१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७७ चैत १६ सोमबार ०६:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग

मेलम्चीको १७ करोड लिटर थपिएपछि उच्चतम् ३० करोड लिटर आपूर्ति, तर ४० प्रतिशत बाटोमै चुहावट

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७७ चैत १६ सोमबार ०६:२७:००

काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । 

अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । नयाँ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने देखिएको छ ।

२२ वर्षपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी आइपुगेको छ । आइतबार पहिलो चरणअन्तर्गत चाबहिलको महांकालचौरस्थित ट्यांकीबाट पानी वितरण गरिएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले दिउँसो २ बजे महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका थिए । त्यहीँबाट आपूर्ति भएको पानी डिल्लीबजार, मैतीदेवी, घट्टेकुलो क्षेत्रसम्म वितरण गरिएको छ ।

‘अहिले पुरानै वितरण प्रणालीबाट पानी पठाएका छौँ । केही दिन परीक्षण अवधि राखेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने । आइतबार महांकालचौरसँगै अनामनगर, मीनभवन र खुमलटारस्थित ट्यांकीबाट पनि पानी वितरण गर्ने योजना थियो । तर, पछि महांकालचौरबाट मात्रै वितरण गरियो । चारवटै ठाउँबाट गरी सुरुका दुई दिन चार करोड लिटर, तेस्रो दिन साढे ६ करोड र चौथो दिनदेखि साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना केयुकेएलले बनाएको थियो । 

अहिले सुन्दरीजलस्थित एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार दैनिक साढे आठ करोड लिटरसम्म पानी वितरण गरिनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर गरी दैनिक १७ करोड लिटरसम्म उपत्यकामा पानी वितरण गर्न सकिने प्रवक्ता राईले बताए । मेलम्ची खानेपानी आयोजनाले गत शुक्रबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो ।

पहिलो चरणको परीक्षण सफल भएमा २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौंमा आएको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उनले भृकुटीमण्डपस्थित जडान गरिएको नयाँ धाराको टुटी खोलेर उद्घाटन गर्नेछिन् । दोस्रो चरणमा बालाजु क्षेत्रमा पानी पठाउने केयुकेएलको तयारी छ । त्यसपछिको चरणमा महाराजगन्ज, पानीपोखरी र बाँसबारी क्षेत्रमा पानी पठाइनेछ । 

पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले केयुकेएलले तत्काल समस्या सामाधानका लागि एउटा टोली तयारी अवस्थामा राखेको छ, जसले समस्या देखिनासाथ सम्बन्धित ठाउँमा पुगेर मर्मत सम्भार गर्नेछ । ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ,’ प्रवक्ता राईले भने । 

कुन–कुन स्थानमा पानी आउने, कुन ठाउँमा नआउने तथा कुन–कुन समयमा पानी आउने भन्ने विषयमा सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमार्फत उपभोक्तालाई जानकारी दिइरहेको छ । ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि त्यसबारे बुझ्‍न सक्ने केयुकेएलले जनाएको छ । 

मेलम्ची खानेपानी आयोजनाले गत १० फागुनमा पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । २२ फागुनमा पानी सुन्दरीजलस्थित प्रसोधन केन्द्रमा आइपुगेको थियो । प्रधानमन्त्री केपी ओलीले त्यसको अवलोकन गरेका थिए ।
मेलम्चीको पानी उपत्यकामा ल्याउन ०५५ मा मेलम्ची खानेपानी विकास समितिको गठन गरिएको थियो । आयोजना निर्माणका लागि ०५८ मा एसियाली विकास बैंकसँग ऋण सम्झौता भएको थियो । 

नयाँ वितरण सञ्जाल पनि तयारी अवस्थामा 
नयाँ वितरण प्रणाली पनि तयारी अवस्थामा रहेको केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जनाएको छ । ११ सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको छ । दुई सय किलोमिटरमा ट्यांकरको पानी हालेर परीक्षण कार्य पनि गरिएको पिआइडीका निर्देशक कमल श्रेष्ठले बताए । 

‘नयाँ प्रणालीमार्फत पानी वितरणका लागि पनि हामी तयारी अवस्थामा छौँ । दुई सय किलोमिटरमा ट्यांकरबाट पानी हालेर परीक्षण गरिसकेका छौँ । परीक्षण सफल पनि भइसकेको छ,’ श्रेष्ठले भने । उनका अनुसार बाँकी नौ सय किलोमिटरमा मेलम्चीको पानी आएपछि नै परीक्षण गर्दै पानी वितरण गरिनेछ । 

‘पानी प्राप्त भएपछि महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने पानी १० प्रतिशत परीक्षणमा खर्च गर्छौँ । परीक्षण गर्दा पाइपमा जमेका फोहोर पनि बाहिर आउने गरी फ्लसिङ गर्नुपर्छ ।’ उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई पानी पु¥याउन एक वर्ष लाग्नेछ । 

नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ । ‘हामीले चाहेर पनि दैनिक र सबैतिर पानी वितरण गर्न सक्ने अवस्था छैन । पुरानो प्रणालीका पाइपहरू साना साइजका छन् । ती लाइनबाट धेरै धारा जोडिएका छन् । त्यसैले त्यो लाइनमा दिनभरि नै पानी दिँदा पनि सबै धारामा आउन गाह्रो नै छ,’ केयुकेएलका प्रवक्ता राईले भने ।

केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ ।