१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
इलियट विलियम्स
२o८१ बैशाख २३ आइतबार o९:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

डेरेक चोभिनको सजायपछि आराम गर्ने छुट छैन

जर्ज फ्लोयडको हत्यापछि अमेरिकाले जति प्रगति गरेको भए पनि अझै धेरै काम गर्न बाँकी छ भन्ने देखिएको छ

Read Time : > 2 मिनेट
इलियट विलियम्स
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२o:oo

शुक्रबार डेरेक चोभिनले २७० महिना अर्थात् साढे २२ वर्षको सजाय पाएपछि अमेरिकी इतिहासको एक अध्यायको अन्त्य भयो । अदालतले चोभिनलाई जर्ज फ्लोयड हत्याका लागि सो सजाय सुनाएको थियो । शुक्रबारको सुनुवाइले चोभिनको मुद्दालाई सांकेतिक टुंगोमा पु¥याएको र मुद्दालाई पूर्ण रूपमा अन्त्य गर्ने उपाय दिएको छ । तर, मलाई भने निर्णयपछि अब हामीले सबै सुल्झिएझैँ आराम गर्ने अवसर पाएजस्तो लागेको छैन । 

फैसलापत्रमा ‘कुनै पनि सजायले चोभिनको कदमले पुर्‍याएको क्षतिको पूर्ति नहुने’ भनिएको छ । साथै, कुनै एउटा आपराधिक घटनाको फैसलापछि एक समुदायप्रति अपराध गर्दै आएको मुलुकले उन्मुक्ति पाउँदैन । सिएनएनको कानुनी विश्लेषक भएकाले मैले यस घटनालाई सुरुदेखि नजिकबाट हेर्दै आएको छु । एक अश्वेत अमेरिकी भएकाले यस सुनुवाइमा मेरो व्यावसायिक भूमिकाभन्दा पर पनि अलग लगाव रह्यो ।

फ्लोयडको हत्याले अश्वेत अमेरिकीले दैनिक जीवनमा भोग्नुपर्ने नश्लवाद र असमान आपराधिक न्यायिक प्रणालीलाई पुनः स्मरण गराइदियो । यस सामुदायका सदस्यका लागि सामान्य गल्ती पनि कसरी प्राणघातक हुन्छ भन्ने एक प्रतिनिधि घटना थियो, फ्लोयडको हत्या । फ्लोयडको हत्याको प्रतिक्रियामा देशव्यापी विरोध प्रदर्शन भयो । अश्वेतबाहेक समुदायका मानिसले पनि यसपटकको विरोध प्रदर्शनमा सहभागिता जनाए । यसबाट मलाई एकैपटक राहत तथा दिक्दारीको अनुभव भएको थियो । अश्वेत अमेरिकीले प्रहरीबाट भोग्नुपर्ने ज्यादतीको विरोधप्रति देखिएको आमसमर्थनले राहत अनुभव भएको थियो । तर, यति ठूलो नश्लीय विभेदप्रति अति ढिलो गरी मानिसमा होस आयो भनेर चाहिँ दिक्दारीको अनुभव भयो । 

फ्लोयड हत्यापछिका १३ महिनामा भएका सार्वजनिक बहस र न्यायिक सुनुवाइपछि मैले केही निचोड निकालेको छु । पहिलो, चोभिनको सजायले मलाई युवाकालीन वकालतका दिनमा दोहो¥याइने ‘न्याय’ सापेक्षिक अवधारणा हो भन्ने उक्ति स्मरण गरायो । मलाई ‘जर्ज फ्लोयडको न्याय’को मागप्रति नै असहज महसुस हुन थालेको थियो । 

सुनुवाइमा फ्लोयडकी सात वर्षीया छोरी गियानाको हृदयविदारक बयानपछि कुनै पनि सजायले छोरीलाई उनका पिता फिर्ता दिलाउँदैन भन्ने स्मरण गरायो । मुद्दाबारे जेजति कुरा प्रकाशमा आएका छन्, तिनको सांस्कृतिक अर्थको हिसाबमा साढे २२ वर्षको सजाय ‘न्यायपूर्ण’ छ ? मिनिसोटाको कानुन र दण्डसजाय संहितामा कानुनी रूपमा प्रतिरक्षा गर्न सकिने सजायहरू उल्टिन सक्छन् । दोस्रो, अन्य हत्याको मुद्दाले जस्तै यो मुद्दाले पनि मानव शरीर कति जटिल र नाजुक हुन्छ, भन्ने तथ्यको स्मरण गरायो ।

जर्ज फ्लोयड हत्याको मुद्दाबारे जेजति तथ्य प्रकाशमा आएका छन्, तिनको सांस्कृतिक अर्थको हिसाबमा साढे २२ वर्षको सजाय के साँच्चै ‘न्यायपूर्ण’ छ ?

मेरो वकालत अभ्यासको अन्तिम मुद्दाका रूपमा सन् २००६ मा मैले हत्यासम्बन्धी मुद्दा हेरेको थिएँ । त्यसयता डेरेक चोभिनको मुद्दासम्म आइपुग्दा पीडितको हत्या भएकै हो भन्ने देखाउने मुख्य आधार प्रमाण हो भन्ने बिर्सिएको रहेछु । मेरा लागि चोभिनको मुद्दाको क्रममा भएका अदालती बयानको सबैभन्दा रोचक पक्ष कानुनी रूपमा सबैभन्दा निरस बयानहरू रहे ।

छातीरोग विशेषज्ञ डा. मार्टिन टोबिनले फ्लोयडको हत्याका कारणबारे बोल्दै सास रोकिने प्रक्रिया र फोक्सोको आकारबारे दिएको प्राविधिक पक्षबारे बोलेका थिए । यो बयान फ्लोयडको हत्या नै भएको थियो भन्ने देखाउनका लागि भन्न आवश्यक थियो । तर, चोभिनले फ्लोयडको घाँटीमा लामो समयसम्म घुँडाले थिचेपछि उनको ज्यान गएको भिडियो नै उपलब्ध छ । यत्तिले नपुगेर विभिन्न प्रमाण खोज्नुपर्ने अवस्थाले पूर्ववकिल भएर पनि मलाई चित्त बुझाउन कठिन भइरहेको थियो । 

शताब्दीऔँदेखिको नश्लवाद, वर्गीय विभेद र प्रहरी व्यवहार भोगेको समुदायका एक निर्दोष व्यक्तिको हत्याका प्रमाणका लागि विज्ञानले गर्ने प्राणहीन पोस्टमार्टममा निर्भर हुनुपरेको थियो । अर्थात् सम्पूर्ण सुनुवाइ व्यक्ति जर्ज फ्लोयडको भन्दा जर्ज फ्लोयडको शवमा गएर संकुचित भएको थियो । अन्त्यमा, सम्पूर्ण सुनुवाइको क्रममा मैले आफू संलग्न दुई व्यावसायिक दुनियाँ मिडिया र कानुनमा सफलता हासिल गर्नका लागि व्यक्तिगत तटस्थता कति पीडादायी हुने कुरा बुझेँ ।

व्यक्तिगत रूपमा छोइने घटनामा दूरी कायम गर्न कठिन हुन्छ । हुन त कानुनी विश्लेषकका रूपमा मलाई मेरा काममा मेरा पत्रकार मित्रलाई भन्दा बढी व्यक्तिगत अनुभव मिसाउने छुट हुन्छ । तर, जर्ज फ्लोयडजस्तो अत्यन्त व्यक्तिगत तथा दुःखद घटनामा कुनै पनि दूरी कायम गर्नु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ । चोभिनको सजायको फैसलासँगै जर्ज फ्लोयडको हत्या र त्यसले निम्त्याएको नश्लीय चेतनाले एउटा निष्कर्ष पाएको छ । तथापि जर्ज फ्लोयडको हत्यापछि अमेरिकाले जति प्रगति गरेको भए पनि अझै धेरै काम गर्न बाँकी छ भन्ने देखिएको छ । 

(विलियम सिएनएनका कानुनी विश्लेषक हुन्) सिएनएनबाट

ad
ad