१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असोज ७ बिहीबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानी मुहान क्षेत्रमा चुनढुंगा उत्खनन गर्ने विषयमा उपभोक्ताको आपत्ति

Read Time : < 1 मिनेट
२०७८ असोज ७ बिहीबार ११:३०:००

खानेपानीको मुहान क्षेत्रमा उत्खननका लागि अनुमति पाएको सूचना पाएपछि तुल्सीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले त्यसको विरोध गरेको छ। राप्ती लोकमार्गअन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुंगा उत्खननकाे अनुमति दिन थालिएको भन्दै संस्थाले आपत्ति जनाएको हो।

‘हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुंगा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ,’ संस्थाका सचिव मनोज लामिछानेले भने, ‘त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ। मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नुपर्छ।’ संस्थाको खानेपानी मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायतका स्थानमा चुनढुंगा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै उनले यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताए।

उत्खनन अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भूगर्भ विभागलाई पत्र पनि पठाएको छ। यदि त्यस स्थानबाट चुनढुंगा उत्खनन कार्य भएमा कठोर आन्दोलन गर्न पनि तयार हुने उनले बताए। ‘यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्,’ उनले भने, ‘त्यसपछि हामीले तुल्सीपुरलाई कसरी पानी पुर्‍याउन सक्छौँ ?’ 

यी मुहानकै भरमा तुल्सीपुरमा खानेपानी चलेकाले खानी उत्खनन गर्दा तुल्सीपुरमा पानीको हाहाकार हुने उनले बताए। ०२८ सालदेखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो। त्यहाँका मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन्। जसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन्।

यसको संरक्षणका लागि विभागसँगै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, तुल्सीपुर ३ र ४ नम्बर वडा कार्यालयलाई पनि बोधार्थ पठाइएको संस्थाले जनाएको छ।