मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०६:२८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनता समाजवादी पार्टीलाई प्रचण्ड–नेपालको सहकार्य प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०६:२८:००

नेकपाको प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)लाई सरकार गठनमा सहकार्यका लागि प्रस्ताव गरेको छ । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनलाई बदर गरेपछि नयाँ सरकार गठनका लागि कसरत गरिरहेको प्रचण्ड–माधव समूहले बिहीबार जसपासँग पनि छलफल गरेको हो ।

जसपाले संविधान निर्माण गर्दादेखि नै आफूहरूसँग धोका भएको भन्दै जसपाले पार्टीमा छलफल गर्ने जवाफ दिएको छ । नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपाको पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए । 

‘संविधानमा भएका त्रुटि सच्याउनुपर्नेछ, रेशम चौधरीलगायत बन्दी रिहाइ गर्नुपर्नेछ र हामीले सुरुदेखि नै उठाइरहेका विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने हुन्छ,’ वरिष्ठ नेता महतोले भने, ‘सरकारमा जाने विषय मात्रै प्राथमिकतामा राखेर हुँदैन ।

यी सबै विषयलाई एकसाथ कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामी पार्टीको बैठकमा छलफल गरौँला भनेका छौँ ।’ जसपा नेताहरूले प्रचण्ड र नेपाललाई पार्टीको आधिकारिकताको विषय नटुंग्याईकनै बाँकी विषयमा छलफल गर्न गाह्रो हुने बताएका थिए । ‘उहाँहरूले सहकार्यका लागि प्रस्ताव गर्नुभयो । हामीले तपाईंहरूको पार्टी कुन हो, अलमलमा परियो, प्रस्ट हुनुस् भन्यौँ,’ महतोले भने । 

महतोले संविधान जारी गर्दा पनि आफूहरूमाथि दमन गरिएको विषय प्रचण्ड–नेपालसामु राखेको बताए । ‘त्यसै पनि हामीले पटक–पटक धोका खाएका छौँ । संविधान पनि गोलीबारी गरेर जारी गरिएको थियो । त्यतिवेला कांग्रेस, एमाले र माओवादीले जति पनि सम्झौता गरेका थिए, ती सबैलाई इन्कार गर्दै अन्तरिम संविधानबाट पनि पछाडि गएर संविधान जारी गरिएको थियो । त्यो पनि प्रतिगमन नै थियो,’ महतोले भने, ‘हामी त्यो विषयलाई बिर्सिन सक्दैनौँ । रेशम चौधरीलगायत कैयौँ हाम्रा साथीहरू अहिले पनि बन्दी जीवन बिताइरहेका छन् । यी विषय समाधान नगरी सहकार्यको मात्रै प्रश्नमा छलफल गर्ने विषयले अर्थ राख्दैन ।’