मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ फाल्गुण १३ बिहीबार ०५:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बैठकको तयारीमा जुट्यो संसद् सचिवालय

सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालन तयारीबारे लिए ब्रिफिङ 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १३ बिहीबार ०५:४२:००

 प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि संसद् सचिवालय बैठक सञ्चालनको तयारीमा जुटेको छ । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् । 

बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । बिआइसिसी भवन र सचिवालयका कर्मचारीले अधिवेशन सञ्चालनका लागि काम बाँडफाँड पनि गरिसकेका छन् । संसद्् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालनका लागि काम सुरु भइसकेको जानकारी दिए ।

‘अदालतको १३ दिनभित्र बैठक बस्नेबारे निर्देशनात्मक आदेश आइसकेपछि संघीय संसद् सचिवालय र बिआइसिसीका पदाधिकारी–कर्मचारीबीच अनौपचारिक बैठक बस्यौँ । दुवैतर्फबाट गर्नुपर्ने काम–कारबाहीको प्राथमिकताबारेमा र गर्न बाँकी कामबारे पनि छलफल गरेर जिम्मेवारी बाँडफाँड गरेका छौँ । काम अघि बढिसक्यो,’ प्रवक्ता पाण्डेले भने । 

बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा दिनभरि सरसफाइको काम चलेको थियो । बिआइसिसीका कर्मचारीहरूले कुर्सी, टेबल, पर्दाको सरसफाइ गरेका थिए । माइक परीक्षणको काम पनि भइरहेको छ । कतिपय टुटेफुटेका सामग्री मर्मतको काम पनि सुरु भएको छ ।

सचिवालयले पनि प्रत्यक्ष प्रसारण गर्ने उपकरणलगायतका सामग्री तयारी अवस्थामा राख्न संसद् भवन बानेश्वर लगिसकेको छ । ‘अहिले साथीहरू कार्यस्थलतिर खटिसक्नुभएको छ,’ पाण्डेले भने, ‘हाम्रा पदाधिकारी–कर्मचारीहरू सबैलाई आ–आफ्नो ठाउँमा खटाएर त्यहाँ भएका उपकरणहरूको परीक्षण गर्ने, सरसफाइ गर्नेलगायतको काम थालेका छौँ । पानी, स्यानिटाइजरलगायतलाई पर्याप्त व्यवस्था गर्ने काममा हामी आजैदेखि लागिसकेका छौँ ।’

कोभिड– १९ बाट जोगिने गरी बैठक सञ्चालन हुने संसद् सचिवालयको भनाइ छ । हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने सचिवालयले तयारी छ । एक सांसद र अर्काे सांसदको बीचमा एउटा कुर्सी खाली रहनेछ । प्रवक्ता पाण्डे भन्छन्, ‘छैटौँ अधिवेशनमा हामीले जसरी सदन सञ्चालन गरेका थियौँ, अहिले पनि त्यही ढंगले सुरक्षाका मापदण्ड अपनाउँछौँ । माननीय सदस्यहरूलाई ठूलो हलमा राखेरै बैठक सञ्चालन गर्छौँ ।’

संसद्को छैटौँ अधिवेशन सञ्चालन हुँदा संघीय संसद्् सचिवालयले कोभिडबाट सुरक्षित रहन विभिन्न मापदण्ड अपनाएको थियो । त्यसका लागि संसद् भवन बानेश्वरमा तापक्रम नाप्नका लागि सेन्सरजडित मेसिनहरू उपयोगमा ल्याइएको थियो । पर्याप्त स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको थियो । अहिले पनि संघीय संसद् भवन र सिंहदरबारस्थित संसद् सचिवालयमा त्यस्ता सबै सुविधा रहेको पाण्डेको भनाइ छ । त्यस्तै, अदालतले संसद् पुनस्र्थापना गरेसँगै संसदीय समितिलाई बैठक बस्न बाटो खुलेको छ ।