Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ३ बिहीबार ०४:५९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ३ बिहीबार ०४:५९:००

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो । खनाल लगातार ज्वरो र खोकीपछि नर्भिक अस्पताल भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गएपछि चिकित्सकले दिल्ली लैजान सुझाएका थिए ।

खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् । 

नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ । 

उनको पिसाबमा पनि इन्फेक्सन देखिएको छ । यसअघि गत ३० माघमा स्वास्थ्यमा समस्या देखिएपछि खनालले अपोलो अस्पतालमै उपचार गराएका थिए । त्यहाँ चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।

स्वास्थ्य सुधारपछि खनाल ८ फागुनमा स्वदेश फर्किएका थिए । तर, पछिल्लो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टीको खिचातानीमा खनाल पनि सक्रिय थिए । पछिल्लोपटक खनाललाई पनि पार्टी सदस्यताबाट समेत हटाइएको छ । 

कोभिड संक्रमणका कारण खनाल गत १८ वैशाखमा नर्भिककै भिआइपी वार्डमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको थियो । करिब दुई सातापछि डिस्चार्ज भएपछि बेडरेस्टमा रहेका खनाल पार्टीको आन्तरिक बैठकमा जुम मिटिङमार्फत पुनः सक्रिय भएका थिए ।

उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसअघि खनाल २७ असोजमा ह्याम्स अस्पताल भर्ना भएका थिए । दिल्ली प्रस्थान गर्नुअघि खनाललाई प्रधानमन्त्री केपी ओलीले टेलिफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस्तै, महासचिव ईश्वर पोखरेलले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता गोकर्ण विष्टलगायत अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

दिल्ली जानुअघि एमाले एकताको अपिल 
दिल्ली प्रस्थान गर्नुअघि वरिष्ठ नेता खनालले एमालेको एकताका लागि अपिल गरेका छन् । ‘एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता–कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु,’ खनालले विज्ञप्तिमार्फत भनेका छन्, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ र सिंगो राष्ट्रको नेतृत्व गर्न सक्छौँ ।’

नेता खनालले विगतमा सबै मिलेर ठूलाठूला सफलता प्राप्त गरेको स्मरण गर्दै टुटफुट र विभाजन होइन एकता गर्ने–गराउने कार्यमा अगाडि बढ्न आह्वान गरेका छन् । सबैको त्याग र बलिदानबाट पार्टीले उचाइको सफलता हासिल गरे पनि हुर्किएको इगो र बदलाभावले विभाजनको तहमा पुगेको भन्दै खनालले चिन्ता पनि जनाएका छन् । 

‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौँ गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ,’ उनको अपिलमा छ ।