेको कोभिसिल्डको आपूर्ति चाँडै होस्, नेपाललाई मल उपलब्ध गराउन सहजीकरण होस् पनि भनेका छौँ ।’ 

करिब आधा घन्टा भएको भेटवार्तामा महतसँगै नेताहरू उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए । भारततर्फबाट जयशंकरसँगै भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहर सहभागी थिए । परराष्ट्र मन्त्रालयले तयार गरिदिएको नोटसमेत लिएर कांग्रेस नेताहरूले नेपालका एजेन्डा राखेका थिए । 

जयशंकरले नेपाल बलियो होस् भन्ने भारतीय चाहना भएको भन्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य भइरहेको र जारी रहने बताएका थिए । महतका अनुसार जयशंकरको भनाइ थियो, ‘हामी देउवा नेतृत्वको सरकारसँग अत्यन्त नजिकबाट सहकार्य गर्न तयार छौँ । सरकारलाई हाम्रो शुभेच्छा र सहयोग निरन्तर रहन्छ । नेपाल बलियो होस् भन्ने चाहन्छौँ ।’

नेपाललाई मल उपलब्ध गराउने, नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोपसहित थप खोप आपूर्ति गरिदिने पनि उनले आश्वासन दिएका छन् । ‘मिति नै यकिन गर्न त सक्दिनँ, तर नेपाललाई हामी चाँडै नै खोप आपूर्ति गर्छौँ, आवश्यक ठाउँमा सहजीकरण र समन्वय गरिदिन्छौँ,’ जयशंकरलाई उद्धृत गर्दै महतले भने, ‘तुइन प्रकरणमा एसएसबी संलग्न छैन भन्ने रिपोर्ट हामीकहाँ आएको छ ।’ 

तर, तुइन प्रकरणमा पुनः छानबिन गर्न आग्रह गरेको महतले बताए । ‘एसएसबीले जे रिपोर्ट दिए पनि एकपटक हेरिदिनुस्, जनताको भावनात्मक सम्बन्धको कुरा छ भनेका छौँ, उहाँले सकारात्मक रेस्पोन्स गर्नुभएको छ,’ महतले भने । 

विदेशमन्त्री जयशंकरले कांग्रेस र भाजपाबीच राजनीतिकस्तरमा भएको छलफल आदानप्रदानले दुई देशको सम्बन्धमा समेत योगदान दिने बताएका थिए । ‘राजनीतिक तहमा पनि समानान्तर च्यानलको विकास भएको छ, यसले दुई देशको सम्बन्ध विकासमा सकारात्मक भूमिका खेल्नेछ,’ जयशंकरको भनाइ थियो । 

महत नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलले शुक्रबार भाजपा मुख्यालयमा भाजपा महामन्त्री अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, सांसदहरू डा. हिमांशु त्रिवेदी, राजु विष्ट, भाजपा नेता अनिर्वन गांगुली, महिला मोर्चाका नेतृ बनाथी श्रीनिवासन, नितु डबासलगायतसँग तीन घन्टा छलफल गरेको थियो । महतका अनुसार भाजपाको संगठन संरचना, संगठन सञ्चालन, थिंक ट्यांकको संयोजनलगायत विषयमा विस्तृतमा छलफल भएको थियो । 

महत नेतृत्वको टोली शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बिहीबार दिल्ली पुगेको टोलीले भाजपा अध्यक्ष जेपी नड्डासँग बिहीबार अपराह्न भेटवार्ता गरेको थियो । 

नेपाललाई निरन्तर सद्भाव : राहुल गान्धी 
भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले नेपालप्रति उनको पार्टीले निरन्तर सद्भाव राखिरहेको बताएका छन् । बिदाइ भेटका लागि निवास पुगेका नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा गान्धीले उनको पार्टीले स्थिर नेपाल नीति अवलम्बन गरेको उल्लेख गरे ।

‘हामीले नेपालको लोकतन्त्र, स्थिरता, विकास, समृद्धिका पक्षमा शुभेच्छा राख्दै आएका छौँ, हाम्रो शुभेच्छा र सहयोग भविष्यमा पनि जारी रहन्छ,’ गान्धीले भने । उनले नेपालको हितका विषयमा भारत सरकारका विभिन्न निकायसँग कंग्रेसले आवश्यक परेमा सहजीकरण गरिदिनेसमेत आश्वासन दिएका छन् । ‘असाध्यै राम्रो कुराकानी भयो, राहुल गान्धीजीले नेपाललाई निरन्तर शुभेच्छा र सहयोग छ भन्ने कुरा गर्नुभयो,’ राजदूत आचार्यले दिल्लीबाट टेलिफोनमा भने । भेटवार्तामा नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदी पनि सहभागी थिए ।