स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी

बुधबार, १२ जेठ, २०७८
डिजिटल संस्करण
स्वास्थ्य आपतकाल घोषणा गर्ने सरकारको तयारी

पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठक

सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

‘स्वास्थ्य आपत्कालसहित अध्यादेशमा भएका व्यवस्था कसरी कार्यान्वयन गर्ने भनेर छलफल भयो, त्यसअनुसार अब सिसिएमसी र सम्बन्धित मन्त्रालयले योजना बनाउँछन्,’ स्वास्थ्यमन्त्रीसमेत रहेका निर्देशक समितिका सदस्य हृदयेश त्रिपाठीले बैठकपछि भने । स्वास्थ्य आपत्काल घोषणा गर्न मिल्ने कानुनी प्रबन्धसहित सरकारले गत बिहीबार मात्रै कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको थियो । 

महामारी रोक्न स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्ने निष्कर्षसहित स्वास्थ्य मन्त्रालयले आपत्कालसम्बन्धी मापदण्डको मस्यौदा अर्थ मन्त्रालय पठाइसकेको छ । ‘आपत्काल सीधै घोषणा गर्ने कुरा होइन, अध्यादेशले त प्रावधान कायम गरेको हो । आपत्कालमा के–के गर्न पाइन्छ, के गर्न पाइँदैन ? महामारी नियन्त्रणमा कसको भूमिका के रहने भनेर मापदण्ड, कार्यविधि बनाउनुपर्ने हुन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘अर्थको रायपछि मापदण्ड मन्त्रिपरिषद्मा पेस हुन्छ । त्यसपछि आवश्यकताअनुसार आपत्काल घोषणा हुने हो ।’

अध्यादेशले सिसिएमसी पुनर्गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिकार्य अधिकारीको अधिकार दिएको छ । प्रमुख जिल्ला अधिकारीहरूले अध्यादेशमा भएको व्यवस्थाअनुसार निषेधाज्ञा उल्लंघन गर्नेसँग जरिवाना असुल गर्न सर्कुलर जारी गरिसकेका छन् ।

यसअघि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समिति पुनर्गठन गरेर प्रधानमन्त्रीको नेतृत्व रहने व्यवस्था गरेको छ । त्यस्तै, सिसिएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । 

निर्देशक समिति र सिसिएमसीका पदाधिकारी सम्मिलित मंगलबारको बैठक खोप आयात, युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन, स्वास्थ्य सामग्री खरिदसँगै एकीकृत उपचार प्रणालीमा केन्द्रित भएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सिसिएमसीसँगै मन्त्रालय र सरोकारवाला निकाय युद्धस्तरमा लाग्नुपर्ने बताएका थिए । ‘बजेटको कमी हुँदैन, जनशक्ति व्यवस्थापन गरेर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्रीबाट निर्देशन भएको छ,’ सिसिएमसीका प्रमुख शर्माले नयाँ पत्रिकासँग भने ।

सिसिएमसी प्रमुख शर्माले महामारी नियन्त्रणको योजना बनाएर अघि बढ्ने बताए । ‘निर्देशक समितिसँग सहजीकरण गरेर कार्यान्वयनमा सघाउन हाम्रो भूमिका हुन्छ,’ उनले भने, ‘योजना, कार्यान्वयन र जनशक्ति व्यवस्थापनमा केन्द्रित हुन्छौँ ।’ मन्त्रिपरिषद्को सोमबारको बैठकले मात्र सिसिएमसी पुनर्गठन गरेको थियो ।

पुनर्गठित सिसिएमसीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, नेपाली सेनाका उपरथी अनन्त कार्की, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षद्वय विश्वराज पोखरेल र रामशरण पौडेल, गृह मन्त्रालयका सहसचिव नूरहरि खतिवडा तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरि पुष्कर कर्ण सदस्य छन् । केन्द्रीय युनिफाइड अस्पताल (वीर)को प्रशासकीय प्रमुखमा प्रा.डा. जागेश्वर गौतम सोमबार मात्र नियुक्त भएका छन् ।

यसअघि गत १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पोखरेल नेतृत्वमा सिसिएमसी निर्देशक समिति गठन गरेको थियो भने मुख्यसचिवको नेतृत्वमा सहजीकरण समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कार्यान्वयन समिति थियो । अध्यादेशले निर्देशक समिति गठन गरेर बाँकी समिति खारेज गर्दै नयाँ व्यवस्था कायम गरेको छ । सिसिएमसीका प्रमुख निर्देशक समितिको सदस्यसचिव रहने व्यवस्था छ ।
 

सुझावित समाचार