१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख १९ बुधबार १o:४३:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची खानेपानी आयोजना अनिश्चित

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजना क्षेत्रमा एक अर्ब ८८ करोडको क्षति, आयोजनाको २१० मिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरियो

Read Time : > 4 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४३:oo

उपत्यकावासीले २२ वर्षको प्रतीक्षापछि गत १५ चैतदेखि मेलम्चीको पानी प्रयोग गर्न पाएका थिए । मेलम्चीको पानी आएपछि राजधानीवासीले पानीको समस्याबाट केही भए पनि राहतको अनुभूति गर्न पाए । तर, पानी वितरणको तीन महिना नपुग्दै असार पहिलो साता मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा भएको क्षतिले मेलम्ची आयोजना फेरि अनिश्चित भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाढीका कारण अर्बौंको क्षति पुगेको जनाएको छ । आयोजना निर्माण पूरा भएपछि १७ करोड लिटर पानी उपत्यकासम्म आइपुगेको थियो । 

खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भौतिक संरचनामा भएको क्षतिले मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको बताएकी छिन् । आइतबार विकास तथा प्रविधि समितिको बैठकमा सचिव बज्राचार्यले शुक्रबारको बाढीपछि मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित भएको बताएकी थिइन् । 

‘मेलम्चीमा फेरि आएको बाढीले हामीलाई निराश बनायो । १ असारको बाढीपछि अस्थायी रूपमा भए पनि माघसम्म पानी ल्याउन सकिन्छ भन्ने थियो । तर, शुक्रबार रातिको बाढीले अब यो काम माघसम्म गर्न सक्छौँ कि सक्दैनौँ भन्ने यकिन भएको छैन,’ उनले भनिन्, ‘मेलम्ची आयोजना के हुने हो अनिश्चित नै छ । तर, जसरी हुन्छ आयोजना बचाउनुपर्छ भन्ने लागेको छ ।’ 

बज्राचार्यले दीर्घकालीन अध्ययनका लागि एसियाली विकास बैंकलाई आग्रह गरेकोसमेत जानकारी दिइन् । ‘मेलम्चीको हेडबक्सभन्दा माथिबाट लेदोसहितको बाढी आएको छ । यसबारे एडिबीलाई पनि पत्राचार गरेर दीर्घकालीन अध्ययन गरिदिनुस् भनेका छौँ । त्यहाँको भौगर्भिक अवस्था के कस्तो छ अध्ययन गरेर प्रतिवेदन दिन भनेका छौँ,’ उनले भनिन् । 

 बाढीले वैकल्पिक पथान्तरण  प्रणाली थुनियो
बाढीपछि मेलम्ची खानेपानी समितिले आयोजना क्षेत्रको पटकपटक स्थलगत निरीक्षण गरिसकेको छ । बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडबक्स’बाहेक अरू संरचनामा क्षति पुगेको छ भने निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडबक्स डाइभर्सन सुरुङ) थुनिएको छ । मेलम्ची बजारदेखि हेडबक्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये आठ किमि सडक पूर्णरूपमा क्षति भएको, यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको छ । त्यहाँसम्म पुग्ने मुख्य दुईवटा र अर्को एक र चार गरी ६ वटा पक्की पुल पनि बगाएको छ ।

पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको छ । ‘प्रारम्भिक अनुमानअनुसार एक अर्ब ८८ करोडबराबरको क्षति भएको देखिएको छ । त्योभन्दा धेरै पनि हुन सक्छ किनभने अधिकांश संरचना पुरिएको छ,’ समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘अरू कहाँ कहाँ के–के भयो भन्ने कुरा नदीजन्य पदार्थ सफाइ नगरेसम्म जानकारी हुँदैन ।’ 

 

आयोजना निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको छ । बाढीले क्याम्प, त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ । मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टीबालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले सडक बनाउन आवश्यक रहेको पन्तले बताए । आयोजनाले पुल र सडक निर्माणका लागि सेना र सडक विभागलाई आग्रह गरेको छ । सडक खुलाउन स्थानीय तहसँग समन्वय गरिरहेको छ । सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने प्रवक्ता पन्तले बताए । ‘त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ,’ उनले भने ।

 मेलम्चीले सात घर बगायो
मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची नगरपालिका–११ का सात घर बगाएको छ । गत १ असारमा आएको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । 

 यसरी हुँदै छ उपत्यकामा पानी वितरण 
मेलम्ची आयोजना अनिश्चित भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) हाल पानी वितरणका लागि परम्परागत स्रोतमै फर्केको छ । केयुकेएलका अनुसार हाल उपत्यकामा दैनिक करिब १४ करोड लिटर पानी वितरण भइरहेको छ । साताको एक वा दुई साताको एक दिन गरेर पानी वितरण हुने गरेको छ । ‘हामी परम्परागत स्रोतबाटै पानी वितरण गर्न थालेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने, ‘अहिले हामीले कतै चार दिनमा एकपटक, कतै ६/७ दिन ललितपुरको सैबुबाट १२ दिनमा पानी वितरण गरिरहेका छौँ ।’

केयुकेएलले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको थियो । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । 

काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुख्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिएको थियो । यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पुगेको थियो । तर, मेलम्चीमा आएको बाढीका कारण फेरि उपत्यकामा पानी विरतण १४ करोड लिटरमा झरेको छ । 

 तयारी हुँदै एक हजार किलोमिटर नयाँ वितरण सञ्जाल 
मेलम्ची खानेपानी आयोजना बाढीका कारण प्रभावित भए पनि नयाँ वितरण प्रणालीका काम भने भइरहेको छ । हजार किलोमिटर नयाँ वितरण प्रणालीमध्ये २७० मिलोमिटर क्षेत्रका घरधुरीमा परीक्षण, लिकेज भए नएभको परीक्षण र मिटर जडानको काम भइरहेको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जनाएको छ । ‘हामीले आफ्नोतर्फबाट गर्नुपर्ने सबै काम गरिरहेका छौँ । आयोजना बाढीका कारण प्रभावित भए पनि हामीलाई कुनै असर परेको छैन,’ पिआइडीका निर्देशक कमल श्रेष्ठले भने  । मेलम्चीको पानी अनामनगर क्षेत्रका १६ सय घरधुरीमा नयाँ वितरण प्रणालीमार्फत वितरण सुरु भइसकेको थियो । मेलम्ची आयोजनामा बाढीले क्षति पु¥याएपछि केयुकेएलमार्फत वितरण हुने पानी हप्ताको एक दिन नयाँ सञ्चालबाट वितरण भइरहेको छ ।

कोरोना नभएको भए हाम्रो व्यापार बढ्थ्यो– ट्यांकर व्यवसायी
मेलम्ची खानेपानी नआउँदा ट्यांकर व्यवसायीलाई फाइदा भएको छ । कोरोना महामारीका कारण होटेल, मल ठप्प भएकाले व्यवसाय फस्टाउन नसकेको उनीहरू बताउँछन् । खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकले कोरोनाका कारण मेलम्चीको पानी नआउँदा पनि व्यवसाय फस्टाउन नसकेको बताए । 

उपत्यकामा मेलम्चीको पानी नआउँदा दैनिक चारदेखि पाँच करोड लिटर पानी खपत हुने गरेको थियो । दूरीअनुसार ट्यांकरको पानीको मूल्य निर्धारण गरिन्थ्यो । दूरी हेरेर व्यवसायीले पाँच हजार लिटर ट्यांकरको पानीको मूल्य १८ सयदेखि दुई हजार, सात हजार लिटरको २२ सयदेखि २५ सय र १२ हजार लिटर ट्यांकरको पानीको मूल्य ३५ सयदेखि चार हजार रुपैयाँ लिने गरेका थिए । 

‘कोरोनाले अवरोध नगरेको भए मेलम्चीको पानी नआउँदा हामीलाई राहत नै हुन्थ्यो । तर, कोरोना कारण ठूला होटेल, कम्प्लेक्स, मललगायत पानी धेरै खपत हुने ठाउँ बन्द छन् । त्यसैले दैनिक चारदेखि पाँच करोड लिटर पानी खपत हुनेमा अहिले एकदेखि दुई लाख लिटरमै खुम्चिन परेको छ,’ पाठकले भने, ‘अहिले त आफ्नो खल्तीबाट पैसा हालेर कर्मचारी पाल्न परेको छ । हाम्रो अवस्था दयनीय छ ।’ उपत्यकामा नौ सयवटा ट्यांकरमा चालक/सहचालक १८ सयजना, व्यवसायी, बोरिङमा काम गर्ने, संघको कार्यालयका कर्मचारी गरी करिब ३६ हजार आबद्ध छन् ।

ad
ad