
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।
बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने बताए।
उनले भने, ‘आज बसेको स्थायी कमिटीको बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छाैँ, आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउनेछन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी कमिटीको बैठक भोलि बस्नेछ ।’
आजको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझाबका आधारमा प्रतिवेदन पास हुनेछ।