मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुरेश प्राञ्जली
२०७८ बैशाख २८ मंगलबार १०:०६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एक शासकीय ‘ट्रयाजिडी’ !

Read Time : > 5 मिनेट
सुरेश प्राञ्जली
२०७८ बैशाख २८ मंगलबार १०:०६:००

ओली कम्युनिस्ट प्रधानमन्त्री त बने, तर कम्युनिस्टजस्तो चाहिँ देखिँदैदेखिएनन्, उनको राष्ट्रवादको किराना दोकानबाट मिसावटी राष्ट्रवाद मात्रै बेचिए, सक्कली माल पाइएन !

विलियम सेक्सपियरको चर्चित नाटक ‘हेमलेट’ मा मुख्य पात्र ‘हेमलेट’को ‘ह्यामर्सिया’ (नायकी गल्ती, जसले दुःखद अन्त्यतर्फ डोर्‍याउँछ) हाम्रो राजनीतिमा सान्दर्भिक देखिन्छ । हुन त सेक्सपियरका अन्य पात्र ‘ओथेलो’ वा ‘म्याकबेथ’को पनि कुनै न कुनै कारणले ‘ह्यामर्सिया’ नै हुन्छ । यतिवेला चाहिँ ‘हेमलेट’ र केपी ओलीको परिस्थितिगत कमजोरीको लेखाजोखा बडो चाखलाग्दो हुन सक्छ । ओली जे–जस्ता गुण सम्पन्न राजनीतिक पात्र हुन्, ‘हेमलेट’ पनि ठीक त्यस्तै गुण सम्पन्न नाट्य पात्र हो । उसले परिस्थितिको आकलनमा विवेक प्रयोग गर्नुपर्ने आवश्यकै ठान्दैन, लिइहाल्नुपर्ने निर्णयमै पनि विलम्ब गर्दै जान्छ, अर्थात् गरिहाल्नुपर्ने आफ्नो बाबुको हत्यारा आफ्नै काका ‘क्लाउडियस’को हत्या टार्दै जान्छ । उसको दूरदर्शिता शून्यतर्फ जान्छ, रणनीतिशून्य चेतले उसलाई गाँज्छ । अन्ततः यही परिस्थितिगत निर्णय खराबी (एरर अफ जजमेन्ट) नै उसको आफ्नै दुःखान्तको कारक बनिदिन्छ । यसैगरी, परिस्थितिको आकलनमा आफ्नो विवेकको उपयोग आवश्यक नठान्नु एवं राजकाज र अत्यावश्यक शासकीय डेलिभरीमा नियोजित विलम्ब गर्दै जानुको कारण ओली पनि भयानक राजनीतिक दुर्घटनाको सिकार हुनुपर्‍यो । 

खलनायकत्वको दिग्विजय : नेपाली राजनीतिको पछिल्लो इनिङमा ओलीको इन्ट्री धमाकेदार नायकका रूपमा भएको हो । तर, उनको सत्तारोहणयताको अवधिलाई नेपाली सत्ता राजनीतिको एउटा सिनेमा मान्ने हो भने यसलाई ओलीले आफ्नो स्टार्डम जोगाउन नसकेको झुर र फ्लप सिनेमा मान्दा हुन्छ । उक्त सिनेमामा नेपाली राजनीतिले लोकतन्त्रको समानान्तरीय नयाँ तन्त्र अभ्यास गर्‍यो, जसलाई ओलीतन्त्रको नामले पुनर्परिभाषित गरे पनि हुन्छ । उक्त तन्त्रले नेपाली राजनीतिमा झन्डै दक्षिण भारतीय मसालेदार एक्सन सिनेमा हाराहारीकै स्वाद चखायो, तर उक्त स्वाद दोहोर्‍याएर चाख्न दर्शक राजी भने पक्कै नहोलान् ।

नेपाली राजनीतिले छानेको गलत शासकीय पात्रमध्ये ओलीको नम्बर सिरानतिरै पर्ला । उनी राजनीतिका यति अब्बल खेलाडी साबित भए कि आफ्नै गोलपोस्टमा पटक–पटक गोल गरिदिए । तर, त्यसलाई आत्मघाती मान्न भने उनी किमार्थ राजी भएनन् ।
 

०७२ सालमा संविधान जारी गर्दैगर्दा दिल्ली संस्थापनले नेपालमाथि लादेको नाकाबन्दीमा ओलीले देखाएको अडानलाई ओली उदयको राजनीतिक ट्रेलर मान्ने हो भने ०७४ को आमचुनावले उनलाई सत्तासीन गरेपछि सिनेमा रिलिज भएको मान्न सकिएला । भलै, असली सिनेमामा चाहिँ ट्रेलरमा देखिएबराबरको अभिनय गर्न उनले सकेनन् । नेपाली राजनीतिमा नायकत्व देलान् भन्ने आमअपेक्षाविपरीत ओलीले खलनायकत्वमा बढ्ता दिलचस्पी देखाए । नायकबाट एकाएक खलनायकी पात्रमा रूपान्तरित हुँदै गर्दा उनको राजनीतिक अभिनय थप एक्सनयुक्त रह्यो । तर, आफूले गर्नुपर्ने शासकीय भान्साको काम गर्ने दिलचस्पी भने उनले देखाएनन् । एक दबंग राजनीतिज्ञका रूपमा स्थापित हुने अवसरमाथि हरुवाको लाहाछाप लगाउन सहस्र राजी भए । त्यसो त, एकताका क्रिकेट बललाई डल्लो नाम दिएर टिकटकमा भाइरल भएका क्रिकेटप्रेमी ओली आफूले पनि राजनीतिक पिचमा छक्कैछक्का हान्न सक्थे, तर रन लिने कोसिससमेत नगरी आउट हुने बाटो रोजे, अर्थात् उनी पेभिलियन फर्किए । 

०७४ को आमचुनावले ओलीलाई सत्ताको साँचो थमाउने निधो गर्नुको कारण एउटै थियो– भारतले लगाएको पछिल्लो नाकाबन्दीविरुद्धको चट्टानीपन । उनले बेचेको राष्ट्रवादको लड्डु मतदाताले मिठो मानिदिए । उनको राष्ट्रवादको लड्डु बनाउने रेसिपी कस्तो थियो भन्ने चासोसमेत नदिई उनलाई मतदानमार्फत मुलुकको शासकीय भान्से बनाइदिए । यसले ओलीमा एकाएक शासकीय दम्भ बढाई मात्रै दिएन, आफूलाई अन्तिम सत्य मान्ने प्रवृत्तिलाई पनि जनताको मतले वैधानिकीकरण गरिदिएको भ्रम उनमा विकसित भयो । मुलुकको राजनीतिक इतिहासमा नौ महिने वाम सरकारको स्थापित रेकर्ड तोड्न त ओली कामयाब भए, तर उनले बनाएको समग्र नयाँ रेकर्डचाहिँ आफ्नै गर्दनमा हानेको कर्दबराबर बनिदियो ।

सम्भवतः अबका कुनै पनि सरकारले उनले सिर्जिएको रेकर्ड तोड्ने दुस्साहस नगर्लान् । त्यसो त उनको शासकीय कमजोरी र राजनीतिक अवनतिको वैरीमध्ये एक आफ्नै जिब्रोमाथि लगाम लगाउन नसक्नु पनि हो । आफ्नो गुण वाकपटुता र खुबी रणनीतिक चातुर्यलाई उनले नेपाल–भारत सम्बन्ध सबलीकरणमा उपयोग गर्न सक्थे । ओली कम्युनिस्ट प्रधानमन्त्री त बने, तर कम्युनिस्ट जस्तो चाहिँ देखिँदैदेखिएनन् । उनले थापेको राष्ट्रवादको किराना दोकानबाट मिसावटी राष्ट्रवाद मात्रै बेचिए, सक्कली माल पाइएन ! भलै उनको मिसावटी राष्ट्रवादको दोकान चल्दै गर्दा नेपालमा कम्युनिजम फस्टाउने डरले दिल्ली संस्थापन बेहिसाब पिरोलियो । सँगै, आजसम्म खुफिया एजेन्सीको जिम्मामा रहेको नेपाल–भारत सम्बन्ध पनि खुफिया तहबाट उक्लिएर कर्मचारीतन्त्र हुँदै राजनीतिक तहमा पुग्दै थियो, ओलीले बीचैमा लत्तो छोडिदिँदा द्विदेशीय सम्बन्ध पुनश्चः खुफिया एजेन्सी तहमै ओर्लिएको छ । 

प्रभु शरणम् गच्छामि ! : ओली भित्रभित्रै प्रभुहरूप्रति बढी नै आस्थावान् रहे । उनले कम्तीमा दुईवटा प्रभु माने । पहिलो प्रभु– नरेन्द्र मोदी । ओलीले कसैको सिको गरेका छन् भने त्यो भारतीय प्रधानमन्त्री मोदीको हो । कूटनीतिदेखि दलनीतिसम्मै उनले मोदी शैली यति रुचाए कि आफ्नो मौलिक शासकीय शैली अभ्यासमा विश्वस्तै हुन सकेनन् । आफैँसितको अविश्वासचाहिँ उनलाई अलि बढ्तै महँगो परेको देखियो । उनले मानेको दोस्रो प्रभु हुन्– मन्दिरमा बस्ने खास प्रभु । उनको धर्ममोह बढ्दै जाँदा राजकाजमा कमजोर त देखिए नै, उत्तिकै विवादित पनि बने । उनको अस्वाभाविक धार्मिक अभ्यासले मुलुकी व्यवस्थामा पनि दखल पु¥यायो । प्रधानमन्त्रीय पद तथा ओहोदाको शपथ पनि ईश्वरको नाममा खान इन्कार गरेका ओली गणतन्त्रपछि पशुपति दर्शन गर्न जाने बहालवाला प्रधानमन्त्रीको रूपमा दोस्रो बने । बहालवाला कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा चाहिँ पशुपति दर्शन गर्ने उनी नै पहिलो कार्यकारी प्रमुख हुन् । उनी पूर्वीय दर्शन र सभ्यताको पण्डित्याइँ गर्न मात्रै अघि सरेनन् कि भगवान् रामको जन्मथलो (अयोध्या) पनि नेपाल (ठोरी)मै रहेको व्याख्या गर्न भ्याए । उक्त व्याख्यालाई कतिपय भारतीय मिडियाले मेड इन चाइनाको संज्ञा दिँदै गर्दा ओलीले भने आफैँलाई अन्तिम सत्य माने, अरूले पनि त्यही मानिदिनुपर्ने भयो । 

नेपाली राजनीतिले असंवैधानिकताको उच्चतम् हदको अभ्यास यदि गरेको छ भने यही ओलीतन्त्रमै गरेको छ । पछिल्लो चरण त कोरोना खोप आयातमै पनि नीतिगत अनियमितता भएको खबर छापामा आए । 

त्यसो त ओलीलाई थप नजिकबाट नियाल्ने हो भने उनी नेपाली कम्युनिस्ट प्रधानमन्त्री कम गेरुवस्त्रधारी पुजारी वा मठाधीश बढ्ता देखिएका हुन् । अयोध्याको स्वयं निर्मित भाष्यमा राजनीतिक रंग त मिसाए नै, संसद् विघटन गर्ने आफ्नो राजनीतिक गल्तीको आत्मालोचना गर्ने एक मात्र थलोको रूपमा पनि उनले पशुपतिनाथको शरण रोजे । उनी प्रधानमन्त्री भएपछि सबैभन्दा बढ्ता तीर्थाटन गरेको मन्दिर पनि पशुपतिनाथ नै होला । त्यसो त उनले धार्मिक कार्यमा पनि राज्यको सम्पत्ति मुठी फुकाएरै खर्चिए । पशुपतिमा जलहरी लगाउने होस् वा राम मन्दिर निर्माण अथवा बालगुरु आदित्यनाथको नाममै किन नहोस् । गेरुवस्त्रपट्टि बढाएको मोहले पनि उनको शासन छोट्याउन धेरथोर भूमिका खेलेको देखियो । नेपाली राजनीतिले छानेको गलत शासकीय पात्रमध्ये ओलीको नम्बर सिरानतिरै पर्ला । उनी राजनीतिका यति अब्बल खेलाडी साबित भए कि आफ्नै गोलपोस्टमा पटक–पटक गोल गरिदिए । तर, त्यसलाई आत्मघाती मान्न भने उनी किमार्थ राजी भएनन् । उनको यसखाले हठी स्वभाव राजनीतिक भर्‍याङमा स्वयंलाई चिप्लाउने ग्रिज बनिदियो । 

निर्णय खराबी : उनले सबैभन्दा बढी विश्वास कसैलाई गरे भने ती उनका सल्लाहकार हुन् । र, यदि त्यति नै अविश्वास कसैलाई गरेका छन् भने त्योचाहिँ आफैँलाई हो । आफैँलाई विश्वास गर्न नसक्नु नै उनको सबैभन्दा भयानक कमजोरी थियो । आफूप्रतिको अविश्वास र सल्लाहकारप्रतिको विश्वासको लिस्नोमार्फत कामयाबीको शिखर चढ्ने उल्का महत्वाकांक्षाका कारण उनले कतिखेर थेचारिन्छु भन्ने भेउ नै पाउन सकेनन् । यही कारण उनले जे–जति राजनीतिक कदम चाले ती कुनैमा पनि अडिन सकेनन् । सबैजसो निर्णयबाट स्वयं पछि फर्किनुपर्‍यो । आफू पछि हट्न नखोजेको निर्णयलाई चाहिँ अदालतले ब्याक गराइदियो । किनभने, उनले चालेका हरेक निर्णायक कदम नै विधिको खिलाप र कानुनको गलत व्याख्याबाट निर्देशित थिए, बलमिच्याइँबाट निःसृत थिए । फलतः संस्थागत हुने लय समातेको नेपालको राजनीतिक संवैधानिकता झन्डै डिरेल हुनुअघिको मोडमा आइपुग्यो । ओली स्वयंलाई पनि थाहा छ कि आफ्नो चमकधमकयुक्त शासकीय स्टार्डम खस्किनुको मुख्य कारण उनी आफैँसितको विवेक प्रयोग गर्न नसक्नु हो । 

त्यसो त ओलीले पाएको ऐतिहासिक जिम्मेवारी र अवसर तुहिँदै गर्दा सबैभन्दा बढी प्रतिशोध र निषेधको राजनीति सम्भवतः उनकै शासन अवधिमा अभ्यास भए । उनको आयातित शासकीय शैली पनि उनको शासन अवधि छोट्याउने बुटी बनिदियो । ओलीतन्त्रमा कालापानी समेटिएको नेपालको नक्सा जारी त भयो, आफ्नो ऐतिहासिक उपलब्धिलाई कायम राख्नचाहिँ उनी सजग हुँदै भएनन् । बरु उनमा कूटनीतिक अपरिपक्वता देखियो । उनले कोरोना भाइरसलाई भारतसित जोडेर टिप्पणी मात्रै गरेनन् कि भारतीय निशान चिह्नमा लेखिएको सत्यमेव जयतेमाथि नै कटाक्ष गरे । उनमा एक जब्बर कम्युनिस्ट प्रधानमन्त्री देख्न थालेको दिल्ली संस्थापन नेपालसित पहिलोचोटि हच्किँदै थियो । तर, जब्बर शासकबाट एकाएक कायर शासकमा बदलिन धेरै समय लागेन । भारतीय संस्थापनसित उनी अस्वाभाविक र अनपेक्षित रूपमा गले । मोदीको एकै फकाइमा उनी यसरी फक्किए कि रातारात खुफिया एजेन्सी प्रमुखसँग भेट्न राजी भइहाले । त्यसयता अग्लिँदै गरेको उनको राजनीतिक कद होचिन मात्रै थालेन कि उनी स्वयं पनि मानसिक रूपले बढी हतास बने । यस्तो लाग्यो, उनी एकलास थिएटरमा वियोगान्त नाटक हेरिरहेका एक्ला दर्शक हुन् ! 

ओली आफ्नो कार्यकालको दोस्रो वसन्त पार नगर्दै शासकीय डेलिभरी दिन नसकेकोमा अपजसी भइसकेका थिए । उसैमाथि विश्वलाई त्राहीमाम तुल्याएको कोरोना महामारीलाई मजाक ठानिदिए । यसैबीच, उनी राज्य संस्था दलीयकरणको दोष र दबाब थेग्न सक्ने आत्मबल गुमाउँदै थिए, आफ्नै दलको आन्तरिक द्वन्द्व व्यवस्थापनमा समेत नाकामयाबी हात लाग्यो । यसबाट उनले आफ्नो गाथगद्दीमाथिको खतरा महसुस गर्नु स्वाभाविक थियो, गरे । अन्ततः आफ्नो अक्षमता र अकर्मण्यताको शोधभर्नाको हिसाबकिताब वैधानिक संसद् विघटन गरेर खोजे । नेपाली राजनीतिले असंवैधानिकताको उच्चतम् हदको अभ्यास यदि गरेको छ भने यही ओलीतन्त्रमै गरेको छ । पछिल्लो चरण त कोरोना खोप आयातमै पनि नीतिगत अनियमितता भएको खबर छापामा आए ।

नेपालको संसदीय राजनीतिको घिनलाग्दो बजारीकरणको चरम रूप पनि ओलीतन्त्रमै देखा पर्‍यो । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइटहाउस बहिर्गमनलाई विश्व लोकतन्त्रको जितको रूपमा अथ्र्याइए झैँ ओलीतन्त्रको अवसानलाई पनि उप्रान्त नेपाली राजनीतिक–लोकतन्त्रको विजयको रूपमा अथ्र्याइयो भने त्यो अस्वाभाविक पक्कै नहोला । शासकीय गल्ती सच्याउने औजारका रूपमा उनले थप घातक गल्ती नै दोहोर्‍याए । उनको शासकीय दुःखान्त निम्तिनुमा यिनै गल्ती निर्णायक छन् । प्रचुर रणनीतिक चातुर्य र विवेकसम्पन्न राजनीतिक नायकी गुण हुँदाहुँदै पनि शासकीय निर्णय खराबीका कारण उनको शासकीय ‘ह्यामर्सिया’ हुन पुग्यो । उनीसित अब बाँकी रहेको भनेको आफ्नो शासकीय वियोगको अमिलो सम्झना र पछुतो मात्रै हो ।