१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मञ्जु टेलर काठमाडाैं
जीवन बस्नेत काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o१:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

७२ घन्टामा पाँच लाखले छाडे राजधानी : गाउँ फर्किन हिँडेकाहरूको गाडी नपाएर कलंकीमै बिचल्ली

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
जीवन बस्नेत, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o१:oo

उपत्यका छाडेर गाउँ जान हिँडेकाहरू बुधबार मध्यराति कलंकीमा गाडी कुर्दै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

बुधबार राति घडीमा ११:५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ । ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर २१ महिने नानी काखमा च्यापेर सडकछेउमा बसिरहेकी थिइन्, छेउमा ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान पनि थिए । उनले बेलुका ८ बजेको गाडीको टिकट काटेकी थिइन् । तर, गोंगबुस्थित बसपार्कबाट हिँडेको गाडी मध्यरातसम्म कलंकी आइपुगेको छैन ।

‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो । त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै घोषणा गरिसकेको छ । 

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो । 

बिहार घर भई काठमाडौंमा बिजुलीको काम गर्ने आठजना भारतीय मजदुरको समूह विराटनगरका लागि गाडी कुरिरहेको थियो । उनीहरू ७ बजेदेखि नै कंलकीमा विराटनगर जाने गाडी कुरिरहेका थिए । तर, १२ बज्नै लाग्दासम्म गाडी नभेटिएपछि कलिम अहमदसहितको समूह सडकमै अलपत्र छ । ‘यहाँका मान्छेहरूले भोलिदेखि गाडी जाँदैन भन्छन्, अहिले जानलाई गाडी नै भेटिँदैन,’ कलिमले भने । 

राति विराटनगरको गाडी भेटिए जोगबनी नाका हुँदै भारत पस्ने योजना मजदुरहरूको छ । ‘जसलाई सोधे पनि अलि तल जाऊ गाडी पाइन्छ भन्छन्, पाँच घन्टा भइसक्यो, गाडी भेटिएको छैन,’ कलिमले भने । मध्यरातसम्म पनि उनीहरू गाडी पाइने आशामा सडकमै थिए । 

दुईवटा नानी काखमा बोकेर गाडी कुरिरहेका पोखरा लामाटारका नारायण माझीको हालत पनि उस्तै थियो । असनमा ज्याला–मजदुरी गर्दै आएका माझीदम्पती लालाबालासहित घर फर्किन लागेका थिए । नारायण भन्छन्, ‘ भोलिदेखि नै सबै काम बन्द हुन्छ रे । अनि, यहाँ बसेर के गर्नु ? घर गए भने कमसेकम खाना त पाइन्छ ।’ 

निषेधाज्ञामा रोजगारी गुम्ने र काठमाडौं बसाइँ कष्टपूर्ण हुने त्रासले गाउँ फर्किन लागेका सयौं नागरिक गाडी नपाएर मध्यरातसम्म कलंकी चोकमा अलपत्र छन् । बिहीबार बिहान ६ बजेदेखि काठमाडौंमा निषेधाज्ञा लागू हुँदै छ । तर, त्यसअघि नै काठमाडौंबाट बाहिरिन चाहेकाहरू गाडी अभावले बिचल्लीमा परेका छन् । सोमबार र मंगलबारको तुलनामा बुधबार यात्रुको चाप अत्यधिक भएपछि उपलब्ध गाडीले धान्न सकेका छैनन् । 

बुधबार अग्रिम टिकट लिएका र बाटोमै गाडी पाउने आशामा बाफलचोकदेखि कंलकीसम्म मानिसहरूको अत्यधिक भिड थियो । गाडी भेटिएला र घर जाउँला भन्ने आस लिएर बसेकाहरू सडकमै छन् । वृद्धवृद्धा, बिरामी, बालबच्चा बोकेर हिँडेकालाई संक्रमणले भन्दा भोकको बढी चिन्ता देखिन्थ्यो । 

राति १२ बजेसम्म गाडी नपाउनेमध्ये कोही गत वर्षको लकडाउनमा जस्तै हिँडेरै घर फर्किने अठोट गर्दै थिए भने वृद्धवृद्धा र काखमा बालबच्चा भएकाहरू के गर्ने भनेर हतास मुद्रामा देखिन्थे । साँझ सात बजेको टिकट लिएकाहरू मध्यरातसम्म गाडी नआएपछि आत्तिरहेका थिए । कति बाटोमा सुतिरहेका थिए भने अधिकांशले भिडभाडमा मास्कसमेत प्रयोग गरेका थिएनन् । 

गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाएर यात्रा तय गरेकाले घन्टौं जाम खेप्नुपर्‍यो । गोंगबु बसपार्कबाट यात्रु बोकेर छुटेका गाडीको लस्करलाई कलंकी पास हुन चार–पाँच घन्टा लाग्यो । जामको असर नागढुंगा, धादिङसम्म थियो ।

सरकारले दुई दिनको मात्रै समय दिएर लकडाउन घोषणा गरेको थियो । नियमित कामको तारतम्य मिलाएर गाउँ फर्किनुपर्ने भएकाले अधिकांशले बुधबार निस्किने योजना बनाए । तर, यो भिडलाई उपलब्ध गाडीले सेवा दिन सकेनन् । लकडाउन घोषणायता पाँच लाख मानिसले काठमाडौं छाडेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । यात्रुको चाप घटाउन नियमित गाडीले नपुगेको र बाहिरबाट मगाउनुपरेको उनको भनाइ छ । तर, थपेको गाडीमा समेत नअटाएर यात्रुको सडकमै बिचल्ली छ ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि पछिल्ला तीन दिन (७२ घन्टा)मा पाँच लाख मानिस बाहिरिएका छन् । बुधबारदेखि उपत्यकामा निषेधाज्ञा लागू हुँदै छ ।

निषेधाज्ञापछि उद्योग–व्यवसाय बन्द हुने, रोजगारी गुम्ने र जीवन जटिल हुने त्रासले ठूलो संख्यामा सहरी मजदुर गाउँ फर्किएका छन् । उच्च शिक्षा पढ्न काठमाडौं आएका विद्यार्थी पनि धमाधम फर्किएका छन् । 

काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । मंगलबार राति अबेरसम्म कलंकीमा घर जानेको मेला नै छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो । 

पछिल्ला दुई दिनमा नियमित गाडीले नपुगेको र बाहिरबाट मगाउनुपरिरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । मानिसहरू रिजर्भ गाडीमा समेत बाहिरिइरहेका छन् । ‘मुख्यगरी थानकोट, धुलिखेल, नुवाकोट र दक्षिणकाली नाका हुँदै मानिस बाहिरिएका छन्,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । ट्राफिक प्रहरीले भने तीन दिनमा दुई लाख मानिस मात्र बाहिरिएको बताएको छ । तर, सबै नाकाको रेकर्ड नहुने भएकाले प्रहरी तथ्यांकभन्दा धेरै यात्रु बाहिरिएको महासंघको दाबी छ । 

महानगरीय ट्राफिक प्रहरीले पनि नाकामा सवारी जाँच बढाएको जानकारी दिएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राख्ने, मास्क नलगाउनेलाई कारबाही भइरहेको ट्राफिक प्रहरीको भनाइ छ । अहिलेको जस्तै गत वर्ष पनि लकडाउनअघि गाडी र पछि पैदल गरी १२ लाख यात्रु जिल्ला फर्किएका थिए । 

 

ad
ad