मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार ०६:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मीमा बुहारीद्वारा ससुराको  हत्या 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०६:५८:००

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा बुहारीले ससुराको हत्या गरेकी छिन् । रुरु क्षेत्र गाउँपालिका– ३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीय नन्दलाल ज्ञवालीको हत्या गरेकी हुन् । सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तोमा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ । 

त्यस्तै, शिवालय मन्दिर तोडफोड गर्ने मुसिकोट नगरपालिका– १ का जंगबहादुर खाती क्षेत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनले फागुन ४ गते मुसिकोट नगरपालिका– १ को शिवालय टोलस्थित निर्माणाधीन शिव मन्दिर घन प्रहार गरेर तोडफोड गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । उनलाई फागुन ८ गते पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीले एकजना फरार अपराधीलाई चार वर्षपछि पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका– २ का गणेश भन्ने हुतराज गौतमलाई पक्राउ गरेको हो । गौतमलाई बहुविवाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ वैशाख १२ गते ११ महिना आठ दिन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । गौतमले पहिलो बिहे ०७१ र अर्को बिहे ०७३ सालमा गरेका थिए । लुकिछिपी बसेको अवस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

त्यस्तै, चन्द्रकोट गाउँपालिका– ७ डाँडापोखरा बस्ने लागुऔषध मुद्दामा फरार ३५ वर्षीय दिलबहादुर परियार पक्राउ परेका छन् । उनलाई अदालतबाट चार महिना २९ दिन सजाय फैसला भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले साउनदेखि अहिलेसम्म २३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालत गुल्मीका अनुसार चार सय ३७ वर्ष दुई महिना २० दिन कैद र ६ करोड ९५ लाख नाै हजार सात सय तीन रुपैयाँ जरिवाना असुल्न बाँकी छ ।