भारतीय नागरिक नेपाल हुँदै साउदीतर्फ काठमाडौंका होटेल भारतीयले भरिभराउ

पछिल्लो १५ दिनमै ६ हजार ७८ जना भारतीय हवाईमार्गबाट नेपाल भित्रिए, दिल्ली–काठमाडौंको हवाई भाडा ३० हजारसम्म पुग्यो

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

कोभिड–१९ का कारण खाडी मुलुकले भारतमा सीधा उडान रोकेपछि भारतीय नागरिकहरू नेपालको बाटो हुँदै खाडी मुलुक जान थालेका छन् । जसका कारण नेपालबाट हुने उडानहरू खचाखच भरिन थालेका छन् । त्यस्तै, भारतबाट नेपाल आउने उडानमा पनि यात्रुहरूलाई टिकट पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ पछि भारत र नेपालले एक–एक उडान मात्र गर्न पाउने सहमतिअनुसार हवाई यातायात चलिरहेको छ । जसमा तेस्रो मुलुकमा यात्रुसमेत बोक्न प्रतिबन्ध रहेको छ । 

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सीधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका हुन् । साउदीले नेपालसँग भने सीधा उडानमा रोक लगाएको छैन । 

साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । यात्रु नै नभएपछि उडान बन्द भयो । साउदीको उक्त नियमपछि भारतीयहरू नेपालको बाटो भएर साउदी जान थालेका हुन् । साउदी अरबका होटेललगायत अन्य क्षेत्रमा १५ लाख भारतीयले काम गर्दै आएको अनुमान छ ।

भारतीयहरू नेपाल आएर १४ दिन क्वारेन्टिन बसेर मात्रै साउदी अरबको यात्रामा निस्कने गरेका छन् । जसका कारण नेपालका बसपार्क, सुन्धारा, विमानस्थल क्षेत्र तथा गौशाला क्षेत्रका होटेलहरू भरिभराउ हुन थालेको छ ।  भारतीयहरूलाई १४ दिन क्वारेन्टिन नेपालमा राखेपछि साउदीले नेपालबाट जाने अनुमति दिएका कारण होटेलमा पाहुनाको संख्या बढेको होटेल व्यवसायी महासंघका अध्यक्ष हीरा शाहले जानकारी दिए । साना होटेल मात्रै नभएर तारे होटेलमा समेत व्यवसाय बढेको उनको भनाइ छ । भारतीयहरूलाई नेपालसम्म ल्याउन नेपाल र भारतका ट्राभल एजेन्सीहरूले सघाइरहेका हुन्छन् ।  

 एयरलाइन्स कम्पनी मालामाल 
नेपाल र भारत सरकारबीच सम्पन्न भएको एयर बबल एग्रिमेन्टअनुसार हाल नेपाल र भारतबीच दुवैतर्फका एक–एकवटा उडान भइरहेको छ । कुनै पनि देशले आफूले चाहँदैमा उडान संख्या थप गर्न सक्दैनन् । दुवैतर्फको उडानमा चाप देखेर नेपाल वायुसेवा निगमले भारतको मुम्बई र बैंग्लोरबाट पनि उडान गर्न माग गर्दै पहल गरिरहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

‘अहिले भारतीयका कारण निगमको उडानमा खचाखच हुँदा आम्दानीसमेत बढेको छ,’ पौडेलले भने । अहिले काठमाडौं–दिल्ली–काठमाडौंको उडानमा हवाई भाडा ३० हजारसम्म पुगेको छ । काठमाडौं–दिल्ली–काठमाडौंको न्यूनतम उडान ७ हजार रुपैयाँ रहेको छ ।  

जसका कारण बिरामी र विद्यार्थीलाई आउन–जान समस्या भएको छ । उडान थप्न पहल भइरहेको र थप्न सकेमा सबैलाई सहज हुने पौडेलले बताए । दिल्लीबाट काठमाडौं उडानमा अहिले ७० प्रतिशत भारतीय रहेकोसमेत निगमको भनाइ छ । 
अघिल्लो महिना ७ हजार भारतीय नेपाल आएका थिए । तर, पछिल्लो १५ दिनमै ६ हजार ७८ जना भारतीय हवाईमार्गबाट नेपाल आएका छन् । उक्त अवधिमा ३ हजार २ सय भारतीयहरू काठमाडौं विमानस्थलबाट बाहिरिएका छन् । खाडी मुलुकमा अहिले काठमाडौंबाट हिमालयबाहेक नेपाल वायुसेवा निगम, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेजलगायत एयरलाइन्सले उडान गर्दै आएका छन् । 

सुझावित समाचार