मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १२ बिहीबार ०८:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पोखरा महानगरका फेवासहित अन्य लेकसाइडमा पनि पर्यटन प्रवर्द्धन गरिँदै

Read Time : > 1 मिनेट
२०७७ चैत १२ बिहीबार ०८:५२:००

पोखरा र लेकसाइड एक–अर्काका परिपूरक हुन् । पोखरामा आधा दर्जनभन्दा बढी लेकसाइड भए पनि फेवातालको लेकसाइड आफैँमा प्रख्यात छ । तर, पछिल्लो समय पोखराका अन्य लेकसाइडमा पनि पर्यटन चहलपहल बढेको होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापा बताउँछन् ।

लेखनाथमा रहेको बेगनास र रूपातालको चर्चा बढ्दै गएको उनको अनुभव छ । पोखरामा अरू पनि लेकसाइड छन् भनेर प्रचार गर्न आफूहरूले केही वर्षदेखि प्रयत्न गरिरहेको उनको भनाइ छ । ‘पोखरा आउने पर्यटकहरू रूपा, बेगनास र अन्य ताल नपुगी फर्किए उनीहरूको भ्रमण अपूरो हुन्छ’ उनले भने । आमपर्यटकले फेवाताल किनारलाई मात्र लेकसाइड बुझ्ने गरेकाले बेगनास, रूपाताल र अन्य ताल किनारको पनि प्रवर्द्धन गरिनुपर्ने उनले बताए । 

अहिले काठमाडौं र पोखराकै ठूला पर्यटन व्यवसायीहरू बेगनास, रूपा र अन्य ताल छेउछाउमा लगानी गर्न आकर्षित भइरहेका छन् । पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख काशीराज भण्डारी बेगनास, रूपा, गुँदे, मैदी र न्युरेनीजस्ता  तालहरूको किनार पनि फेवातालको वरपरजस्तै विकास हुनेमा विश्वस्त छन् ।  

‘फेवा किनार (लेकसाइड) यत्तिकै ८–१० वर्षमा यो अवस्थामा आएको होइन । यसमा ठूलो मिहिनेत र लगानी छ । त्यस्तै, मिहिनेत र लगानीको खाँचो अन्य ताल किनार र वरपर पनि गर्न जरुरी छ’ उनले भने, ‘पोखरामा फरक–फरक विशेषता र आकारका धेरै ताल किनार लेकसाइडका रूपमा विकास हुन सक्छन् र त्यसको सुरुवात पनि भइसकेको छ ।’

सबै तालको प्राकृतिक सौन्दर्य नमासिने गरी संरक्षण गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् । साबिक लेकसाइड (फेवा किनार)मा अहिले धेरै चाप बढेको र बिस्तारै लेखनाथतर्फको ताल किनारमा पर्यटकको आकर्षण बढेको उनले जानकारी दिए । महानगरमा रहेका समग्र तालको प्याकेजमै विकास गर्नुपर्ने र पर्यटकका लागि धेरै विकल्प दिन सकिने उनको भनाइ छ । 

 लेखनाथका लेकसाइडमा पनि महोत्सव
विगतका वर्षहरूदेखि अंग्रेजी नयाँ वर्षमा हुने रेवान सडक महोत्सव, नेपाली नयाँ वर्षमा हुने फेवा नववर्ष महोत्सव, साहित्यिक महोत्सवलगायतका कार्यक्रम फेवा किनारमा भइरहेका छन् । पछिल्ला वर्षहरूमा पोखराकै लेखनाथस्थित बेगनास महोत्सव, रूपातालमा माछा महोत्सवदेखि अन्य महोत्सव हुने गरेका छन् । यी महोत्सवले ताल किनार र वरपर पर्यटकीय गतिविधि बढ्नुका साथै तालको महत्व र विशेषतालाई बढाएको पोखरा पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले बताए । यो वर्षदेखि लेखनाथको खास्टे, गुँदे र न्युरेनित ताललाई समेटेर लेखनाथ खास्टे ताल महोत्सव २०७७ आयोजना गरिँदै छ । 

यही १२ चैत देखि २२ चैतसम्म खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समिति खरानेफाँटले महोत्सव आयोजना गर्नेछ । मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको ताल संरक्षणका लागि तत्कालीन लेखनाथ नगरपालिकाले माटोको ड्याम लगाएको थियो । तालको सीमांकन गरी ड्याम निर्माणपछि संरक्षणको पहल थालिएसँगै स्थानीयले सहकारीमार्फत व्यावसायिक माछापालन गर्दै आएको छ । महोत्सव आयोजक मूल समारोह समितिका संयोजक हरिप्रसाद अधिकारीका अनुसार महोत्सव ५० हजारजना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।  

पोखरा–२६ लेखनाथ क्षेत्रका तीनवटा ताल एउटै वडामा छन् । करिब ६ सय मिटरको दूरीमा रहेका गुँदे, खास्टे र न्युरेनी तालको संरक्षण गर्न महोत्सवले सघाउने संयोजक अधिकारीले बताए । खास्टे ताल किनारमा सहकारीमार्फत पालिएको माछाको परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिनेछ । न्युरेनी ताल विशेष गरी चराचुरुंगी अध्ययनस्थलका रूपमा विकास गरिने उनको भनाइ छ । ‘खास्टेमा माछा खाने, न्युरेनीमा चराचुरुंगी अवलोकन गर्ने हो,’ उनले भने  । ११८ प्रजातिका चरा पाइने उन्युरेनी ताललाई बर्ड वाचिङ सेन्टरका रूपमा विकास गर्ने योजना समेत रहेको छ ।