१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ असार २६ शनिबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा १९ वटा झोलुङ्गे पुल बने, आउँदो वर्ष १५ वटा बनाउने तयारी

Read Time : < 1 मिनेट
२०७८ असार २६ शनिबार १२:३२:००

हिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा गोरखाका विभिन्न स्थानीय तहमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक र स्विस सरकारअन्तर्गतको (टिपिएसयू–हेल्पटाइस–पिटिएपी) को प्राविधिक सहयोगमा केन्द्रले गोरखाका आठ स्थानीय तहमा झोलुङ्गे पुल निर्माणको काम गरेको हो ।

यस योजनाअन्तर्गत गोरखामा १९ वटा झोलुङ्गे पुल निर्माण भइसकेको गोरखा जिल्लासचिव वीरबल घलेले बताए ।‘चुमनुब्रीमा ३, आरुघाटमा ५, बारपाक सुलिकोटमा ४, अजिरकोटमा ५, गण्डकी, सहिदलखन र पालुङटारमा एक–एकवटा गरी हालसम्म हामीले गोरखामा १९ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेका छौँ । आगामी आर्थिक वर्षमा १५ वटा निर्माण गर्ने गरी काम गरिरहेका छौँ’, सचिव घलेले भने । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आगामी वर्ष निर्माणका लागि योजना भएका पुलहरूको डिपिआरसमेत तयार भइसकेको उनले बताए ।

अहिले पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिकामा एक–एकवटा झोलुङ्गे पुल निर्माणधीन अवस्थामा रहेको छ । कोरोना प्रभावका कारण कामदार नपाउँदा र निर्माण सामग्री ढुवानीमा समस्या आउँदा समयमै काम सम्पन्न गर्न नसकेको घले बताउँछन् ।

उनी भन्छन्, ‘पालुङटार र सहिद लखन गाउँपालिकामा निर्माण भइरहेको पुल दुवैमा हालसमम करिब ८० प्रतिशत काम भइसकेको छ । हामीले त्यसलाई जतिसक्दो छिटो सक्ने गरी काम गरिरहेका छौँ ।’ केन्द्रले चालू वर्षमा चुमनुब्री गाउँपालिकामा दुईवटा र बारपाक सुलिकोट गाउँपालिकामा एउटा जीर्ण भएको झोलुङ्गे पुल मर्मत गरेको घले बताउँछन् ।

केन्द्रले संघीय मामिला मन्त्रालय र स्विस सरकारअन्तर्गतका संस्थाहरूसँग २०७४ सालबाट समन्वय गरी गोरखामा पुल निर्माणको काम गर्न थालेको हो ।