१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
जाजरकोट नलगाड बहुमुखी क्याम्पसको कार्यालय, दुई कोठा भएको भवनको एउटा कोठा मात्र क्याम्पसले भाडामा लिएर अफिस चलाएको छ । क्याम्पसले कक्षा चलाउँदैन, परीक्षा मात्र लिन्छ ।
२o८१ बैशाख २२ शनिबार o७:१३:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उच्च शिक्षामा विकृतिको नमुना : भाडाको एउटा कोठामा बहुमुखी क्याम्पस, ६ सय विद्यार्थी

क्याम्पसमा नेपालगन्जदेखि डोल्पासम्मका विद्यार्थी भर्ना

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१३:oo

टिनले छाएको छाप्रोमा दुईवटा कोठा छन् । त्यसमध्ये एउटा कोठा क्याम्पस प्रमुखको कार्यकक्ष । कार्यकक्षभित्रको दराज र अन्य ठाउँ कागजपत्र असरल्ल छन् । सँगै जोडिएको अर्को कोठा भने अरू नै व्यक्तिले भाडामा लिएका छन् । आठ–दश फुटको एउटा कोठाको बाहिर लेखिएको छ, त्रिभुवन विश्वविद्यालय ‘नलगाड बहुमुखी क्याम्पस’ । यो दृश्य हो, जाजरकोटको दल्लीस्थित नलगाड बहुमुखी क्याम्पसको । 

एउटै कोठामा सीमित यस बहुमुखी क्याम्पसमा भर्ना भएका विद्यार्थीको संख्या भने ६ सयभन्दा बढी छ । दुर्गम क्षेत्रमा भए पनि यस क्याम्पसमा नेपालगन्जदेखि डोल्पासम्मका विद्यार्थी भर्ना भएका छन् । तर, क्याम्पसमा ती ६ सय विद्यार्थीलाई राख्न न एउटा कक्षाकोठा छ, न विद्यार्थी नै नियमित आउँछन् । कक्षाकोठा र विद्यार्थी नै नआए पनि क्याम्पसको वार्षिक रिजल्ट भने देशभरका औसत क्याम्पसमा भन्दा राम्रो छ । यसको कारण हो, अनेक सेटिङ मिलाएर पारिने ‘होम सेन्टर’ ।

क्याम्पसमा बिएड प्रथम वर्षमा मात्रै ९३ जना विद्यार्थीको नाम दर्ता भएको छ । त्रिवि कर्मचारीका अनुसार ४६ जना त्रिभुवन माविका पूर्वप्राचार्य नारायण सिंह र ४७ जना क्याम्पस प्रमुख कालीबहादुर पुनका खल्तीका विद्यार्थी हुन् । गाउँ–गाउँ पुगेर नाम दर्ता गर्ने, आफ्नो क्याम्पसको भवन नभए पनि ‘होमसेन्टर’ पार्ने र विद्यार्थी पास गराएर प्रमाणपत्र दिलाउने काम उनीहरूले गर्दै आएका छन् । ०६९ सालदेखि यस्तै रितमा नलगाढ क्याम्पस चलिरहेको छ । 

नलगाड क्याम्पसले सरोकारवाला सबैलाई प्रभाव पारेर वर्षौँदेखि शैक्षिक संस्थाको नाममा विकृति फैलाएको जानकारहरू बताउँछन् । सम्बन्धन लिनेदेखि हरेक वर्ष परीक्षा केन्द्र पार्ने र परीक्षा सञ्चालन गर्ने काम प्रभावकै भरमा हुने गरेको छ । ‘होम सेन्टरका लागि आफ्नै भवननजिकै प्रहरीचौकी र सञ्चार सुविधालगायतका पूर्वाधार हुनुपर्छ,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘तर, नलगाढ क्याम्पसमा यी कुनै पनि सर्त पूरा भएका छैनन् । तैपनि न्यूनतम पूर्वाधारसमेत नभएको कलेजले मापदण्डविपरीत होम सेन्टर पाउँदै आएको छ ।’ 

त्रिवि नेपालगन्जस्थित परीक्षा नियन्त्रण कार्यालयको सिफारिसमा यस क्याम्पसले सम्बन्धन र प्रत्येक वर्ष होम सेन्टर लिँदै आएको हो । सुरुमा नलगाढमै रहेको त्रिभुवन माविको भवन देखाएर क्याम्पसले सम्बन्धन लिएको थियो । तर, विद्यालयले क्याम्पसलाई कक्षा सञ्चालन गर्न मात्र होइन परीक्षा सञ्चालन गर्नसमेत भवन दिएन । 

उजुरी परेपछि अनुगमनले वास्तविकता खोल्यो
अघिल्लो वर्षदेखि शंकाको घेरामा परेको नलगाड क्याम्पसको वास्तविकता यसपटक भने उजागर भएको छ । आफ्नो भवन नभएको र त्रिभुवन माविले समेत भवन प्रयोग गर्न नदिएपछि क्याम्पसले चौरमा विद्यार्थी राखेर परीक्षा लिएको भन्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुमा उजुरी परेको थियो । उजुरी परेपछि परीक्षा नियन्त्रक जोशीले नेपालगन्जका सहनियन्त्रक तीर्थराज न्यौपानेलाई नलगाढ केन्द्रको अनुगमनमा पठाएका थिए ।

गत वर्षको साउनमा अनुगमन गर्न जाजरकोट पुगे पनि क्याम्पस भएको भनिएको ठाउँमा सहनियन्त्रक पुग्न भने सकेनन् । कालीमाटी खोलामा आएको बाढी तर्न नसकेर पाँच घन्टा पर्खिनुपर्दा विद्यार्थीले जाँच दिएर फर्केको उनले रिपोर्टिङ गरे । 

त्यसपछि परीक्षा नियन्त्रक जोशीले केन्द्रबाट केशव चन्दलाई ‘अब्जर्भर’का रूपमा खटाए । उनी क्याम्पसले सम्बन्धन लिँदा उल्लेख गरेकै ठाउँमै पुगेका थिए । उनले भवनलगायत कुनै पनि पूर्वाधार फेला पारेनन् । र, त्यसैअनुसार रिपोर्टिङ गरे । क्याम्पसको विकृतिका विषयमा रिपोर्टिङ भएपछि परीक्षा नियन्त्रक जोशी आफैँ क्याम्पसको अनुगमनमा गए । जब उनी पुगे, चन्दले बुझाएकै प्रतिवेदनअनुसार अवस्था पाए । 

त्यसपछि यस वर्ष भने केन्द्र रद्द भएको छ । आफ्नै स्रोतसाधन र पूर्वाधार नभए पनि ०६९ सालयता निरन्तर परीक्षा केन्द्र पाएको क्याम्पसको केन्द्र यसवर्ष भने रद्द भएको हो । ‘नलगाढ क्याम्पसले कसरी सम्बन्धन पायो, परीक्षा केन्द्रका लागि केका आधारमा सिफारिस भयो म पनि दंग परेँ,’ अनुगमन गरेर फर्केका जोशीले नयाँ पत्रिकासँग भने, ‘पहिले क्याम्पसको भवन भएको बताए पनि पदाधिकारीले देखाउन सकेनन् । पछि जग खनेर भवन बनाउन लागेको ठाउँ देखाए, त्यो पनि पत्याउने अवस्था भएन ।’ 

गत फागुनमा अनुगमन गरेर फर्कँदा क्याम्पस प्रमुख कालीबहादुर पुनसमेत काठमाडौं आएर परीक्षा केन्द्र कायम गराउन विभिन्न शक्ति समूहबाट दबाब दिएका थिए । गत १० फागुनदेखि बिएडको परीक्षा तय भएको थियो । त्रिविले ५ फागुनमा नलगाढको केन्द्र रद्द गर्ने निर्णय गरिदियो । 

सामुदायिक कलेजमा व्यक्तिगत लाभ, बिलको रेकर्डसमेत छैन
सामुदायिक कलेज भनिए पनि नलगाढ कलेज व्यक्तिको हातमा रहेको छ । क्याम्पस प्रमुख हाबी हुने र आर्थिक पारदर्शितासमेत नभएको स्रोतको भनाइ छ । सामुदायिक कलेजका रूपमा क्याम्पसप्रमुख हाबी हुने गरेका छन् । ‘शुल्क कति लिन्छन् रेकर्ड छैन, बिल पनि देखाउँदैनन्,’ एक अधिकारीले भने, ‘विद्यार्थीले क्याम्पसमा पढ्न आउनैनपर्ने, विद्यार्थीबाट पैसा असुलेर होम सेन्टर पारेर पास गराउने नियत देखिन्छ ।’ सर्टिफिकेटकै लागि नाम दर्ता गराएर परीक्षामा सहभागी हुने गरेको देखिएको ती अधिकारीको भनाइ छ । 

पदाधिकारीका आ–आफ्नै विद्यार्थी
नलगाढ क्याम्पसमा विद्यार्थी भर्ना पनि अचम्मले हुने गरेको छ । पदाधिकारीका आ–आफ्नै विद्यार्थी छन् । क्याम्पस प्रमुख र व्यवस्थापन समिति सदस्य नारायण सिंहले आ–आफूले संकलन गरेका विद्यार्थीको सूची तयार पार्छन् । केहीअघि बिएड प्रथम वर्षका विद्यार्थीको छुट्टाछुट्टै विद्यार्थीको सूची लिएर त्रिवि पनिकाको नेपालगन्ज कार्यालयमा विद्यार्थीको रजिस्ट्रेसन गर्न पुगेका थिए । त्यसपछि नेपालगन्ज कार्यालयका कर्मचारीले बल्खुमा जानकारी गराएका थिए । त्रिविका कर्मचारीले यसरी छुट्टाछुट्टै सूची कुनै पनि दर्ता नगर्ने बताएपछि पुनः दुवैजनाले संयुक्त सूची बनाएर रजिस्ट्रेसन गरेका थिए । 

यहाँ भर्ना भएका विद्यार्थी विभिन्न जिल्लाका छन् । परीक्षा नियन्त्रक जोशीले फाइलमा विद्यार्थीको फोटोसमेत टाँसेर रेकर्ड राखेको पाइएको बताए । सिंह त्रिभुवन माविका पूर्वप्राचार्य हुन् । उनी प्राचार्य हुँदा स्थानीय त्रिभुवन माविको भवनलाई देखाएर सम्बन्धन लिएका थिए । तर, पछि क्याम्पस प्रमुख पुन र सिंहबीचमा विवाद बढ्यो । त्यसपछि विद्यालयले परीक्षाका लागि समेत भवन प्रयोग गर्न दिएको छैन । क्याम्पसले परीक्षाका लागि निजी विद्यालयको एउटा कोठा देखाउने गरेको त्रिविका कर्मचारी बताउँछन् । 

क्याम्पस प्रमुख कालीबहादुर पुनले भने, ‘क्याम्पसको प्रशासन म हो, मेरो काम आधिकारिक हुन्छ ।’ क्याम्पस प्रमुख पुनले त्रिभुवन माविका पूर्वप्रधानाध्यापक नारायण सिंहका विद्यार्थीमा समस्या भएको बताए । अघिल्लो वर्ष उहाँका ३६ विद्यार्थी भर्ना गरेर परीक्षा दिएको, तर पैसा नदिएको बताए । अहिले दोस्रो वर्षमा भर्ना पनि नभएको र परीक्षा फाराम पनि नभएको बताए । अहिले भर्नालाई व्यवस्थित गरेको उनले दाबी गरे । 

केन्द्राध्यक्ष र अब्जर्भरले पैसा लिए, कलेज टेकेनन्, विकृति देखेनन्
त्रिवि पनिकाको रेकर्डमा हरेक वर्ष हुने परीक्षामा त्रिविको आंगिक क्याम्पस नेपालगन्जबाट केन्द्राध्यक्ष र अब्जर्भर खटिएको देखिन्छ । परीक्षा नियन्त्रक जोशीले भने, ‘अब्जर्भर खटिएको देखिन्छ, तर कलेजसम्म पुगेको भए यो हालत पहिले नै देखिने थियो । अहिलेसम्म त्यसबारे रिपोर्टिङ नहुनु दुःखद हो ।’ 

त्रिवि पनिका नेपालगन्ज कार्यालयका अनुसार केन्द्राध्यक्ष भएर मेनबहादुर अधिकारी, वैैकुण्ठ शर्मा, सूर्यविक्रम खड्का, उत्तमबहादुर खड्का, ढुण्डीराज जमरकट्टेल, नीमबहादुर खड्कालगायत यसअघि खटिएका थिए । त्यसैगरी, नरेन्द्र आरसीलगायत शिक्षक पर्यवेक्षकका रूपमा त्रिविबाट खटिएको देखिन्छ । उनीहरूले परीक्षा केन्द्रको वास्तविकताबारे जानकारी नगराउनु शंकास्पद रहेको त्रिविका अधिकारीको भनाइ छ ।

दलीय राजनीतिले क्याम्पसको बिजोग भो
कालीबहादुर पुन,क्याम्पस प्रमुख

क्याम्पसका लागि पहिले त्रिभुवन माविको १० रोपनी जग्गा दिने भनिए पनि नपाएको क्याम्पस प्रमुख पुनले दाबी गरे । नयाँ पत्रिकासँगको कुराकानीमा सुरुमा क्रिएटिभ बोर्डिङ स्कुलमा भाडा तिरेर क्याम्पसका कक्षा सञ्चालन गरिरहेको दाबी गरेका पुनले पछि बोली फेरेर कक्षा सञ्चालन नभएको स्वीकार गरे ।

उनका अनुसार अहिले ६/७ सय विद्यार्थी भर्ना भएका छन् । उनीहरू नेपालगन्ज, डोल्पा, रुकुमलगायत जिल्लाका विभिन्न ठाउँका छन् । कोही शिक्षक, कोही कर्मचारी पनि भर्ना भएका छन् । उनले भने, ‘पूर्वाधार नै छैन, कसरी कक्षा चलाउनु ?’ अहिले भौतिक पूर्वाधार बन्दै गरेकाले छिट्टै पढ्ने व्यवस्था गर्ने उनले दाबी गरे । ‘क्याम्पस बनाउन खोजेको दलीय राजनीतिले समस्या भएको छ,’ उनले क्याम्पसमा भएको सारा विकृतिको स्रोत राजनीतिलाई थोपरे । 

क्याम्पसले कुर्सी राखेको छ, क्लास चलाएको छैन
मदन रावल, क्रिएटिभ इंग्लिस स्कुलका संस्थापक

क्रिएटिभ इंग्लिस स्कुलका संस्थापक मदन रावलले स्कुलमा आफ्ना विद्यार्थी मात्र पढिरहेको बताए । ‘अरू कुनै पनि संस्थाको कक्षा सञ्चालन भएको छैन,’ संस्थापक रावलले भने, ‘क्याम्पसले फर्निचर राखेको छ, क्लास चलाएको छैन, भाडा पनि लिएका छैनौँ ।’ ०७५ सालमा परीक्षा चलाउन केही कोठा मात्र दिएको रावलले बताए । नलगाढ क्याम्पसको कक्षा कतै सञ्चालनमा रहेको जानकारी नभएको उनले बताए ।


 

ad
ad