मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २१ शनिबार ०७:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जीर्ण झोलुङ्गे पुलबाट खसेर पाँचवटा खच्चड मरे, तीन गम्भीर घाइते

Read Time : > 1 मिनेट
२०७९ जेठ २१ शनिबार ०७:५४:००

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहीबार पाँच वटा खच्चड मरेका छन् भने तीन वटा गम्भीर घाइते भएका छन् । 

फिलिमबाट सिर्दिबासतर्फ फर्किदै गरेका खच्चड पुलबाट चिप्लिर बूढीगण्डकीमा खसेको स्थानीयले जानकारी दिए । ‘झोलुङ्गे पुल पहिले देखि नै जीर्ण थियो, पुलको दायाँ बायाँ काठ राखिएकाे थियो तर अहिले काठ सबै कुहिएको छ, बेलुका माथिबाट खच्चड  ल्याउँदा ८ वटा खच्चड तल खोलामा खसे, पाँच वटा खच्चड मरेका छन्,  तीन वटा गम्भीर घाइते भए’ वडा नं ३ का स्थानीय विशाल गुरुङले भने । 

जीर्ण बनेको पुलको मर्मत सम्भार नहुँदा र दायाँबायाँतर्फ राखिएको काठहरु कुहिँदा खच्चड पुलबाट चिप्लिएर बुढीगण्डकीमा खसेर मरेको उनले बताए । उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने उक्त पुल जिर्ण हुँदा पैदलयात्रु र पर्यटकहरुलाई समेत सास्ती भएको छ । पर्यटक, भरिया र खच्चड लैजान पनि समस्या भएको उनले बताए । 

पुलबाट खच्चड खसेपछि तत्काल मर्मत गर्न गाउँपालिकाले प्रक्रिया सुरु गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘गाउँपालिकाको प्राविधिकलाई स्टमेट गर्न भनेको छु, तत्काल बनाउनुपर्नेछ’ उनले भने ‘तर दिगो सामाधान गर्न नयाँ पुल आवश्यक छ ।’ अर्को झोलुङ्गे पुल बनाउने भनेर दुई वर्ष अघि नै ठेक्का भएको थियाे तर अहिलेसम्म केही काम सुरु भएको छैन उनले भने । 

पुर्वाधार विकास कार्यालय गोरखाले भने पहिरोका कारण झोलुङ्गे पुल निर्माण कार्य रद्ध भएको जनाएको छ । ‘दुई वर्ष अगाडि झोलुङ्गे पुल निर्माणका लागि डिपिआर भएर पनि टेण्डर आह्वान भएको थियो तर नजिकै पहिरो गएपछि सो ठाउँ उपयुक्त छैन भनेर टेण्डर रद्ध भएको हो’ कार्यालयका सब इन्जिनियर सन्तोष पन्तले भने । सोहि पदमार्गका लागि केही मिटर पर छुट्टै डिपिआर तयार गरी पुल निर्माण गरिने उनले बताए ।