१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुलाकी सडकको सहजा पुल निर्माण सुस्त

१७ महिनामा ४० प्रतिशत काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:२o:oo

सम्झौता सकिन सात महिना बाँकी रहँदा सिराहाको अर्नमा र औरही गाउँपालिकालाई जोड्ने सहजा खोलाको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दाले पछिल्लो करिब डेढ वर्षदेखि जिल्ला सदरमुकाम आतजावत गर्नसमेत सास्ती झेल्नुपरेको छ। 

पूर्व–पश्चिम हुलाकी सडक दुई लेनमा विस्तार भएसँगै बलान–कमला सडकअन्तर्गत औरहीको इँटाटारनजिक सहजा खोलामा रहेको पुरानो पुल भत्काएपछि निर्माणस्थलको दक्षिणपट्टि बनाइएको डाइभर्सनबाट ओहोरदोहोर गर्न पनि समस्या भइरहेको औरही– ४ इँटाटारका वडाध्यक्ष सुरेन्द्र यादवले गुनासो गरे।

‘करिब डेढ वर्षअघि माटो हालेर बनाइएको डाइभर्सनबाट उड्ने धुलोले पैदल हिँड्न पनि गाह्रो छ,’ उनले भने, ‘खोलामा आउने बाढीको कारणले गत वर्षामा सात किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकामस्थित अस्पतालसम्म बिरामीलाई पुर्‍याउन बरियारपट्टि, सुखीपुर, जिरोमाइल, चोहर्वा हुँदै ५५ किलोमिटर दूरी छिचोल्नुपर्ने बाध्यता समेत झेल्यौँ।’

१७ महिनामा ४० प्रतिशत काम, पाइलको रडमा खिया
धनुषाको जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयबाट पुल निर्माणको रेखदेखका लागि खटिएका इन्जिनियर कौशल यादवका अनुसार २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल निर्माणको ४० प्रतिशत काम सकिएको छ। 

१६ मंसिर ०७९ मा दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले सम्झौता गरेपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ। सम्झौता भएको १७ महिनाको अवधिमा पुलको दुईवटा पाइलको ढलानसमेत आजभोलि गर्दै आलटाल गरिरहेको वडाध्यक्ष यादवले गुनासो गरे। ‘पाइलको रड बाँधेको महिनौँ बित्दासमेत ढलानको सुरसार छैन,’ उनले भने, ‘मूल ठेकेदार फर्केर आएका छैनन्, पेटी ठेकेदारले रकम नै छैन भन्दै पाइल ढलानको काम रोकेका छन्।’

सुगमका सञ्चालक श्याम साहका अनुसार औरही गाउँपालिका– १ दरहैया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का हो। उक्त ठेक्का रकमको मोबिलाइजेसनबापत् पाँच प्रतिशत र गरिएको कामबापत् भ्याटसहित तीन करोड ४० लाख ७३ हजार दुई सय ५० रुपैयाँ एक पैसा भुक्तानी लिइसकेको उनले बताए।

‘सहजा पुलको पाइल ढलानको अन्तिम तयारी गर्दै छौँ,’ उनले भने, ‘पाइल ढलानमा आरएमसीबाट तयारी कंक्रिट नगदमै ल्याउनुपर्ने भएकाले कुराकानी भइरहेको छ। बढीमा एक हप्ताभित्र पाइलको ढलान सिध्याएर बाँकी काम गर्छौँ।’

पेटी ठेकेदार सुप्रिया निर्माण सेवाका कर्मचारी सत्यनारायण महतोले मूल ठेकेदारबाट गरेको कामबापतकाे रकम नपाउँदा समस्या भएको बताए। सम्झौता भएलगत्तै पुरानो पुल भत्काएर नयाँ पुलको काम थालिएको जानकारी दिँदै उनले भने, ‘काम थालेपछि केही रकम दिएको भन्ने सुनेको छु। तर, पाइलका लागि खरिद गरेको रडमै रकम फसेकाले मूल ठेकेदारबाट रकम नआएकाले ढलानको काम पछि धकेलिँदै आएको छ।’

बक्स कल्भर्टको छैन सुरसार
सहजा पुलको ठेक्का सम्झौताअन्तर्गत समावेश भएको हुलाकी सडकअन्तर्गत पर्ने औरही गाउँपालिका– १ दरहैया चोकसँगै पश्चिमपट्टि रहेको लचकामा बनाइनुपर्ने बक्स कल्भर्टको त झन् काम नै सुरसार भएको छैन। स्थानीय महेशप्रसाद यादव भन्छन्, ‘बक्स कल्भर्ट बन्छ भन्ने सुनेको हो, तर अहिलेसम्म न कुनै निर्माण सामग्री ल्याइएको छ न त ठेकेदार कम्पनीकै मान्छे आएका छन्।’

वर्षामा हर्कटी, कुण्डलपुर गाउँवरिपरि रहेका खेतबाट आउने पानी निकासको रूपमा रहेको लचकामा ठूलो पानी पर्दा माथिबाट नै पानी बग्ने भएकाले आवतजावत गर्न कठिनाइ हुँदै आइरहेको उनले बताए। ‘बक्स कल्भर्ट बनाउन सम्झौता भएपछिको एउटा वर्षा त टर्‍याे’ उनले भने, ‘सम्झौताको सात महिना बाँकी रहँदा अहिलेसम्म काम नै थालिएको छैन। अझै एकाध वर्षा झेल्नैपर्ने होला।’

ad
ad