मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
घर पहिरोले बगाएपछि गौरीलमाण्डौं मावि हिकिलामा आश्रय लिएर बसेका बाढीपहिरो पीडित बालबालिका
२०७८ भदौ २२ मंगलबार ०८:५३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दार्चुलामा सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिँदै

Read Time : < 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ०८:५३:००

दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न लागिएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास–२ मालगाउँका लागि खाद्यान्न ढुवानी हुन लागेको हो । व्यास गाउँपालिकाको मालगाउँका लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुँदै छ ।

गत १५ साउनमा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले महाकाली नदीमा तुइनको लठ्ठो खुस्काइदिएपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् । त्यसयता यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।

१३ भदौमा आएको बाढीपहिरोपछि दुहुँ गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन एक सय क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकाेप्टरमार्फत ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । सम्बन्धित गाउँपालिकाको व्यवस्थापननमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायतका सामग्री ढुवानी गर्न लागेको हो ।

सदरमुकाम खलंगास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालगाउँका लागि खाद्यान्न ढुवानी हुनेछ । अहिले यो क्षेत्रमा ठाउँठाउँमा बाटोसमेत अवरुद्व बनेको छ । दार्चुला–तिंकर सडकखण्डको निजाङगाड खोलामा मोटरेबल पुल बगाएको छ ।

माथिल्लो क्षेत्रमा सडक भासिएका छन् । नेपालले जयसिंह धामी बेपत्ता प्रकरणमा एसएसबीको दोष देखाएपछि भारतले सीमा क्षेत्रमा तुइन लगाउन कडाइ गरेको छ । जसकारण व्यासको दुम्लिङ, मालगाउँ, राप्ला, तुसरपानीलगायतका क्षेत्रमा खाद्यान्न अभाव भएको छ । नेपालबाट जान सो क्षेत्रमा दुई दिन लाग्छ ।