१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१४ दिने क्वारेन्टिनको विपक्षमा टेनिस खेलाडी : प्रतियोगितापछि क्वारेन्टिनमा राख्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:४८:oo

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा सहभागिता जनाउनुअघि खेलाडीहरू १४ दिनको क्वारेन्टिनमा बसेका थिए । १४ दिनको क्वारेन्टिपछि कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएपछि मात्र खेलाडीले खेल खेल्न पाए । एक रिपोर्टअनुसार लामो समय क्वारेन्टिनमा बसेका खेलाडीहरूमा विभिन्न किसिमको स्वास्थ्य समस्या देखिएको छ ।

क्वारेन्टिनपछि सीधै कोर्टमा उत्रदा खेलाडी घाइते मात्र भएका छैनन्, उनीहरूले स्वास्थ्य समस्यासमेत भोगिरहेका छन् । प्रतियोगितामा शीर्ष वरीयता पाएका सर्भियाका नोभाक जोकोभिले १४ दिन होटेल क्वारेन्टिनपछि प्रतिस्पर्धा गर्दा खेलाडीमा समस्या देखिएको बिबिसीलाई जानकारी दिएका छन् । हाल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल प्रवेश खेलहरू सञ्चालन भइरहेका छन् । यसबीचमा ६ खेलाडी चोटका कारण प्रतियोगिताबाटै बाहिरिइसकेका छन् । नवौँ वरीयताका खेलाडी माटिओ वेरेटिनी चोटकै कारण चौथो चरणबाट बाहिरिएका छन् । 

जोकोभिकले अस्ट्रेलियन ओपनपछि सुरु हुने अन्य टेनिस प्रतियोगितामा क्वारेन्टिन अनिवार्य भए खेलाडीहरू थप चोटग्रस्त हुन सक्ने चेतावनी दिएका छन् । उनले कोभिड–१९ को सामान्य प्रोटोकल लागू गरी खेलाडीलाई प्रतियोगितामा अवसर प्रदान गर्नुपर्ने सुझाब दिएका छन् ।

सबैजसो खेलाडीले क्वारेन्टिन व्यवस्था कडा बनाए आगामी प्रतियोगितामा भाग नलिने योजना बनाएको जोकोभिकले बताए । ‘सबै खेलाडी एक छन्, आयोजकले १४ दिने क्वारेन्टिन लागू गरे कोही पनि खेल्ने छैनन्,’ चेतावनी दिँदै उनले भने, ‘यदि सबै खेलाडीले यस्तै निर्णय गरे सन् २०२१ को टेनिस सत्र धरापमा पर्न सक्छ ।’ खेलाडीको भलाइका लागि आयोजकले क्वारेन्टिन नियमसम्बन्धी पुनर्विचार गर्नुपर्ने उनले बताए । 

चौथो चरणको खेलसम्म आइपुग्दा जोकोभिकलगायत अन्य खेलाडी पेटको समस्याले ग्रसित छन् । पेट दुखाइ समस्याले बेलायतकी नम्बर एक खेलाडी जोहाना कोन्टा पहिलो चरण रिटायर्ड हट भइन् । गत सिजनमा युएस ओपन जित्दै स्विट्रल्यान्डका खेलाडी रोजर फेडेररको २० ग्रान्डस्लाम कीर्तिमान बराबरी गरेका राफेल नाडालले ढाडको समस्या सामना गरे । यसैगरी बेलायतका हथर वाट्सन तथा बुल्गेरियाका जर्गिर डिमिट्रोभले खुट्टा र पछाडिको स्पाम्स चोट बोके । अस्ट्रेलियन ओपनमा सहभागिता जनाउन आएका ७२ जना खेलाडीले १४ दिनको क्वारेन्टिन नियम पालना गरेका थिए । 

क्वारेन्टिन कष्टकर भएको दुखेसो 
धेरैजसो खेलाडीले क्वारेन्टिनमा बस्दा निकै कष्ट भएको प्रतिक्रिया दिइरहेका छन् । ‘होटेलको एउटै कोठामा १४ दिनसम्म बस्नु खेलाडीका लागि राम्रो होइन, अभ्यास र फिटनेस बढाउनुपर्ने समयमा खेलाडी थुनिएर बस्न बाध्य भए,’ डिमिट्रोभले भने, ‘क्वारेन्टिनले खेलाडीलाई शरीरिक रूपमै कमजोर बनाउने रहेछ ।’

डिमिट्रोभले पनि जोकोभिककै भनाइमा सहमति जनाउँदै आगामी प्रतियोगितामा आयोजकले क्वारेन्टिन सम्बन्धमा विचार गर्नुपर्ने भनाइ राखे । ‘स्पष्ट रूपमा भन्नुपर्दा हामीसँग केही योजना छ, जसले कोही खेलाडी घाइते हुँदैनन् र आयोजक पनि फाइदामा रहनेछ,’ डिमिट्रोभले भने, ‘बरु प्रतियोगितापछि खेलाडीलाई १४ वा १५ दिनको क्वारेन्टिन बस्नुपर्ने नियम बनाउनु पर्छ ।’

विशेषतः टेनिस खेलका खेलाडी वर्षभरि नै सक्रिय रहन्छन् । यसमा फिटनेस उच्च राख्नु पर्छ । फिटनेस बढाउनकै लागि खेलाडीहरूले बिहानदेखि बेलुकासम्म दैनिक अभ्यास चार्ट बनाएका हुन्छन् । चार्टअनुसार चल्ने खेलाडी ठूलो प्रतियोगिताअघि १४ दिन क्वारेन्टिनमा बस्दा धेरै समस्या आउने बेलायतकी कोन्टाले बताइन् । 

अस्ट्रेलियन ओपनपछि एटिपी तथा डब्ल्युटिएका प्रतियोगिता हुनेछन् । तर युुरोप, उत्तर अमेरिका तथा मध्यपूर्वी एसियाका धेरैजसो राष्ट्रमा विदेशी नागरिकलाई भ्रमण निषेध गरिएको छ । यस्तो अवस्थामा अन्य प्रतियोगिता सञ्चालन हुन गाह्रो छ । ‘हामीले धेरै साथीहरूसँग कुराकानी गरेका छौँ, सबैको एकैमत छ, १४ दिनको क्वारेन्टिन व्यवस्था खारेज हुनुपर्छ,’ १७ पटकका ग्रान्डस्लाम विजेता जोकोभिकले भने । 

 एजेन्सीको सहयोगमा

ad
ad