१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उपकरण जडान नहुँदा रसुवागढी जलविद्युत् एक वर्ष पछाडि धकेलियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४४:oo

समयमै उपकरण जडान नहुँदा रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना एक वर्ष पछाडि धकेलिएको छ । उपकरण जडानको जिम्मेवारी पाएको भोइठ हाइड्रो इन्डियाले समयमा उपकरण जडान सुरु नगर्दा आयोजना एक वर्ष पर धकेलिने भएको हो । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा उपकरण जडानको काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारी सुरु भएसँगै ८ चैत ०७६ मा कामदारसहित भोइठ हाइड्रो इन्डियाका सबै प्रतिनिधिहरू भारत गएका थिए । भारत गएका कामदारहरू एक वर्ष बित्दा पनि फर्किएका छैनन् । 

निर्माणस्थलमा सामग्री आइसके पनि ठेकेदारसहित कामदार नहुँदा उपकरण जडानको काम सुरु हुन नसकेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैरेले बताए । ‘कोभिडको कारण देखाएर भारत फर्किएका ठेकेदार तथा कामदार हालसम्म पनि पूर्ण रूपमा फिर्ता भइसकेका छैनन्, उनीहरूलाई ल्याउन पहल गरिरहेका छौँ, उनले भने, ‘यो काम सुरु नहुँदा आयोजनाको निर्माण सम्पन्न समय एक वर्षपछि धकेलिएको छ ।’

उपकरण जडान सुरु भए पनि काम सकिन मात्रै एक वर्ष लाग्ने उनको भनाइ छ । ‘एक वर्ष भयो, काम सुरु हुनै सकेको छैन, उपकरण जडान गर्न एक वर्ष लाग्छ,’ उनले भने, ‘तोकिएको समय सकिन लागेको छ र अहिले पुनः हामीले म्याद थपका लागि प्रक्रिया अघि बढाएका छाैँ, ०७९ जेठसम्मको म्याद थप्ने प्रक्रियामा छौँ ।’  
आयोजनाको लट ३ तर्फ जिम्मेवारी पाएको मुडभरी एन्ड जोशीले विद्युत् उत्पादनका लागि ३२ वटा टावरमध्ये १६ वटा टावरको जग खनेर कंक्रिटको कार्य सम्पन्न गरेको बताएको छ । निर्माणस्थलमा पर्याप्त कामदार नल्याउँदा काममा ढिलाइ भइरहेको छ । 

त्यसैगरी, आयोजनाको लट १ को जिम्मेवारी पाएको चिनियाँ ठेकेदार सी डब्लू ईले बाँधस्थलतर्फको काम अघि बढाएको जनाएको छ । बर्खाको समयभन्दा अगावै बाँधस्थलतर्फका सिभिल संरचनाहरूको काम सम्पन्न हुने गरी काम भइरहेको जनाइएको छ । 

पानी थिग्र्याउने भूमिगत बेसिनको सिभिलतर्फको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । प्लटिङका लागि पाइप जडान गरी दोस्रो चरणको कंक्रिटको कार्य भइरहेको छ । बर्सातअघि सम्पन्न गर्ने गरी कार्य भइरहेको आयोजनाले जनाएको छ । त्यसैगरी, ४ दशमलव १ किलोमिटर लामो सुरुङको कंक्रिट लाइनिङको कार्य सकिएको छ । १८ सय मिटर ग्राउटिङको कार्य गर्न बाँकी रहेको र १२ सय मिटर सर्किटको काम मात्र बाँकी रहेको बताइएको छ । 

पहुँचमार्गको मर्मतपश्चात् सरसाफ्टको खन्ने कार्य अगाडि बढेको छ । असार अन्तिमसम्ममा खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको कार्य गरिने भएको छ । पेनस्टक जडान गरी कंक्रिट गर्ने कार्य सम्पन्न भइसकेको छ । 

त्यसैगरी, विद्युत्गृह, भूमिगत विद्युत्गृह र ट्रान्सफर्मर क्यारेन्टको सिभिल निर्माणतर्फको कार्य फिनिसिङबाहेक सम्पन्न भएको आयोजनाले जनाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पु¥याउँदै आएको छ । १ सय ११ मेगावाट क्षमताको यो आयोजनाको निर्माण ०७० माघमा सुरु भएको हो ।  

ad
ad