मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी टोकियो
२०७८ श्रावण ३ आइतबार ०८:२४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : एथलेटिक्स भिलेजमा कोरोना संक्रमित भेटिए

Read Time : > 1 मिनेट
एजेन्सी टोकियो
२०७८ श्रावण ३ आइतबार ०८:२४:००

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका आयोजकको मूलमन्त्र नै ‘सुरक्षित टोकियो ओलम्पिक’ हो । यही कारण प्रतियोगितामा सहभागी हुने करिब ११ हजार खेलाडी पूर्ण रूपमा सुरक्षित रहने उनीहरूको दाबी छ । तर, प्रतियोगिता नजिकिँदै गर्दा खेलस्थलमा भने कोरोना संक्रमितहरू देखिन थालेका छन् । 

शुक्रबार मात्रै पनि खेलाडी बस्ने एथलेटिक्स भिलेजमा कोरोना संक्रमणको केस फेला परेको छ । यही भिलेजमा ११ हजार ओलम्पियन रहनेछन् । सुरक्षित भनिएको भिलेजमै संक्रमित देखिएपछि आयोजकको टाउको दुखाइको विषय बनेको छ । बेलायती समाचार एजेन्सीहरूले एथलेटिक्स भिलेजमा भेटिएका व्यक्तिहरू खेलसँग सम्बन्धित नभएर आगन्तुक भएको जनाएका छन् ।

सेइको हासिमोतो

हामी स्पष्ट छौँ, यी दुवै प्रतियोगिता आयोजनामा धेरै समस्या आउनेछन्, जापानी नागरिकले हाम्रो समस्या बुझ्नेछन्, हाम्रो प्रयास नै प्रतियोगिता सुरक्षित रूपले सञ्चालन गर्ने हो ।

शुक्रबार नियमित परीक्षणको क्रममै एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको बेलायती एजेन्सीहरूले जनाएका छन् । जापान सरकारले भने ओलम्पिकका सहभागी खेलाडीहरूलाई डरविना प्रतिस्पर्धा गर्न आश्वस्त पार्ने कोसिस गरिरहेको छ । केही व्यक्तिमा देखिएको संक्रमणलाई गम्भीरतापूर्वक नलिन ओलम्पिक आयोजक कमिटीले आग्रह गरेको छ ।

ओलम्पिक तथा एसियन खेलकुद प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजर एथलेटिक्स भिलेजमै बस्नुपर्ने नियम छ । एथलेटिक्स भिलेजको सम्पूर्ण व्यवस्थापन आयोजक टोकियो सहरले गरेको हो ।

कोरोना भाइरस महामारीका रूपमा फैलिएकै कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि आयोजना हुन लागेको हो । यो प्रतियोगिता गत वर्ष नै हुनुपर्ने थियो । आइओसी, जापान सरकार तथा आयोजक कमिटीबीच दर्शकविना र कोरोनाविरुद्ध कडा नियम पालनासहित यस वर्ष टोकियो ओलम्पिक आयोजना गर्ने सहमति भएको हो ।

ओलम्पिकमा सहभागी सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । टोकियो सहरका २० प्रतिशत नागरिकले भ्याक्सिन लगाइसकेका छन् । जापानले टोकियो ओलम्पिकपछि पारा ओलम्पिक पनि आयोजना गर्नेछ । आइओसीका अनुसार गृष्मकालीन ओलम्पिक प्रतियोगिता आयोजना गर्ने राष्ट्रले नै दुई सातापछि पारा ओलम्पिक गर्नुपर्छ ।

खेलाडीको स्वास्थ्य पहिलो प्राथमिकता : हासिमोतो
टोकियो तथा पारा ओलम्पिककी आयोजना प्रमुख सेइको हासिमोतोले सर्वसाधारण र खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिएकी छन् । ‘हामी स्पष्ट छौँ, यी दुवै प्रतियोगिता आयोजनामा धेरै समस्या आउनेछन्,’ उनले भनिन्, ‘जापानी नागरिकले हाम्रो समस्या बुझ्नेछन्, हाम्रो प्रयास नै प्रतियोगिता सुरक्षित रूपले सञ्चालन गर्ने हो ।’ टोकियो र पारा ओलम्पिकमा सहभागी हुन आएका ४० व्यक्तिमा कोरोना पोजिटिभ देखिइसकेको छ । यसमा जापानी तथा विदेशी खेल अधिकारी छन् । 

एथलेटिक्स भिलेजमा पालना गर्नुपर्ने नियम
एथलेटिक्स भिलेजमा खेलाडीहरूको आगमन बिस्तारै भइरहेको छ । ४४ हेक्टरमा फैलिएको ओलम्पिक भिलेजमा ११ हजार खेलाडी बस्नेछन् । टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्टसम्म चल्नेछ । कोरोना भाइरसकै कारण आयोजकले ओलम्पिक भिलेजमा खेलाडीहरू पाँच दिनभन्दा बढी बस्न नपाइने जनाएको छ । प्रतियोगिता सुरु हुने पाँच दिनअघि मात्र खेलाडीलाई एथलेटिक्स भिलेजमा प्रवेशको अनुमति छ । आ–आफ्नो इभेन्ट्स समाप्त भएको भोलिपल्टै खेलाडीले भिलेज छाड्नुपर्ने हुन्छ । 

भिलेजमा हिँडडुल गर्न नपाउने तथा चर्को स्वरमा गाउनसमेत पाइँदैन । बिहान, दिउँसो तथा बेलुकाको खाना–समयमा भिलेजमा बसेकाहरूले सामाजिक दूरी कायम गर्नुपर्नेछ । हलभित्र खाना समाप्त गरेपछि सीधै कोठामै जानुपर्छ ।