१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
इलाम चुलाचुली– ६ तोरीबारीकी रञ्जना लिम्बू पानी बोकेर घर जाँदै ।
चिरञ्जीवी घिमिरे साकफारा (इलाम)
२o८१ बैशाख २१ शुक्रबार o९:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

इलामको सिस्नेमा खानेपानी र बिजुली सधैँको चुनावी एजेन्डा 

Read Time : > 3 मिनेट
चिरञ्जीवी घिमिरे, साकफारा (इलाम)
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१३:oo

इलाम चुलाचुली–६ स्थित देहात गाउँ सिस्नेकी ५६ वर्षीया मञ्जु राईले प्रजातन्त्र पुनर्स्थापनापछिका सबै निर्वाचनमा मत हालिन् । आउँदो १५ वैशाखमा हुने उपनिर्वाचनमा पनि मत हाल्ने तयारीमा छिन् । उपनिर्वाचन नजिकिएपछि डेढ वर्षपछि फेरि दलका नेता मत माग्दै गाउँ पसेका छन् । तर, गाउँ बसेका नेतासँग नयाँ एजेन्डा छैन । 

खानेपानी र बिजुली जस्ता कहिल्यै पूरा नहुने एजेन्डा बोकेर निरन्तर नेता गाउँ पस्ने गरेको मञ्जु बताउँछिन् । ‘सबै निर्वाचनमा खानेपानी र बिजुली दिन्छौँ भन्छन् । चुनाव सकिन्छ नेता हराउँछन् । उनीहरूको बोली (प्रतिबद्धता) पनि यसै सेलाएर जान्छ,’ उनले भनिन्, ‘यसपटक पनि गाउँमा भोट माग्न आउने सबै उम्मेदवारले तिमीहरूको समस्या सबै समाधान गरिदिन्छौँ भन्छन् । यिनीहरू पनि चुनाव सकिएपछि हराउँछन् । अर्को चुनावमा फेरि यही मुद्दा लिएर भोट माग्न आउँछन् ।’ 

चुरेको विकट यो गाउँमा पातलो बस्ती छ । सिस्नेमा करिब २० घर मात्र छन् । यहाँका जनता अहिले पनि बिजुली र खानेपानीको पहुँचभन्दा टाडा छन् । ‘सक्नेले सोलार राखेको छ । त्यो सोलार पनि घाम लाग्दा मात्र काम दिन्छ । नसक्नेले टुकी बालेर बस्छन्,’ सिस्नेका नरबहादुर नेम्वाङले भने, ‘खानेपानीको उस्तै दुःख छ । हिउँदमा त मुहान पनि सुक्छ । दुई/तीन घण्टा बोकेर खानुपर्छ । बर्खामा आकाशबाट आएको पानी घरको टिनबाट थापेर खान्छौँ ।’ नजिकै खानेपानीको मुहान नहुँदा मावा खोलाआसपासबाट पानी बोकेर खानुपर्ने पीडा सुनाउँछन्, नरबहादुर । उनको बाटोमै घर छ । बाटो हिँड्ने मानिसले पानी माग्दा पनि दिन नसक्ने अवस्था रहेको उनी बताउँछन् । ‘बाटोको घर भएका कारण बाटो हिँड्ने मान्छेले पानी मागिरहन्छन् । पानी दिने मन त हामीलाई पनि हुन्छ । तर, टाढाबाट बोकेर ल्याएको पानी चाहेर पनि दिन सक्दैनौँ,’ उनले भने, ‘मधुमल्लाबाट बोतलको पानी किनेर ल्याउँछौँ र त्यही पानी बाटो हिँड्नेलाई बेच्छौँ ।’

निर्वाचनमा पानी र बिजुलीको मुद्दा उठाउने उम्मेदवार निर्वाचन सकिएसँगै गाउँ पनि नआउने गरेको उनी बताउँछन् । ‘चुनावका वेलामा जोडतोडका साथ मुद्दा उठाउँछन् । हामी सबै काम गरिदिन्छौँ भनेर आश्वासन पनि दिन्छन्,’ नेम्वाङले भने, ‘चुनाव सकिएपछि एकैपटक अर्को चुनावमा मात्र आउँछन् । हामी खानेपानी अभावमा काकाकुल र बिजुली अभावमा अँध्यारोमै बस्न बाध्य छौँ ।’ राज्यका निकायले यो गाउँलाई बेवास्ता गरेको उनी बताउँछन् । ‘यहाँ २० घर छन् । ती घरहरूबाट आउने भोटलाई नेताहरूले भोटबैंक बनाए । तर, यहाँको विकासका लागि अरू केही पनि गरेनन्,’ उनले भने, ‘अहिले पनि आश्वासन लिएर दिनैपिच्छे नेताहरू गाउँ आएका छन् । तर, पूरा हुन्छ भन्ने लागेकै छैन । 

रञ्जना लिम्बू तोरीबारीको एक विद्यालयमा कक्षा आठमा पढ्छिन् । उनी दैनिक पानी बोकेर मात्र विद्यालय जान पाउँछिन् । घरबाट विद्यालय जान ओरालो भएका कारण दैनिक डेढ घन्टा पैदल हिँड्नुपर्छ । घर फर्कँदा उकालोमा दुई घन्टा लाग्छ । ‘यति टाढाको स्कुलबाट आएर पनि एक गाग्री पानी त ल्याउनैपर्छ । बिहान पनि पानी बोकेर मात्र स्कुल जान पाइन्छ । यसरी बोकेको पानी गाईवस्तुदेखि मान्छेसम्मले प्रयोग गर्नुपर्दछ,’ उनले भनिन्, ‘हाम्रो ठाउँमा पानीको साह्रै दुःख छ । बिजुलीको पनि उस्तै दुःख छ । घाम नलागेको दिन त बेलुका बत्ती नै बल्दैन । हामीले पढ्न पाउने राति नै हो । बत्ती नभएपछि पढ्न पनि मुस्किल छ ।’

चुलाचुली– ६ का वडाध्यक्ष दिलकुमार राईले यो वडा चुलाचुलीको अन्य वडाको तुलनामा धेरै विकट भएको बताए । यहाँका बस्तीमा खानेपानी, बिजुलीको अभाव कायमै रहेको वडाध्यक्ष राई बताउँछन् । ‘हाम्रो वडामा दशवटा टोल विकास संस्था छन् । तीमध्ये चुरेको तल्लो भेग तोरीबारीका दुई टोल विकासमा बिजुली छ । माथिल्लो दशमी क्षेत्रको एउटा टोल विकासमा बिजुली बालिएको छ । बाँकीमा बिजुली नै छैन,’ वडाध्यक्ष राईले भने, ‘केही गाउँमा स्थानीय उपभोक्ताले स्थानीय खोलाबाट लघुजलविद्युत् चलाएका छन् ।’

इलाम बजारमा कांग्रेसको चुनावी सभा

आगामी १५ वैशाखमा इलाम २ मा हुने उपवनिर्वाचनलाई लक्षित गरेर कांग्रेसले इलाम सदरमुकाममा शनिबार चुनावी सभा गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको उपस्थितिमा चुनावीसभा आयोजना गरिएको हो । इलाम २ मा कांग्रेस उम्मेदवार डम्बर खड्का छन् ।

कांग्रेस महामन्त्री थापाले इलाममा हुन लागेको उपनिर्वाचनले उत्तेजनाको राजनीतिलाई स्वीकार गर्छ कि चेतनाको राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्ने बताए । ‘यो उपनिर्वाचनले उचाल्ने राजनीतिलाई स्वीकार गर्छ कि मिलाउने राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्छ । हामीले सबै कुरा गर्न सक्छौँ भन्ने होइन । हामी मिलाउन सक्छौँ । हामी सम्हाल्न सक्छौँ । कांग्रेससँग सम्हाल्ने शक्ति छ । तपाईंले कस्तो शक्ति खोज्नुभएको हो ?,’ उनले भने, ‘पहिचानवादी साथीहरूलाई सोध्न चाहन्छु पहिचानको नाराको सम्बोधन होस् भन्ने चाहना हो कि नारा नारा मात्र रहोस् भन्ने चाहनुहुन्छ ? सबै जातजातिलाई कांग्रेसले समान अधिकारलाई स्थापित गर्छ ।’ थापाले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई लक्षित गर्दै कुल वा वंशमा जन्मिएको आधारमा विशेष अधिकार पाउनु गणतन्त्र नभएको बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले इलाम २ को उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले चुनावी आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्नुपर्ने बताए । उनले प्रचार–प्रसारको क्रममा कसैलाई पनि गाली नगर्न आग्रह गरे । उनले सबै राजनीतिक दललाई निर्वाचनको परिणामपछि इलामको विकासका लागि एक हुने संकल्प गर्नुपर्ने उल्लेख गरे । ‘इलामको मुहार फेर्ने मुद्दामा बहस गरौँ । केही भएन भन्नुभन्दा विगतमा भएको काम किन ढिला भयो भन्ने प्रश्न गरौँ । विगतमा इलामका लागि के गर्‍यौँ । देशका लागि के गर्‍याैँ भनेर कुरा राखौँ । भएन/बिग्रियो/सकियो भनेर मात्र निराशाजनक कुरा नगरौँ,’ शर्माले भने, ‘काम भइरहेको छ । तर, किन ढिला भइरहेको छ भन्नेमा प्रश्न गरौँ । आफ्नो पार्टीलाई भोट माग्दा तथ्यमा टेकेर मत मागौँ । केही भएको छैन भन्ने कुरा तथ्यमा आधारित होइन ।’ महामन्त्री शर्माले इलामको निर्वाचनमा परिवर्तन, पहिचान र प्रगतिको मुद्दा लिएर अघि बढ्ने बताए । ‘इलामले सधैँ एउटै स्वाद लियो । अब इलाम परिवर्तन चाहन्छ । परिवर्तनको नेतृत्व कांग्रेसले नेतृत्व गर्छ । विगतमा २५ वर्ष एउटैले नेतृत्व गर्नुभयो । सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष बनेर जानुभयो । संविधान दिएर जानुभयो,’ उनले भने ।

ad
ad