१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
ड्यारेन एसेमोग्लु
२o८१ बैशाख १९ बुधबार o८:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाको असफलताको मूल जड

Read Time : > 3 मिनेट
ड्यारेन एसेमोग्लु
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२१:oo

अमेरिकाले अंगीकार गरेको टप डाउन राज्य निर्माण रणनीति नै असफलताको मूल जड हो
२० वर्षअघि अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्दा उसका प्राथमिकता सूचीमा सो देश पुनर्निर्माण गर्ने बुँदा पनि समावेश थियो । सन् २००९ मा अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या वृद्धि गरिँदा जनरल स्ट्यान्ले म्याक्क्रिस्टलले भनेका कुरा महत्वपूर्ण थिए । अफगानिस्तानमा सेना पठाउनुको उद्देश्य ‘अफगान सरकारलाई देशको अधिकांश भूमि कब्जा गर्न सघाएर क्षेत्रीय स्थायित्वमा टेवा पुर्‍याउनु र भविष्यमा अन्तर्राष्ट्रिय आतंकवादीले यो भूमि प्रयोग गर्न नसकून् भन्ने प्रत्याभूत गर्नु’ रहेको स्ट्यान्लेले बताएका थिए ।

अहिले एक लाखभन्दा बढीको ज्यान गएपछि र झन्डै २० खर्ब डलर खर्च गरेपछि पनि अमेरिकाले स्थापना गर्न खोजेको राज्य निर्माण प्रक्रिया असफल भएको छ । र, यसक्रममा उसले सन् १९७५ को भियतनाममा जस्तै अपमान बेहोर्नुपर्‍यो । आखिर अमेरिकाले कहाँ गल्ती गर्‍यो ? निश्चित रूपमा यस असफलतामा खराब योजना र सटिक गुप्तचरको अभावको पनि भूमिका थियो, तर खासमा यो समस्या २० वर्षदेखि नै चुलिँदै गएको थियो । 

प्रारम्भदेखि नै अमेरिकाले शान्ति–व्यवस्थायुक्त राज्य निर्माण गर्ने हो भने राज्यका संस्थान बलियो बनाउनुपर्छ भन्ने नीति लियो । यहाँसम्म त अमेरिकाको बुझाइ सही थियो । त्यसपछि उसले कैयौँ विज्ञ तथा हाल गलत ठहरिएका सिद्धान्तहरूबाट प्रेरित भएर यो चुनौतीलाई प्राविधिक समस्याको रूपमा बुझ्यो । अर्थात्, अफगानिस्तानमा सेना, न्यायालय र विज्ञ कर्मचारीतन्त्रजस्ता संस्थान निर्माण गर्न स्रोत खन्याउने र वैदेशिक अनुभव सिकाउने रणनीति पछ्याइयो । एनजिओ तथा पश्चिमी वैदेशिक अनुदान डफ्फा अमेरिकालाई सघाउनलाई त्यहाँ पुगे । (स्थानीयले ती सहयोग माग गरेका छन् कि छैनन् भन्ने पूर्णतः बेवास्ता गरियो ।) तिनको कार्यलाई केही मात्रामा स्थायित्व चाहिने भएकाले सुरक्षाका लागि नेटो फौज तथा निजी सैन्य कन्ट्र्याक्टर परिचालन गरियो । 

अमेरिकी नीतिनिर्माताले राष्ट्र निर्माणलाई ‘टप–डाउन (माथिबाट तल थोपर्ने) प्रक्रिया’का रूपमा लिएकै कारण उनीहरूले राजनीतिशास्त्रमा विशिष्ट मानिने परम्परा पछ्याए । यो परम्पराले भन्छ, कुनै भूमिमा सैन्य आधिपत्य कायम गर्न सकिन्छ र त्यहाँका सबै शक्तिलाई नियन्त्रणमा राख्न सकिन्छ भने आफूले चाहेको जे पनि गर्न सकिन्छ । अधिकांश स्थानमा यो सिद्धान्त आधा सही साबित भएको देखिएको छ, तर अफगानिस्तानमा भने यो पूर्णतः गलत साबित भयो । 

निश्चित रूपमा अफगानिस्तानलाई कामकाजी राज्यको आवश्यकता थियो । तर, यसलाई वैदेशिक शक्तिले माथिबाट थोपर्न सक्छ भन्ने धारणा नै गलत साबित भयो । जेम्स रबिन्सन र यो पंक्तिकारले सन् २०१९ मा प्रकाशित गरेको पुस्तक ‘द न्यारो करिडोर’मा यसको कारणबारे चर्चा गरेका छौँ । विशेषतः लामो समयदेखि कुनै पनि राज्यका निकाय नरहेको र कैयौँ जातजाति रहेको समाजमा माथिबाट थोपर्ने रणनीति असफल हुने हाम्रो तर्क थियो । 

धेरै जातजातिको बसोवास रहेको चीनको छिङ शासन र अटोमन साम्राज्यमा टप–डाउन प्रक्रियाले काम नगरेको होइन । तर, जहाँ यो रणनीति सफल भएको छ, ती राज्य बलका आधार नभएर सम्झौता र सहकार्यमार्फत बनेको देखिन्छ । राज्यका संस्थानअन्तर्गत शक्तिको सफल केन्द्रीकरण तब सफल भएको छ, जब शासित जनताले राज्यको क्रियाकलापलाई सहमति तथा समर्थन दिन्छन् । यस मोडेलमा जनताको चाहनाविपरीत ‘राज्य’ थोपरिँदैन, लोकप्रिय समर्थनमार्फत तिनलाई वैधता दिन खोजिन्छ । यसको अर्थ अमेरिकाले तालिबानसँग मिलेर काम गर्नुपथ्र्यो भन्न खोजेको होइन । तर, उसले अफगानिस्तानभित्रका विभिन्न स्थानीय समूहसँग घनिष्टता कायम गर्दै अघि बढ्नुपथ्र्यो । तर, अमेरिकाले तालिबानी शासन अपदस्थ गरेपछि हमिद कारजाईलाई थपना गर्‍यो । कारजाईको पालामा अफगानिस्तानभित्र भ्रष्टाचार निकै मौलाएको थियो । यस्तो अवस्थामा जति स्रोत खन्याए पनि कुनै उपलब्धि हासिल हुँदैन ।

निश्चित रूपमा अफगानिस्तानलाई प्रभावकारी राज्यको आवश्यकता थियो, तर यसलाई वैदेशिक शक्तिले माथिबाट थोपर्न सक्छ भन्ने धारणा नै गलत साबित भयो
 

अमेरिकाको समर्थन पाएका भावी राष्ट्रपति असरफ घानी (जो आज युएईमा निर्वासित भएका छन्)ले सन् २००९ मा हमिद कारजाईको शासनमाथि शोध गरेका थिए । अनुसन्धानको निष्कर्षमा घानीले तत्कालीन रणनीतिले भ्रष्टाचार मात्र बढाएको र त्यसले निर्धारित लक्ष्य हासिल गर्न नसक्ने लेखेका थिए । तर, घानी पछि आफैँ सत्तामा आएपछि भने पूर्ववर्तीको रणनीतिलाई अगाडि बढाए । 

अमेरिकाका लागि अर्को समस्या अफगानी नागरिकले तिनलाई हेर्ने सोचले पनि निम्त्याएको थियो । अफगानिस्तानको ठूलो हिस्साले सुरुदेखि नै अमेरिकालाई तिनको समाज कमजोर बनाउन आएको वैदेशिक शक्तिको रूपमा बुझे । यस्तो स्थितिमा अमेरिकाका लागि बहिर्गमन सबैभन्दा उत्कृष्ट विकल्प हुन्थ्यो । तर, उसले आफ्नो बसाइ २० वर्षसम्म लम्बायो । लामो रक्तपातपूर्ण संघर्षको इतिहास भएको, हालै गृहयुद्धको सामना गरेको मुलुकमा स्वाभाविक रूपमा हिंसात्मक प्रतिक्रियाको सम्भावना रहन्थ्यो, र भयो पनि त्यही । 

तालिबानको गुप्तचर संस्था आइएसआईले तालिबान समूह सैन्य रूपमा पराजित भएको समयमा नसघाएको भए पनि सम्भवतः परिस्थिति अर्कै हुन्थ्यो होला । नेटोले आम अफगान बस्तीमा ड्रोन आक्रमण नगरेको भए र अमेरिकासमर्थित अफगान शासक वर्ग यति धेरै भ्रष्ट नभएको भए पनि फरक परिणाम देखिन सक्थ्यो । तर, यी सबका बाबजुद अमेरिकी फौजको बहिर्गमन योभन्दा राम्ररी व्यवस्थित गर्न सकिन्थ्यो । तर, २० वर्षमा अमेरिकाले गलत मार्गमा चालेका कदमका कारण अमेरिका शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने उद्देश्यमा जसरी पनि असफल हुन्थ्यो । परिणामस्वरूप अफगानिस्तानमा ठूलो मानवीय विपत्ति उत्पन्न भएको छ । तालिबानले विगतको जस्तो क्रूर शासन दोहोर्‍याएनन् भने पनि अफगान जनताले भविष्यमा अमेरिकी असफलताका लागि ठूलो मूल्य चुकाउनेछन् ।

ह्वाई नेसन फेलका सहलेखक ड्यारोन एसेमोग्लु एमआइटीका अर्थशास्त्रका प्राध्यापक हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य


 

ad
ad