१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा १० महिनाअघि भेन्टिलेटर पुग्यो, तर चलाउने जनशक्ति पुगेन

भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा सेवा सञ्चालनमा आएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३o:oo

हिमालपारिको जिल्ला मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा ०७७ असारमा पुगेको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० महिनाअघि भेन्टिलेटर पुगेको हो । तर, १० महिना बितिसक्दा पनि उक्त सामान प्रयोगमा आउन सकेको छैन ।

कुनै पनि बिरामीको अवस्था जटिल बनेकाे समयमा भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै १० महिनाअघि नै यस अस्पतालमा भेन्टिलेटर ल्याइएको थियो । मनाङ जिल्लामा दुईजना मात्र चिकित्सक डा. प्रतिभा गौली र सन्तोष अधिकारी कार्यरत छन् ।

‘कोभिडका बिरामीका लागि उपचार गराउन भेन्टिलेटरका सबै सामग्री छन्, तर जडान गरिएको छैन,’ डा. अधिकारीले भने, ‘भेन्टिलेटरसम्बन्धी तालिमप्राप्त डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’

भेन्टिलेटरको आवश्यकता त्यतिवेला पर्छ जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । डा. अधिकारीले भने, ‘भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ ।’

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए । उनका अनुसार हाल जिल्ला अस्पतालमा जम्मा पाँच कर्मचारी छन् ।

सिनियर अहेब प्रमुख अन्सारी, डा. प्रतिभा गौली, डा. सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का छन् । दुईजना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एकजना मात्र छन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् ।

ad
ad