१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको दाबी– ओलीले केही मान्छेलाई किनेर भजनमण्डली बनाए (भिडियोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:o१:oo

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा हिटलर प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले ओलीले अपनाएको शैली हिटलरी भएको बताएका हुन् । 

प्रधानमन्त्री बनाउन जसले भ¥याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पु¥याइदिएको नेपालको टिप्पणी छ । ओलीले केही खास मान्छेलाई किनेर भजनमण्डली बनाएको पनि नेपालले आरोप लगाए । आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलरजस्तै पतन भएर जाने नेपालको भनाइ छ । 

उनले भने, ‘हाम्रै देशमा कतिपय छन् नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन्, जितेको भोलिपल्ट आफूलाई सम्राट् ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भ¥याङ चढेका हुन्छन् त्यो भ¥याङलाई लात्तीले पुक्क हिर्काएर फाल्दिन्छन् र पुक्क फालिएकाहरू सडकमा पछारिन्छन्, त्यसपछि उनीहरू बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् । तर, आँटिलाहरू फेरि उठछन, जिउका धुलाहरू फालेर फ्रेस भएर अगाडि बढ्छन् । धुलो टकटक्याउने र हटाउने, चुनौतीको सामना गर्ने र उज्यालो भविष्यको दिशातर्फ अगाडि बढ्ने, उज्यालो भविष्य के हो त ? राजतन्त्रमा फर्किने होइन, संविधानलाई मास्ने पनि होइन, पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जाने पनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हाबी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्तिपूजालाई प्रोत्साहन दिने पनि होइन । असल कुराहरू कहीँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विनापूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ । यसर्थमा राम्रो के हो नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर भजनमण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन, त्यो कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ, हार हुन्छ । किनभने हिटलरले यस्तै कोसिस गरेको थियो । हिटलरको कोसिस समाप्त भयो । हिटलरसँगसँगै एउटा अध्याय समाप्त भयो ।’

नेपालले संसद्ले राम्रो भूमिका निर्वाह गर्दै गर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसद्लाई नै घाँडो ठानेको बताए । आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस ओलीले गरेको उनले बताए । 

नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृत्तिको हार हुने उनको भनाइ छ । उनले भने, ‘संसद्ले राम्रो भूमिका निर्वाह गर्दै छ, तर संसदमा आफ्नो समर्थन नभएपछि संसद्लाई नै घाँडो ठान्ने, पार्टीभित्र आफ्नो बहुमत नभएपछि पार्टीलाई नै घाँडो ठान्ने, घरमा आदेश पालक नभएपछि घरैलाई घाँडो ठान्ने, अनि घरै भत्काइदिने, पार्टी नै भत्काइदिने, संसदै भंग गरिदिने यस्तो विध्वंसकारी प्रवृत्ति हाम्रो नेपाली समाजमा हिजोआज देखा पर्न थालेको छ । यो विध्वंसकारी प्रवृत्तिले सबैलाई दुःख दिइरहेको छ । दुःखको मात्रा फरकफरक होला, तर नेपाली जनतामा सबै चिजको सामना गर्ने आँट रहेछ, खुबी रहेछ, क्षमता रहेछ र हामी यस अर्थमा भन्छौँ गलत कुराको हार हुन्छ, सत्यको जित हुन्छ, त्यसैले हार भयो भनेर थाक्ने पनि होइन, हार मानेर मैदान छोड्ने पनि होइन । दृढताका साथ अगाडि बढ्ने हो ।’

नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृत्तिको विरोध गरिरहेको उनको दाबी छ । तर, प्रतिगमनले फेरि सताएको नेपालको भनाइ छ ।

विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भए पनि प्रतिगमनले नछोडेको अनुभूति भएको उनको भनाइ छ । ‘यो प्रतिगमनले धेरै सताएको छ । धेरै सतायो, राजतन्त्र हुँदाखेरि पनि प्रतिगमनले सताएको थियो । अब त प्रतिगमनलाई पार लगाइयो भन्यौँ, गणतन्त्र आयो फेरि प्रतिगमनकै हातमा छ । यो प्रतिगमनको कालो बादल कहिलेसम्म मडारिने हो हामी त्यसको प्रतीक्षामा छौँ । अन्त्यमा फेरि पनि सत्यकै जित हुन्छ, प्रतिगमनको हार हुन्छ ।’

ad
ad