दिउँसो कमाएर बेलुका छाक टार्ने मजदुरहरू महामारीका कारण रोजगारी गुमेकाले गाउँमै गएर काम गर्ने भन्दै धमाधम काठमाडौं छाड्दै
दुई महिनाअघि मात्र काठमाडौं छिरेकी अमृता चौधरीलाई यसरी एक्कासि निषेधाज्ञा हुन्छ, सहरमा बसेर खानलाउन नै धौ–धौ होला भन्ने लागेकै थिएन । तर, समयचक्र यस्तो चल्यो उनी फेरि गाउँ फर्कने भएकी छिन् । हालै मात्र विवाह बन्धनमा बाँधिएकी उदयपुरकी अमृता श्रीमान्को कमाइ बन्द भएपछि फेरि गाउँ फर्कन लागेकी हुन् ।
‘म केही गर्दिन थिएँ । तर, बुढाले डन्डी, फर्माको काम गर्थे,’ उनले भनिन्, ‘बस रामपुरबाट आइरहेको छ रे । कन्ट्याक्ट गर्दा आइरहेको छ भनिरहेको छ । खै कतिवेला पो आउला ।’ कसले बस पठाउँदै छ भन्ने पनि उनलाई थाहा छैन । कस्तो बस आउँदै छ भन्ने पनि थाहा नभएकी उनलाई घर पुग्ने आशा भने निकै बढेको छ । ‘६ बजेसम्म कलंकीमा बस आइपुग्छ भनेको छ । बस आएन भने फेरि कोठा फर्किनुपर्छ । तर, खानलाउन त गाउँबाटै मगाउनुपर्ने अवस्था आइसकेको छ,’ उनले भनिन् ।
कोरोना संक्रमण बढेकाले निषेधाज्ञा लम्बिँदै गएपछि बिपीकुमार रामले गाउँ फर्कने सुर कसे । तर, डेढ महिनाअघि मात्र काठमाडौं छिरेका उनलाई कलंकीदेखि नागढुंगासम्म कसरी जाने ? कति समय लाग्छ ? भन्ने थाहापत्तो नहुँदा आपत् परेको छ । ‘काम नभएपछि तीन दिनदेखि गाडी कुरिरहेको, तर गाडी नपाएर घर जान पाइएन,’ रामले भने, ‘नागढुंगामा गाडी आएर बसेको छ भनेर गाउँको दाइले फोन गरेको छ । सक्छौ भने नागढुंगा आउ भनेको छ । तर, कसरी जाने होला ?’
राम भवन मजदुर हुन् । तीन/चार दिनअघिदेखि घरको काम पनि बन्द भएपछि उनी गाउँ फर्किन तम्सिएका हुन् । मंगलबार कलंकी आइपुगेका उनी अलमलमा थिए । केही उपाय नचलेमा सानेपामा साथीको कोठा छ, त्यहीँ फर्कने विकल्प भने उनीसँग थियो । तर, कलंकीमा खटिएका प्रहरीले रोकिदिएको मालबाहक ट्रकले भने उनको सपना पूरा गरिदियो । र, उनी घरतिर लागे ।
अब फेरि काठमाडौं नफर्कने पक्कापक्की गरेर मोहम्मद इस्तियाक राई पनि गाउँ फर्कदै छन् । रौतहटसम्म पुग्नुपर्ने उनलाई घर कसरी जाने थाहा छैन । तर, कालीमाटीदेखि भने साइकलवालासँग लिफ्ट मागेर निस्किसकेका छन् । ‘ट्रक, बस जे पाउँछ त्यसमै जाने हो । जुनसुकै गाडी भेटिए पनि घर जाने हो,’ उनले भने । सिलाइको काम गर्ने उनी एक महिना मात्र हुन लागेको थियो, गौर लौकाहाबाट काठमाडौं आएको । तर, पैसा नै लिन नपाई निषेधाज्ञा सुरु भएपछि भने बिहान बेलुकाको छाक टार्न नै अप्ठ्यारो हुन थाल्यो । त्यसैले उनले गाउँ फर्कने निर्णय लिए । ‘सिलाइको काम गर्न काठमाडौं आएको एक महिना पनि भएको छैन । पैसा पनि पाएको छैन । खाना त अलिअलि खाइरहेको छु,’ उनले भने, ‘१० जनाको परिवार पाल्नुपर्छ अब यहाँ बसेर के गर्ने ?’
उनीहरू मात्र होइन, भारत कोलकाताका मही मिस्लिम पनि ललितपुरको सानागाउँदेखि हिँड्दै कलंकी आएका छन् । घरबाट आएको १८ दिनमै फेरि फर्कन लागेका उनी नेपाल बस्न, हातमुख जोड्न धौ–धौ भएको बताउँछन् । ‘काम रोकिएपछि बिहान–बेलुका खानै गाह्रो हुन थालेपछि आफ्नै देश (भारत) फर्कन लागेको हो,’ उनले भने । काठमाडौं छाड्ने उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । कोरोना संक्रमतिको संख्या दिनदिनै बढेको छ । मृत्यु हुनेको संख्यामा थपिँदै छ । जसकारण सरकारले निषेधाज्ञा लम्ब्याएर १३ जेठसम्म पुर्याएको छ । सरकारले निषेधाज्ञा थपेसँगै उपत्यका छाड्नेको संख्या पनि थपिन थालेको छ । दिउँसो कमाएर बेलुका छाक टार्नेहरूको चुलो बल्न छाडेपछि गाउँमै गएर काम गर्ने भन्दै उनीहरू फर्कन थालेका हुन् ।
काठमाडौं फर्कने निश्चित छैन
निषेधाज्ञाले रोजगार गुमेपछि आफ्नै गाउँ हिँडेकाहरू अब काठमाडौं फर्कने वा नफर्कने निश्चित छैन । ‘अब निषेधाज्ञा खुलेपछि काम पाइए आउने हो, होइन भने गाउँमै काम गरेर बस्ने हो,’ अमृता चौधरीले भनिन् । उनी मात्र होइन, रामलाई पनि अब काठमाडौं आउन निकै सोच्नुपर्ने बनाएको छ । ‘विचार त गाउँमै बस्ने हो, तर निषेधाज्ञा सकिएपछि सोच्नुपर्छ,’ रामले भने । चौधरी र रामसँग काठमाडौं फर्कने निश्चितता नभए पनि मोहम्मद इस्तियाक राई भने अब नफर्कने निश्चितताका साथ आफ्नै गाउँठाउँ फर्कदै छन् ।