१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोर्दी कोरिडोरमा १३२ केभी ट्रान्समिसन लाइन निर्माण भएसँगै लगानीकर्ता उत्साहित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o३:oo

दोर्दी काेरिडोरमा विद्युत् ट्रान्समिसन लाइन निर्माण भएसँगै दोर्दी करिडोरका निर्माणधिन आयोजना र लगानीकर्ता उत्साहित भएका छन् । दोर्दी काेरिडाेरमा निर्माण कार्य अन्तिम चरणमा रहेका जलविद्युत आयोजनाका लगानीकर्ताहरू ट्रान्समिसन लाइन निर्माण भएसँगै उत्साहित भएका हुन् । 

दोर्दी गाउँपालिका ६ ढोडेनीको कीर्तिपुरदेखि बेँसीसहर नगरपालिका–१ उदीपुरसम्म १० किलोमिटर १३२ केभी ट्रान्समिसनलाइन निर्माण कार्य भएको दोर्दी काेरिडोर १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुख रमेश पौडेलले  बताए ।
उनका अनुसार प्राधिकरणले नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत कीर्तिपुरमा सबस्टेसन निर्माणको काम पनि सम्पन्न गरी सबस्टेसन तयारी अवस्थामा छ । माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले आयोजनाले उत्पादन गरेको बिजुली खेर नजानेमा आफुहरू ढुक्क भएको बताए ।  

उनले भने ‘आयोजनाको ९९ प्रतिशत काम सकिएको छ ट्रान्समिसन लाइन बनेसँगै आयोजनाबाट उत्पादित विद्युत् खेर जाँदैन भन्नेमा हामी लगानीकर्ता ढुक्क छौँ । आयोजनाको १० किलोमिटर ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएको छ ।’
दोर्दी काेरिडोर भुलभुले मध्यमर्स्याङ्दीको प्रसारण लाइन क्रसिङ भएको ठाउँमा १३२ केभी प्रसारण लाइन विद्युत् प्रसारण बन्द गरेर मात्र तार टाँग्न सकिने भएकाले एउटा स्पानको काम मात्र बाँकी रहेको आयोजनाका प्रमुख पौडेलले बताए ।

१३२ केभी ट्रान्समिसनलाइन निर्माणका लागि १८ महिनामा सक्ने गरी ०७५ फागुनमा सम्झौता भएको थियो । ६० करोड रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन गत आर्थिक वर्षभित्र पूरा गर्ने नेपाल विद्युत् प्राधिकरणको लक्ष्य रहेको थियो । 

तर, कोरोनाका कारण समयमै काम सम्पन्न गर्न नसकिएको प्राधिकरणको भनाइ छ । प्रसारण लाइन निर्माण गर्न मुडबरी एन्ड जोशी कन्सट्रक्सन प्रालिले लाइन बनाउने जिम्मा लिएको थियो । आयोजनाले प्रभावित क्षेत्र चिती, नौथर, फलेनी र बन्सारका तारमुनि परेका जग्गाको जग्गाधनीलाई क्षतिपूर्तिसमेत वितरण गरिरहेको छ । ट्रान्समिसन लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणाधीन करिब १२० मेगावाटका आयोजनाको विद्युत् प्रसारणलाइन २२० केभी मर्स्याङ्दी काेरिडोरमा गएर जोडिनेछ । 

तर, मर्स्याङ्दी काेरिडोरअन्तर्गत २२० केभी प्रसारण लाइन निर्माण नभएसम्म उत्पादित विद्युत् खेर जान नदिन वैकल्पिक उपायमार्फत कीर्तिपुर–उदीपुर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो । उदीपुरदेखि मर्स्याङ्दीसम्मको करिब ५ किमि २२० केभी प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेपछि मात्र २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, ५४ मेगावाटको सुपर दोर्दी ख, १२ मेगावाटको दोर्दी–१ लगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।

दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ख, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजनाहरू निर्माणाधीन छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ , दोर्दी १ र दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । 


 

ad
ad