१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
एजेन्सी
२o८१ जेठ ५ शनिबार ११:५२:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद

युरोकप २०२० : विश्वकप विजेता र उपविजेता दुवै बाहिरिए

स्पेन र स्विट्जरल्याण्ड्स क्वार्टरफाइनलमा 

Read Time : > 4 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:५२:oo

युरोकप २०२० बाट विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसिया दुवै टोली बाहिरिएका छन् । सोमबार राति भएको खेलमा पराजय व्यहोर्दै फ्रान्स र क्रोएसिया प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएका हुन् । 

क्रोएसिया स्पेनसँग अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित भयो । त्यसपछि भएको अर्काे खेलमा फ्रान्स पनि स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५–४ ले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । फ्रान्स युरोकपको साबिक उपविजेता पनि हो । सन् २०१६ मा आफैँले आयोजना गरेको युरोकपको फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । साबिक विजेता टोली पोर्चुगल पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।

बुचरेष्टमा भएको खेलमा फ्रान्स र स्विट्जरल्यान्डले निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि थप गरिएको अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीबाट थप गोल नभएपछि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा केलियन एम्बाप्पे गोल गर्न चुक्दा फ्रान्सको यात्रा प्रिक्वार्टरफाइनल चरणमै रोकियो । स्विट्जरल्यान्ड निर्धारित ९० मिनेटको खेलमै प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । खेलको ९० मिनेटसम्म स्विजरल्यान्ड खेलमा ३–२ ले पछि थियो । 

यद्यपि, अन्तिम मिनेटमा गोल गर्दै खेललाई ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलेको स्विट्जरल्यान्डले अन्ततः टाइब्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

स्विट्जरल्यान्डले कुनै पनि ठूलो प्रतियोगितामा सन् १९३८ पछि पहिलोपटक नकआउट चरणमा जित हात पारेको हो । हारिस सेफेरोभिकले खेलको १५औँ मिनेटमा हेडिङ गोलमार्फत स्विजरल्यान्डलाई १–० ले अघि बढाएका थिए । जुबेरले क्रस गरेको बलमा सेफेरोभिकले स्विट्जरल्यान्डका लागि हेडिङ गोल गरेका थिए । जारी प्रतियोगितामा जुबेरको यो चौथो गोल ‘एसिस्ट’ हो । स्विट्जरल्यान्डले कुनै पनि आधिकारिक प्रतिस्पर्धामा फ्रान्सविरुद्ध अग्रता लिएको पनि यो पहिलो अवसर हो ।

यद्यपि, स्विट्जरल्यान्डले लगत्तै पाएको पेनाल्टी अवसर भने खेर फाल्यो । जुबेरलाई फ्रान्सका बेन्जामिन पाभार्डले आफ्नो डी बक्सभित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भार)मार्फत स्विट्जरल्यान्डले पेनाल्टी अवसर पाएको थियो । यद्यपि, उक्त अवसरमा रिकार्डाे रोड्रिगेजको प्रहारलाई फ्रान्सका गोलरक्षक हुगो ल्होरिसले असफल बनाइदिए । त्यसको चार मिनेट तीन सेकेन्ड्सपछि करिम बेन्जेमाले लगातार दुई गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । बेन्जेमाले खेलको ५७औँ मिनेटपछि दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए । त्यसपछि खेलको ७५औँ मिनेटमा पल पोग्बाले लामो दूरीबाट आकर्षक गोल गर्दा स्विट्जरल्यान्डको सम्भावना लगभग सकिएकोजस्तै देखिएको थियो ।

तर, ८१औँ मिनेटमा सेफेरोभिकले खेलको व्यक्तिगत दोस्रो र प्रतियोगिताको तेस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । निर्धारित समय सकिनै लाग्दा ९०औँ मिनेटमा ग्रानित शाकाको पास सदुपयोग गर्दै मारियो गाभ्रानोभिकले स्विटजरल्यान्डलाई ३–३ गोलको बराबरीमा फर्काउँदै खेल अतिरिक्त समयतर्फ धकेले । अतिरिक्त समयको खेलमा उनीहरूले गोलको थोरै मात्रै अवसर पाएका थिए । यद्यपि, टाइब्रेकरमा पाँच सुन्दर गोल गर्दै स्विट्जरल्याड्स अघि बढ्यो । 

अतिरिक्त समयमा गोलका केही राम्रा अवसर चुकाएका एम्बाप्पे टाइब्रेकरमा पनि चुके । यो टाइब्रेकरमा गोल गर्न असफल उनी एक्लो रहे । उनको प्रहारलाई स्विट्जरल्यान्डका गोलरक्षक यान सोम्मरले असफल बनाइदिएका थिए ।


स्विट्जरल्यान्डको उत्कृष्ट क्षण

स्विट्जरल्यान्डले पछिल्लोपटक सन् १९५४ को विश्वकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गरेको थियो । स्विटजरल्यान्डले नै आयोजना गरेको उक्त विश्वकपमा समूहगत चरणबाट आठ टोलीले सीधै क्वार्टरफाइनल चरणमा प्रवेश पाएका थिए । क्वार्टरफाइनल चरणको त्यो खेलमा स्विट्जरल्यान्ड अस्ट्रियासँग पराजित भएको थियो । 

त्यो अवसर गुमाउँदा स्विट्जरल्यान्डले सन् १९३८ को विश्वकपदेखि कुनै पनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हात पार्न सकेको थिएन । त्यो उपलब्धि हासिल गर्नुअघि स्विट्जरल्यान्डलाई समूहगत चरणमै मुस्किल देखिएको थियो । समूहगत चरणको तीनमध्ये सुरुवाती दुई खेलबाट एक अंक मात्रै जोड्न सकेपछि स्विट्जरल्यान्ड यसपटक पनि समूहगत चरणबाटै बाहिरिने अवस्थामा थियो ।

त्यही सम्भावना देखेका स्विटजरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले आफ्ना समर्थकसमक्ष माफी माग्दै स्विट्जरल्यान्डको पत्रिकालाई खुला पत्र लेखेका थिए । उनले टर्कीविरुद्धको अन्तिम खेलमा आफ्नो टोलीलाई समर्थन गर्न अनुरोध गरेका थिए । त्यो खेलमा उनीहरूले टर्कीलाई जिते र प्रतियोगिताको तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चारभित्र रहँदै स्विट्जरल्यान्ड जारी युरोकपको प्रिक्वार्टरफाइनल चरणमा प्रवेश गरेको थियो । स्विट्जरल्यान्डले प्रिक्वार्टरफाइनल चरणमा विश्वविजेता फ्रान्सलाई नै पराजित गरेको छ ।

स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा युरोकपकै सर्वाधिक सफलमध्येको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले पनि सोमबार राति भएको यस्तै अर्काे रोचक प्रतिस्पर्धामार्फत क्वार्टरफाइनल चरणको यात्रा तय गरेको छ ।

स्पेनको सनसनीपूर्ण जित

 

प्रतियोगिताकै सर्वाधिक गोल भएको खेलमा विश्वकपको उपविजेता टोली क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेन जारी युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डेनमार्कको कोपनहेगनमा भएको यो खेल निकै रोमाञ्चक रह्यो ।

क्रोएसियाका सब्स्टिच्युड खेलाडीद्वय मिस्लाभ ओर्सिक र मारियो पालासिकले खेलको अन्तिममा लगातार दुई गोल गरेपछि लुइस एन्रिकको टोली स्पेनलाई खेलमा जितका लागि थप ३० मिनेट प्रतिस्पर्धा गर्नुपरेको थियो । यद्यपि, अतिरिक्त समयको खेलमा दुई सशक्त गोल गर्दै स्पेन प्रतियोगितामा अघि बढ्न सफल भयो ।

स्पेनको यही महत्वपूर्ण जितबाट स्ट्राइकर अल्भारो मोराटाले पनि आफू लयमा फर्किएको संकेत गरेका छन् । अघिल्लो खेलमा गोल गर्न नसक्दा आफू र आफ्नो परिवारमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका मोराटाले खेलको अतिरिक्त समयमा स्पेनको चौथो गोल गर्दै जिततर्फ अग्रसर गरे ।

स्पेन त्यतिमै रोकिएन । खेलको १०३औँ मिनेटमा मिकेल यार्जाबलले गोल गर्दै स्पेनको जित ५–३ ले निश्चित गरेका थिए । क्रोएसिया युरोकपबाट लगातार दोस्रोपटक प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । क्रोएसिया गत संस्करणको प्रिक्वार्टरफाइनलमा पोर्चुगलसँग पराजित भएको थियो । क्रोएसियालाई पराजित गरेको पोर्चुगलले नै गत संस्करण उपाधि जितेको थियो । 

पराजयका बाबजुद क्रोएसियाले स्पेनलाई सहजै खेल जित्न दिएन । क्रोएसियाले खेलमा गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । क्रोएसियाले त्यसलाई सदुपयोग गर्न सकेको भए सम्भवतः खेलको कथा अर्कै हुन सक्थ्यो । खेलमा क्रोएसियाले सहज अग्रता पाएको थियो । 

खेलको २०औँ मिनेटमा आफ्नै सहकर्मी पेद्रोले ‘ब्याक पास’ दिएको सहज बललाई नियन्त्रणमा लिने क्रममा स्पेनी गोलरक्षक उनई सिमोनले गम्भीर गल्ती गर्न पुगे । उनले बलतर्फ नहेरी खुट्टाले नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, बल उनलाई नाघेर जाली चुम्न पुग्यो ।

यद्यपि, त्यसपछि स्पेनले राम्रा गोल गर्‍याे । पाब्लो सराबियाले बराबरी गोल फर्काए । त्यसपछि सेसार एज्पिलिक्युटा र फेर्रान टोरेसले गोल गरेपछि स्पेनले ३–१ को अग्रता बनाएको थियो । त्यसका बाबजुद आफ्ना सब्स्टिच्युट खेलाडीको गोलमार्फत क्रोएसियाले निर्धारित समयको खेलमा ३–३ गोलको बराबरी गरेको थियो । गोलको वर्षा भएको यो खेल प्रतियोगिताकै रोमाञ्चक देखियो ।

मोराटा र सिमोनको भाग्य
स्पेन युरोकप इतिहासमा लगातार दुई खेलमा पाँच वा त्योभन्दा बढी गोल गर्ने पहिलो टोली बनेको छ । टोलीको यो सफलतामा मोराटाले पनि आफूलाई लयमा फर्काएको संकेत गरेका छन् ।

प्रतियोगितामा योभन्दा अघिल्ला खेलमा उनले गोलका धेरै अवसर खेर फालेका थिए । क्रोएसियाविरुद्धको खेलमा पनि सुरुवातमा फेर्रान टोरेसको उत्कृष्ट क्रसलाई सदुपयोग गर्न नसकेपछि यो खेल पनि उसका लागि सहज हुने देखिएको थिएन । मोराटाले त्यो अवसर चुकाएको दुई मिनेटपछि नै स्पेनले क्रोएसियालाई आत्मघाती गोल उपहार दिएको थियो ।

तर, त्यसपछि जे भयो त्यसमा उनको योगदान महत्पूर्ण रह्यो । आफ्नो टोली पछि परेको अवस्थाबाट पनि फर्काएर अगाडि बढाउन अग्रपंक्तिमा उनले गोल मात्रै गरेनन्, आफ्ना खेलाडीलाई हौस्याएर पनि उनले आफ्नो भूमिका निर्वाह गरे । यो जितले स्पेनी गोलरक्षक सिमोनलाई पनि राहत दिएको छ । 

उनको गल्तीमा सुरुवातमै पछि परेको टोलीले अन्ततः जितसहित क्वार्टरफाइनल चरणको यात्रा तय गरेको छ । नतिजा यसको विपरीत आएको भए सम्भवतः मोराटा र सिमोनका लागि यो दिन बिर्सन लायक हुने निश्चित थियो ।

ad
ad