१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २३ आइतबार o६:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अग्निपीडित त्रिपालमुनि, बालबच्चाको बिचल्ली

Read Time : > 3 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o६:oo

सप्तरी पडेमाराका दलित अग्निपीडित पाँच दिनदेखि त्रिपालमुनि, बुधबार आगलागीबाट ध्वस्त महोत्तरी जरलहवामा पनि सुत्केरी र शिशु खुला आकाशमुनि

बुधबारको आगलागीमा घर जलेपछि जरलहवाका स्थानीयको त्रिपालमुनि वास छ । यहाँ १०३ घर जलेका छन् । २३६ महिला र २३४ पुरुष गरी ४७० स्थानीय विस्थापित भएका छन् । पीडितलाई बस्न मटिहानी नगरपालिकाले त्रिपाल उपलब्ध गराएको छ । पालिकालाई नेपाल रेडक्रस सोसाइटी, नेपाल–भारत मैत्री युवा संघसहितले राहत उपलब्ध गराएका छन् । मेयर हरिप्रसाद मण्डलले भने, ‘सहयोगी जुट्दै छन् । पीडितको आवश्यकताअनुसार राहत बाँडिरहेका छौँ ।’

सप्तरीको कञ्चनरूप नगरपालिका– ५ पडेमाराका १२ परिवारका २४ घर गत आइतबार आगलागीमा परेर खरानी बनेपछि पाँच दिनदेखि पीडितको वास त्रिपालमुनि छ । दुई छाक टार्न पनि दैनिक ज्याला–मजदुरी गर्नुपर्ने अवस्था यहाँका दलित समुदायका अग्निपीडितहरूको हो । 

पडेमाराकी ममता सरदार मंगलबार काखमा बच्चालाई च्यापेर प्लास्टिकको छानामुनि भेटिइन् । आइतबार दिउँसो आगलागी भएको समयमा उनी घरमै थिइन् । दुई साना बालबालिकालाई जोगाउन भागेपछि उनले आफ्नो घरभित्रको सामान निकाल्न सकिनन् । ‘घरमा आगो लागेको हेरेँ, सामानभन्दा पनि बच्चालाई जोगाउन लिएर हिँडेँ, आगोले सबै सामान जलाइदियो,’ उनले भनिन् । 

पडेमाराकै सन्तोषी सरदारको पाँच महिनाको काखेबच्चा छ । उनको वास प्लास्टिकमुनि छ । चारैतिर खुला भएकाले हावाहुरीले कतिखेर प्लास्टिक र टिन उडाइदिन्छ भने ठेगान छैन । आगलागीमा बालबालिका र आफ्नो ज्यान जोगाउन लागेकाले सबै थोक जलेको उनले बताइन् । ‘लत्ताकपडा, खाना, भाँडावर्तन सबै जल्यो । नागरिकता, पासपोर्ट केही बचेन,’ उनले भनिन् । दिउँसोको समय भएकाले अधिकांश लोग्नेमान्छे काममा बाहिर गएकाले खाद्यान्न, लत्ताकपडा जोगाउन नसकेको उनको भनाइ छ ।

अर्की अग्निपीडित सवितादेवी सरदार पनि काखे बच्चालाई जोगाउन लाग्दा सबै थोक गुमाउन पुगेको बताउँछिन् । ‘परालमा आगो सल्केर अचानक आगलागी भयो । बच्चालाई लिएर भागेँ, सबै सामान जल्यो । बच्चाले लगाउने कपडासमेत छैन,’ सविताले भनिन्, ‘अरूले दिएको खान्छौँ, एउटा संस्थाले दिएको त्रिपालमुनि जसोतसो दिन काटिरहेका छौँ ।’ 

सुनितादेवी सरदारलाई पीडामाथि पीडा थपिएको छ । रोजगारीको सिलसिलामा उनका श्रीमान् विदेशमा छन् । श्रीमान्लाई विदेश पठाउन र घरबार चलाउन उनले सहकारीबाट पाँच लाख ऋण लिएकी छिन् । श्रीमान्ले ऋण तिर्न पठाएको पैसा घरमै थियो । ऋण तिरेकी थिइनन् । आगोले उनको त्यो एक लाख रुपैयाँ जलाइदियो । 

‘बुवालाई सर्पले टोकेको थियो, हेर्न माइती गएँ । अचानक घरमा आगलागी भएको सुनेपछि हतारहतार आएँ । फर्किँदासम्म त सबै सखाप भइसकेको थियो, केही जोगिएन,’ आँखाभरि आँसु पार्दै सुनिताले पीडा पोखिन्, ‘पतिले खाडीमा पसिना बगाएर कमाएको पैसा पठाउनुभयो, आगलागीले त्यो पैसासहित घरको सबै सामान खरानी भयो । अब कसरी ऋण तिर्ने, घर कसरी चलाउने ?’

सप्तरीको कञ्चनरूप नगरपालिका– ५ पडेमाराका अग्निपीडित​​​​

पडेमाराका एक दर्जन अग्निपीडित पाँच दिन बितिसक्दा पनि तीन तहकै सरकारले नहेरेकोमा आक्रोशित छन् । केही संघसंस्थाले दिएको त्रिपालमुनि बस्दै आएका उनीहरू रातिको समयमा वर्षा भयो भने कहाँ जाने भन्ने पिरलोमा छन् । ‘घर रहेन, खानेकुरा केही पनि छैन । दाताले दिएको चिउरा भुजा फाँकेर दिन काट्छौँ । गाउँबाटै केही दयालुले ल्याइदिएको भात बच्चाहरूलाई खुवाउँछौँ,’ अग्निपीडित हरिहरदेवी सरदारले भनिन्, ‘रातको समयमा हावाहुरी आए, पानी परे बच्चाहरूलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।’ 

गत आइतबार दिउँसो पडेमारामा भीषण आगलागीले २४ घर, त्यहाँ रहेको अन्नपात, लत्ताकपडा, चौपाया जलेर करिब २५ लाखबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । हावाहुरीको मौसममा अचानक भएको आगलागीले एकछिनमै टोलभरिकै घर जलाइदिएको थियो । कञ्चनपुर, हनुमाननगर र राजविराज नगरपालिका तथा नेपाल प्रहरीको गरी चार दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । दलित समुदायअन्तर्गत सरदार जातिको बसोबास रहेको पडेमारा गाउँका बासिन्दा आगलागीका घटनाबाट अत्यन्तै पीडित छन् । यो गाउँमा पछिल्लो दुई दशकमा ६ पटक आगलागी भइसकेको छ । 

एक महिने शिशुसँगै त्रिपालमुनी बास, चिउरा र चाउचाउको भर 
बुधबारको आगलागीले फुसको घर जलेपछि महोत्तरीको मटिहानी नगरपालिका जरलहवाकी सवाना खातुन ६ सन्तानसहित त्रिपालमा बसिरहेकी छन् । नगरपालिकाले उपलब्ध गराएको त्रिपालमा उनका पाँच छोरा र एक छोरी छन् । कान्छो छोरा जन्मेको एक महिना मात्र भएको छ । श्रीमान् मोफिज शेष मजदुरीका लागि भारतको अहमदावादमा छन् ।

‘घरबाट एक सिन्को समेत निकाल्न पाइँन । हेर्दा हेर्दै घर जल्यो,’ खातुनले भनिन्, ‘ बहुतै गर्मी है । हम अपने कट्ट सुतु, आ बच्चा के कटट सुताऊ समझमे नहीँ अवैयँ ।’ उनी राहत स्वरुप पाइएको चिउरा, विस्कुट र चाउचाउ खाएर बसेकी छन् ।

बुधवारको आगलागीमा जरलहवाका एक सय तीन घर जलेका छन् । दुई सय ३६ महिला र दुई सय ३४ पुरुष गरी चार सय ७० स्थानीय विस्थापित भएका छन् । पीडितलाई बस्न मटिहानी नगरपालिकाले त्रिपाल उपलब्ध गराएको छ । पालिकालाई नेपाल रेडक्रस सोसाइटी, नेपाल–भारत मैत्री युवा संघसहितले राहत उपलब्ध गराएका छन् । 

मेयर हरिप्रसाद मण्डलले भने, ‘सहयोगी जुटदैछन् । पीडितको आवश्यकता अनुसार राहत बाँडिरहेका छौँ ।’ नेपाली सेनाको रणभिम गणले अग्नी पिडितलाई विहिवार रातीको खानाको व्यवस्थापन गरेको छ । रणभिम गणका गणपति कर्नेल विशेष पौडेलको नेतृत्वमा पाँच सय पिडितहरूलाई खानाको व्यवस्थापन गरिएको हो ।

पीडितलाई २० हजारका दरले राहत दिने निर्णय
जिल्ला विपत् व्यवस्थापन समितिले जरलहवा वस्तीका आगलागीपीडितलाई प्रति परिवार २० हजारको दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार घरवारविहीन भएकालाई नगद राहत दिइनेछ । स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रसको समन्वयमा क्षतिको विवरण संकलन गरी जिल्ला विपत् व्यवस्थापन समितिमा पेश गरिनेछ । त्यस्तै, आगलागी पिडितका लागि राहत, अस्थायी वसोवासका लागि राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगै मधेश प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । आगलागीमा घर घुमाएकालाई नयाँ घर बनाउन तराईमा प्रतिपरिवार तीन लाखसम्म दिने व्यवस्था छ ।

बिहीबार सर्लाही र खोटाङमा आगलागी : १८ घरगोठ जले, एकको मृत्यु
खोटाङ र सर्लाहीमा बिहीबार आगलागीमा १७ घर र एक गोठ जलेका छन् भने एकजनाको मृत्यु भएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको आगलागीमा परी ज्यान गएको हो । खेतमा जम्मा भएका झिक्रा, पात डढाउन बालेको आगो अनियन्त्रित भएर वनमा सल्किएपछि निभाउने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै, खोटाङ बराहपोखरी गाउँपालिका– १ ढुसेनी, डाँडाखर्क र रक्तमाला सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा १२ घर जलेर नष्ट भएका छन् । 

उता सर्लाहीको हरिपुर्वा नगरपालिका– ५ धोबियाही टोलमा आगलागी हुँदा एउटा गोठ र पाँच घर जलेर ध्वस्त भएका छन् । फोहोर जलाउन बालेको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । 
 

ad
ad