१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

थोरै विद्यार्थी भएका विद्यालय खोल्न अभिभावकसहितका सरोकारवाला सकारात्मक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o४:oo

साढे तीन हजार विद्यालयमा २५ जनाभन्दा कम विद्यार्थी, एक सयभन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या १४ हजार 

देशभरका ३५ हजार सामुदायिक विद्यालयमध्ये तीन हजार पाँच सयभन्दा बढीमा २५ भन्दा कम विद्यार्थी छन् । एक सयभन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या १४ हजारभन्दा बढी छ । भर्चुअल कक्षामा सहभागी हुन नसकेका र सहरबाहिर कम विद्यार्थी भएका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने विषयमा बहस सुरु भएको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा शिक्षा सचिव, अभिभावकहरूसमेतको बिहीबार विद्यालय सञ्चालनका विषयमा छलफल भएको थियो । छलफलमा विद्यालय सञ्चालन कार्यढाँचाअनुसार थोरै विद्यार्थी भएका विद्यालय सञ्चालन गर्ने विषयमा अधिकांश सकारात्मक भएको अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए । अनलाइन कक्षाको पहुँचबाहिर रहेको र कोभिड संक्रमण नभएको बाजुराका जिल्लाका विभिन्न विद्यालयमा भौतिक रूपमै कक्षा सुरु भइरहेका छन् । 

सुप्रभात भण्डारी, अध्यक्ष अभिभावक महासंघ नेपाल

विद्यालय सञ्चालन कार्यढाँचाअनुसार थोरै विद्यार्थी भएका विद्यालय भौतिक रूपमै सञ्चालन गर्ने विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा सरोकारवाला पक्षबीच भएको छलफलमा अधिकांश सकारात्मक भएका छन् । 

शिक्षा सचिव रामप्रसाद थपलियाले देशभर १४ हजार विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेको बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार ०७६ मा देशभरमा ५० भन्दा कम विद्यार्थी हुने विद्यालयको संख्या नौ हजारको हाराहारीमा थियो । अनलाइन, अफलाइन कक्षा सञ्चालन हुन नसकेका ठाउँमा कसरी विद्यालयलाई निरन्तरता दिने भन्ने सिसिएमसीमा छलफल भएको शिक्षा सचिव थपलियाले बताए । विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्र र पालिकाले छलफल गरेर अवस्था मूल्यांकन गरी सिकाइ क्रियाकलापलाई निरन्तरता दिन सकिने विषयमा सकारात्मक भएको उनको भनाइ छ ।

एक वर्षभन्दा बढी अनलाइनमै पठनपाठन
कोभिडका कारण ०७६ चैतदेखि विद्यालयमा भौतिक रूपमा पठनपाठन बन्द भएको थियो । पहिलो छालमा कोभिडको संक्रमण घटेपछि केही महिना शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन भएका थिए । वैशाखदेखि दोस्रो छाल सुरु भएपछि पुनः शैक्षिक संस्थाहरू बन्द भएका छन् । असारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्रसमेत कोभिडका कारण भर्चुअल माध्यमबाट पठनपाठन भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि कोभिडको संक्रमण दर अझै पनि २० प्रतिशत माथि छ । 

६० प्रतिशत बालबालिका भर्चुअल कक्षाको पहुँचबाहिरै
नेपालमा कोभिडको समयमा कति बालबालिका भर्चुअल पठनपाठनमा सहभागी छन् भन्ने यकिन अध्ययन छैन । तर, अझै पनि झन्डै ६० प्रतिशत बालबालिका भर्चुअल कक्षाको पहुँचबाहिर रहेको अनुमान छ । शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कति विद्यार्थी अनलाइन वा भर्चुअल कक्षाको पहुँचमा छन् भन्ने अध्ययन गर्न सकेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भर्चुअल पठनपाठनमा कति विद्यार्थी छन् भन्ने यकिन अध्ययन नभएको तर त्यसका लागि प्रयास भएको बताए । उनले विभिन्न छलफलमा सामुदायिक विद्यालयका ४० प्रतिशत विद्यार्थी भर्चुअल पठनपाठनमा जोडिएको विश्लेषण हुने गरेको बताए । केन्द्रले लर्निङ पोर्टल बनाएर सिकाइमा सहजीकरण गरिरहेको छ । 

युनिसेफले गत वर्ष नेपालमा गरेको बालबालिका तथा परिवारमाथिको अध्ययनअनुसार विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित छन् । १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको छ र तीमध्ये ८० प्रतिशतले मात्रै दूरशिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ कार्यहरूका लागि उपयोग गरिरहेका छन् ।

नेपालको हकमा, परिवार जति गरिब हुन्छ, त्यति नै सो परिवारका बालबालिकाले दूरशिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना त्यति नै कम हुने युनिसेफको रिपोर्टमा उल्लेख छ । तथ्यांकअनुसार, सबैभन्दा गरिब परिवारका बालबालिकामध्ये ५ प्रतिशतले मात्रै दूरशिक्षामा पहुँच प्राप्त गरी त्यसको सदुपयोग गर्ने उल्लेख छ । यस वर्ष पनि युनिसेफले भर्चुअल कक्षामा सहभागिताको अध्ययन गर्दै छ । 

अघिल्लो वर्षभन्दा यो वर्ष अनलाइन कक्षा व्यवस्थित भएको, तर विद्यार्थीको सहभागिता लक्ष्यअनुसार हुन नसकेको शिक्षकहरूको गुनासो छ । पद्मोदय माध्यमिक विद्यालयका नारायण गौतमले यस वर्ष अनलाइन कक्षा अघिल्लो वर्षभन्दा व्यवस्थित भएको बताए । ‘हाम्रो विद्यालयमा अनलाइन कक्षामा औसतमा ६० प्रतिशत विद्यार्थी सहभागी छन्, तल्ला कक्षामा ५० प्रतिशत र माथिल्ला कक्षामा ७० प्रतिशतको हारहारीमा उपस्थिति छ,’ उनले भने, ‘अनलाइन कक्षा व्यवस्थित गरे पनि उपस्थिति अझै कम छ ।’ 

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अनलाइन कक्षाको विकल्प नभएको, तर उपस्थिति अझै पनि कम भएको बताए । अघिल्लो वर्ष राष्ट्रिय प्याब्सनले गरेको सर्वेक्षणमा ३० देखि ४० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएको पाइएको थियो । यो वर्ष सहभागिता बढेको पाइएको छ । 

कंकाली माविका प्रधानाध्यापक विष्णु पनेरुले कक्षा १ देखि ५ सम्म ५० प्रतिशत हारहारीमा रहेको र माथिल्लो कक्षामा राम्रो सहभागिता रहेको बताए । अघिल्लो वर्षभन्दा सहभागिता बढेको उनको भनाइ छ ।

विद्यालय र शिक्षकसँग इन्टरनेट, ल्यापटपलगायतका सुविधा भए पनि विद्यार्थीसँग प्रविधिमा पहुँच नहुँदा भर्चुअल पठनपाठनमा सहभागिता कम भएको हो । सरकारले अनलाइन तथा भर्चुअल कक्षा तथा प्रविधिको विकासमा प्राथमिकता दिए पनि विद्यार्थीसम्म पहुँच पु¥याउन ध्यान दिएको छैन । नीति तथा कार्यक्रम र बजेटमा समेत विद्यार्थीलाई प्रविधि पुर्‍याउने विषयमा प्राथमिकता दिएको छैन । 

ad
ad