१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सबिन निङ्लेखु लिम्बु
२o८१ बैशाख २० बिहीबार १o:२३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वास्तविक महाव्याधि त अब सुरु भयो

अहिलेको वेला मास्क नलगाई बाहिर निस्किनेलाई कुरीकुरी गरौँ, यो कम्मरमुनि निर्वस्त्र बाहिर निस्किनुभन्दा गम्भीर हो भन्न नहिच्किचाऊँ

Read Time : > 5 मिनेट
सबिन निङ्लेखु लिम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२३:oo

अलि अघि ज्वालामुखी लामिछानेले लेख्नुभएको लेख  ‘भ्यु टावरबाट काठको बाकस पनि देखिन्छ ?’ घरिघरि सम्झिरहन्छु । ‘बाकस’ याने कि अरबमा अकालमै दैनिक मृत्यु भई फर्केका नेपालीको शरीर बोक्ने कफिन । ‘विकास’को पर्यायवाची बनेको ‘भ्यु टावर’को शक्तिशाली र हृदयस्पर्शी आलोचना बोकेको लेखले सोधे जस्तै अहिलेको अवस्थामा सोध्न सकिने अर्को प्रश्न हो, ‘धरहराको टुप्पोबाट कोभिडले प्राण हरण गरेका कति लासहरू देखिन्छन् ?’ कोरोनाको वेला धरहराको शिलान्यास भनेको ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने जस्तो हो । खाली कुम्लो, कुम्लो नभई दाम्लो भयो यतिवेला । पछिल्लो सालको लकडाउनमा कीर्तिपुरको सडकपेटीमा लम्पसार परेका सूर्यबहादुर तामाङको मृत शरीरमाथि निरीह तेर्सिएर बसेको नाम्लो । 

पछिल्लो एक हप्तामा कोरोना कहरको नयाँ र झन् विकराल रूपले सहर–सहरमा अब मजाले डेरा जमाइसकेको अवस्था छ । विकराल रूप भन्नाले यो सजिलैसँग सर्छ, अनि यसले मान्छेलाई चाँडै मृत्युको मुखतिर धकेल्छ । बच्चा, वृद्ध सबैलाई । अर्को शब्दमा भन्नुपर्दा, ‘खुकुरीभन्दा कर्दा लाग्ने’ भनेको जस्तो, पोहोरको माउ कोरोनाभन्दा अहिले देखिएको बच्चा कोरोना धेरै छरिता र विषालु छन् ।

पोहोर सालको पहिलो उभारमा दैनिक पाँच सय संक्रमण संख्याबाट दैनिक दुई हजार दुई सय पुग्न करिब चार महिना लागेको थियो भने अहिले एक हप्ता पुग्दानपुग्दै पाँच सयबाट दुई हजार तीन सयमा पुग्यो, प्रतिदिन संक्रमितको संख्या । यही एक हप्ताभित्र सर्वशक्तिमान काठमाडौंका ‘आइसोलेसन बेड’हरू बिरामीले भरिभराउ छन् भने काठमाडौँबाहिर नेपालगन्जतिर त अब बिरामीलाई सास फेर्नलाई अक्सिजन त दूर, पल्टिनलाई बेडसमेत नभएको अवस्था छ ।

कस्तो चिन्ताजनक ! कति भयाभव ! त्यसो त भन्नेले भन्लान्, ‘ए आधाउधिले रोग लागेर पचाइसके । बाँकीले खोप लाइसके या लाउने तयारीमा छन् । धेरै चिन्ता नगर । कोरोना त कुन्नि, चिन्ताले चाहिँ बरु चितामा पुर्‍याउला ।’ कुरा बेठीकै पनि होइन । तर, यसो भारततिर हेर्‍यो, मन तर्सिन्छ । हावापानी त्यही हो । सामाजिक आन–बान, चालचलन मिल्दोजुल्दो छ । अझ भ्याक्सिन त हामीभन्दा उनीहरूले बढी लाए होलान् । तिनैले दिएको भ्याक्सिन हामीले लाउन सुरु गरेका हौँ । रोग हामीभन्दा उनीहरूले बढी पचाए होलान् । तैपनि स्थिति त्यहाँ दिनप्रतिदिन कहालीलाग्दो बन्दै छ । अब हाम्रो पालोभन्दा फरक पर्ला जस्तो लाग्दैन । ढिलो–चाँडो मात्रै हो । 

हाम्रै कुरा गर्दा बरु पोहोर साल त केही नभए पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘आइसोलेसन’का काम राष्ट्रियदेखि लिएर वडास्तरीय तहमा थोरबहुत नै भए पनि भइरहेको थियो । अहिले सबै तहको सरकारले पोलेर खाइसके– जनस्वास्थ्यका यस्ता आधारभूत तर गम्भीर मामलाहरू । त्यतिवेलाका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्र त त्यागे, स्वास्थ्य क्षेत्रप्रति दिक्दारलाग्दो गैरजिम्मेवार र निकम्मापन भने त्यागेका होइनन् रहेछ ।

२५ जनाभन्दा बढी भेला हुन नहुने भनी आफ्नै सरकारले जारी गरेको उर्दीको भोलिपल्टै उपहास गर्दै हजारौँको संख्यामा मान्छे भेला गरी ठोरीमा राम मन्दिरको शंखघोष गरे, राजपत्रमा उल्लेख भएपछि मात्र उर्दी पालना गर्ने रे ! अवस्था यस्तो जटिल छ कि जवाफमा ‘भिरबाट फाल हान्ने गोरुलाई राम राम !’ पनि भन्न सकिन्न मन्त्रीज्यूलाई । भिरबाट लड्ने अनि मर्ने त भीडमाझकाहरू हुन् आखिरमा । भानुभक्त ढकाल त भीडभन्दा माथि रहने–बस्ने । 

यसो भारततिर हेर्‍यो, मन तर्सिन्छ । हावापानी त्यही हो । सामाजिक आन–बान, चालचलन मिल्दोजुल्दो छ । अझ भ्याक्सिन त हामीभन्दा उनीहरूले बढी लाए होलान् । रोग हामीभन्दा उनीहरूले बढी पचाए होलान् । तैपनि, स्थिति त्यहाँ दिनप्रतिदिन कहालीलाग्दो बन्दै छ । अब हाम्रो पालो भन्दा फरक पर्ला जस्तो लाग्दैन । ढिलो–चाँडो मात्रै हो ।

सबैलाई लागे–जानेकै कुरा दोहोर्‍याएँ । अहिले स्थिति किन पनि गम्भीर छ भने समुदायस्तरमा डर भन्ने कुन चरीको नाम, थाहा नहुने भयो अब । बाटोघाटो हिँड्दा ठोकिनेलाई मजस्ता ऐरेगैरेले ‘मास्क त लाऊँ न हौ’ भन्दा जवाफमा एकछिन अचम्म मानेर टक्क अडिन्छन् । अनि केही नबोली फिस्स हाँसेर हिँड्छन् । ठूलै ज्यानका अलि हुनेखाने जस्ता देखिनेले त अझ आँखा तर्काउँछन् । डर नै गायब हुनु भनेको बडो डरलाग्दो हो ।

महाव्याधिको घडीमा त झन् डरलाग्दो भयो । अब गर्ने के ? जवाफमा आफैँलाई यति भन्छु, स्वास्थ्य विज्ञानमा अर्थपूर्ण दखल नभएको मजस्तो सामान्य मान्छेले गर्न सक्ने र गर्नैपर्ने धेरै छ जस्तो लाग्छ, कोरोना कहरको यो नयाँ उभार र संकटको घडीमा । बितेको एक वर्षले अहिले हामी सबैलाई अलि धेरै जान्ने–बुझ्ने जो बनाइसकेको छ । यसमा मुख्य श्रेय जान्छ, अनुप सुवेदी र शेरबहादुर पुनजस्ता एकाध चिकित्सक, जनस्वास्थ्यविज्ञहरूलाई । 

चाखलाग्दो कुरा, भर्खरै प्रसारित एउटा टेलिभिजन कार्यक्रममा सरकारी प्रवक्ता जागेश्वर गौतमले भने, ‘कोभिड–१९ को व्यवस्थापनमा नेपालले संसारकै उत्कृष्ट नतिजा हासिल गरेको छ ।’ लाजलाई धेरै अघि पचाइसकेका गौतमको कुरा सुन्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्नलाई पनि सन्दर्भै नमिल्दो बनाइदिएको जस्तो लाग्छ । तर, कुरा सुनेपछि चिमटुँ कि निचोरुँ जस्तो भएको वेला, अनुपजीले बडो शालीन शैलीमा संवेदनशील जवाफ दिनुभयो, ‘उहाँको कामै त्यही भन्ने हो । उहाँले भन्नुभयो । त्यो कुनै अचम्म भएन ।’ हुन पनि हो । त्यति नभने जागेश्वरको जागिर पनि कसरी पाक्थ्यो र ?

पछिल्लो एक वर्षदेखि कोभिड–१९ सँग जोडिएका स्वास्थ्यसम्बन्धी हरेक आयामलाई आफ्नो जागिर मात्र नभएर आफ्नो कर्म र धर्म नै ठानेर निरन्तर लागिपरेका छन्, अनुप सुवेदीजस्ता डाक्टरहरू, जनताका खातिर पैरवी गर्दै, स्वस्थ जीवन जिउन पाउने जनताको हक–अधिकारको पैरवी । यस्ता डाक्टरले जनतालाई नजानीकन दिने भनेको ऊर्जा पनि हो । त्यही ऊर्जाको सहारा लिई सरकारको मुख नताकीकन लागिपरेका छन्, काठमाडौं उपत्यकाका केही समुदाय, कोरोनाको यो नयाँ रूपसँग डटेर लड्न । यस्तै समुदायमध्ये एउटा समुदाय हो, ललितपुर वडा नम्बर–१४ ।

गत आइतबारदेखि स्थानीय नखिपोट युथ क्लबका युवा, टोल सुधार समितिहरू, सामुदायिक प्रहरी र स्वास्थ्य केन्द्रका सदस्य र वडाका पदाधिकारीहरू मिलेर कोभिड–१९ विरुद्ध लड्न सयदिने रोडम्याप तयार गरे । धन्य छौँ ! सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी निरन्तर सूचना सम्प्रेषण गरिरहने स्वास्थ्य र सञ्चारकर्मीले गर्दा यो असामान्य परिस्थितिसँग लड्ने कतिपय उपायचाहिँ वास्तवमा सामान्य नै छ । भनेको, मास्क लगाउने ।

मास्क लाउन छाड्दैनछाड्ने । अनि नलाएकालाई मास्क लाउनुहोस् भन्न छाड्दैनछाड्ने । नलाएकाहरूको छेउमै नपर्ने । तर, मास्क लाउन तयार छैनन्, जनता जनार्दन । त्यसैले रोडम्यापअन्तर्गत माथि उल्लेखित स्थानीयले दुई–चारवटा कार्यक्रम अगाडि बढाए । वडा–१४ भित्र सबैले मास्क लाउनैपर्ने । नलाएमा जरिवाना । सामाजिक भेटघाटमा, रेस्टुरेन्ट होस् या मासु पसल या चोकमा, मास्कसहित शारीरिक दूरी अनिवार्य कायम गर्नुपर्ने ।

निम्नवर्गीय परिवारमा मास्क र स्यानिटाइजर निःशुल्क वितरण गर्ने । माइक्रोबसचालकले सिटसंख्याभन्दा धेरै यात्री नराख्ने अनि आफूलगायत सबै यात्रीले मास्क अनिवार्य लाउनैपर्ने । चेतना जागरणका लागि नियमित टोल र चोकहरूमा माइकिङ गरिरहने । यो सबै पहिलो चरणको कार्यक्रम हो । कार्यक्रम कार्यान्वयन भए–नभएको निगरानी स्थानीय नागरिकले गरिरहने । नभएमा वडा कार्यालयलाई जिम्मेवार ठहर गरी आवश्यक दबाब दिने । दोस्रो चरणको कार्यक्रम अवस्था हेरी बनाउने, जसअन्तर्गत स्थानीय क्लिनिक, स्वास्थ्य केन्द्र अनि सामुदायिक भवनहरूमा आधारभूत आइसोलेसन वार्डहरूको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने मुद्दा पर्न सक्छ । सहरका अस्पतालहरूमा अब बिस्तारै भर्ना हुने अवस्था नरहने स्थिति छ । अब सम्भव भएसम्म सक्दो परिचालन गर्नुपर्ने स्थानीय स्रोत नै हो । 

समाज आफैँमा स्वतः अटेरी हुँदैन । कोरोनाको आगो बल्न सुरु हुँदै गर्दा होटेल मेरियटलाई ‘भ्यु टावर’ बनाई नवनिर्मित धरहराको ‘भ्यु’को मज्जा लिने शासकले राज गरेको देशमा हामीले नक्कल गर्ने त ‘अभिभावक’कै चर्तिकला न हो । तर, भ्याक्सिन लाउन पाए पनि नपाए पनि कोरोनाको दीर्घकालीन ओखती भनेको मास्क हो । धेरैभन्दा धेरैले मास्क लाएमा थोरैभन्दा थोरै मात्र संक्रमित हुन्छन् । 
 

सामुदायिक छलफल र निर्णयबमोजिम, प्रहरी र स्थानीय युवा टिम जनस्वास्थ्यको मापदण्डको पालना गर्दै यसरी हरेक दिन दिनको दुई घन्टा सडक, चोक, बस स्टप, होटेल र रेस्टुरेन्टमा पालैपालो, दोहोर्‍याइ–तेहर्‍याई एकपछि अर्को गर्दै टोल हातामा मास्क र माइकसहित टोल अवलोकनमा हिँड्ने काम गरिरहेका छौँ । मास्क वितरण, सुझाब सल्लाह र परेको वेला हल्का रिसाउने पनि गरिन्छ । सम्झाउन–बुझाउन गाह्रो । अटेरी समाज । तर, समाज आफैँमा स्वतः अटेरी हुँदैन । कोरोनाको आगो बल्न सुरु हुँदैगर्दा होटेल मेरियटलाई ‘भ्यु टावर’ बनाई नवनिर्मित धरहराको ‘भ्यु’को मज्जा लिने शासकले राज गरेको देशमा हामीले नक्कल गर्ने त ‘अभिभावक’कै चर्तिकला न हो । संक्रमणको डर बोक्दै घन्टौँ भ्याक्सिनको लाइनमा बस्दा ‘हात लाग्यो शून्य’ हुने सर्वसाधारणको भागको सहरमा जनताले गर्न सक्ने अरू केही बाँकी पनि रहेन अब । 

थोरैले समुदायस्तरमा गरेका यस्ता केही कर्मकाण्डले कोरोना कहर झ्याप्पै थामिने पनि होइन । तर, अरू केही गर्ने हैसियत पनि त छैन । हैसियत हुनेहरू बेइमानी बेच्दै मान खरिदमा व्यस्त छन् । आउँदा दिनहरूमा कति सिकिस्त बिरामी परिएला, कति मरिएला, अनि समयले हाम्रो नामलाई एकपछि अर्को गर्दै नम्बर बनाएर तथ्यांकमा राख्दै जाला । तर, अहिलेलाई सामाजिक सञ्जालमा सीमित छटपटीलाई सञ्जालबाहिरको घर–समाजमा पोखिन दिऊँ । आ–आफ्नो टोलमा यस्तै सानोतिनो काम सुरु गरौँ अनि सकेसम्म निरन्तरता दिऊँ ।

स्थानीय सरकार पनि करिब–करिब केन्द्रकै नक्कल गर्न खोज्छ । ऊ निष्क्रिय छैन । तर, जनताले खोजेको जस्तो सक्रियता पनि देखाउँदैन । समाजका एकाध सल्बलाएमा चाहिँ बिस्तारै जुर्मुराउन थाल्छ, वडा सरकार । जसरी १४ नम्बर वडा कार्यालय अहिले जुर्मुराउँदो छ । आफ्नो टोल, आफ्नो वडा आफैँ सुरक्षित बनाऊँ । आफू सल्बलाउन थालौँ । आफ्नो स्थानीय सरकार आफैँ जुर्मुराउन थाल्नेछ । 

भ्याक्सिन लाउन पाए पनि नपाए पनि कोरोनाको दीर्घकालीन ओखती भनेको मास्क हो । धेरैभन्दा धेरैले मास्क लाएमा थोरैभन्दा थोरै मात्र संक्रमित हुन्छन् । स्वास्थ्य विज्ञानले एक वर्षदेखि बारम्बार रटेको यही हो । त्यसैले मास्क लगाऔँ । नाक, मुख ट्याप्पै ढाकिने गरी लगाऔँ । अहिलेको वेला मास्क नलगाई बाहिर निस्किनेलाई कुरीकुरी गरौँ, यो कम्मरमुनि निर्वस्त्र बाहिर निस्किनुभन्दा गम्भीर हो भन्न नहिच्किचाऊँ । केही बेरलाई छुच्चो हुँदा घर–समाज बच्छ भने छुच्चो होऔँ । आफू बाचौँ, अरूलाई पनि बचाऔँ ।

ad
ad