१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध जाहेरी दर्ता भएन

दुर्व्यवहारप्रहरी चौकी पुगेका विद्यार्थी र अभिभावकलाई व्यवस्थापन  समिति र शिक्षक–अभिभावक संघका अध्यक्षले फर्काए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२८:oo

नयाँ पत्रिका फलोअप

कक्षाकोठामै विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकविरुद्ध जाहेरी दिन प्रहरी कार्यालय पुगेका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक–अभिभावक संघका अध्यक्षले फर्काएका छन् । झापाको कमल गाउँपालिका– ३ को सहिद धर्मभक्त माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईविरुद्ध जाहेरी दिन रोक लगाइएको हो ।

जाहेरी बोकेर इलाका प्रहरी कार्यालय दमक पुगेका विद्यार्थी र अभिभावकलाई विभिन्न आश्वासन दिएर विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्रबहादुर गुरुङ र शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खतिवडाले फर्काएको विद्यार्थीले गुनासो गरेका छन् ।

शिक्षकको यौन हिंसाबारे नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशन भएपछि प्रहरीले समेत पीडितसँग बुझेको थियो । त्यसपछि पीडित बालिका र अभिभावक शुक्रबार इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । शुक्रबार ढिला भएका कारण जाहेरी नदिई फर्किएका उनीहरू पुनः आइतबार प्रहरी कार्यालय पुगेका हुन् । तर, व्यवस्थापन समिति अध्यक्ष गुरुङ र शिक्षक–अभिभावक संघ अध्यक्ष खतिवडाले आरोपित शिक्षकलाई सरकारी सेवाबाटै राजीनामा गराउन लगाउने सर्तमा अभिभावक र विद्यार्थीलाई फर्काएका हुन् । 

व्यवस्थापन समिति अध्यक्ष गुरुङ तत्कालीन एमालेबाट निर्वाचित कमल गाउँपालिका– ३ का सदस्य पनि हुन् । खतिवडा नेकपा ओली समूहका स्थानीय नेता हुन् । आरोपित शिक्षक पोखरेल पनि ओली समूहनिकट हुन् । ‘हामीले फर्काएका होइनौँ, इलाका प्रहरी कार्यालय गएर उहाँहरूसँग कुरा गरेका हौँ । तिमीहरूलाई जे लाग्छ त्यही गर भनेका पनि हौँ,’ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘शिक्षकहरूले छात्राहरूका संवेदनशील अंगहरूमा हात लगाएर गल्ती गर्नुभएकै हो । शिक्षकले राजीनामा दिए हामी जाहेरी हाल्दैनौँ भन्ने विद्यार्थीको कुरा आयो । यस्तो कुरामा सामाजिक र व्यावहारिक पक्ष पनि हेर्नुपर्छ ।’ 

शिक्षक पोखरेल र भट्टराईले वर्षौँदेखि माथिल्लो कक्षामा अध्ययन गर्ने छात्राहरूमाथि यौन दुव्र्यवहार गर्दै आएका थिए । उनीहरूका संवेदनशीलन अंगमा छुने, चलाउनेजस्ता गतिविधि निरन्तर भएपछि विद्यार्थी आन्दोलित भएका थिए । नयाँ पत्रिका दैनिकले यसबारे समाचार लेखेपछि विद्यार्थीले न्यायको लडाइँलाई अझै सशक्त बनाएका छन् । 

राजीनामा दिएर माफी माग्न लगाउने तयारी
शिक्षकले माफी मागेर राजीनामा दिने भएपछि आफूहरू फर्किएको अभिभावक सीता गुरुङले बताइन् । ‘शिक्षकले माफी माग्ने र राजीनामा दिने विषयमा छलफल गर्दै छौँ,’ उनले भनिन्, ‘यताउता कुरा आएपछि नानीहरू डिप्रेसनमा जाने अवस्था आयो । अध्यक्ष सरहरूले नानीहरूलाई माफी मागेर राजीनामा गराउँछौँ भन्नुभयो । त्यसकारण हामी फर्कियौँ । शिक्षकले माफी मागेर राजीनामा नदिए भोलि आउँछौँ । उहाँहरू (अध्यक्ष)ले माग पूरा नभए भोलि जाहेरी दिनु भन्नुभएको छ ।’ 

बालबालिकालाई न्यौन दुव्र्यवहार भएको गम्भीर घटनामा राजनीति भएकाले अभिभावकलाई लिएर मुद्दा दर्ता गराउन गएका स्थानीय तोया न्यौपाने बताउँछन् । ‘शिक्षकबाटै दुर्व्यवहार भएको यस्तो जघन्य अपराधमा पनि व्यवस्थापन समिति अध्यक्ष, शिक्षक–अभिभावक संघ अध्यक्षजस्तो मान्छे आएर विद्यार्थी तितरबितर गर्नुभयो । त्यसपछि दर्ता नगरी अभिभावक र विद्यार्थी फर्किए,’ उनले भने, ‘यस्तो अपराधमा जाहेरी दर्ता गर्न रोक लगाउनेलाई पनि कारबाही हुनुपर्छ ।’

गाउँपालिकाले दियो उन्मुक्ति
विद्यालयमै विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने झापाको एक विद्यालयका दुई शिक्षकलाई गाउँपालिकाले उन्मुक्ति दिएको छ । कलम गाउँपालिका– ३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईले गल्ती गरेको निष्कर्ष निकाले पनि उन्मुक्ति दिएको हो । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेसहित बसेको शिक्षा समितिको बैठकले शिक्षकले गरेको अपराधमा घरपायक सरुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।

शिक्षक पोखरेल र भट्टराईले लामो समयदेखि माथिल्लो कक्षाका छात्रालाई यौनजन्य हिंसा गर्दै आएको विद्यार्थीको भनाइ छ । उनीहरूले विद्यार्थीमाथि गरेको दुर्व्यवहारबारे नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेपछि शिक्षा समितिको बैठक बसेको हो ।

शिक्षा समितिको बैठकले आरोपित दुवै शिक्षकलाई कारबाहीका साटो घरपायक विद्यालयमा सरुवाको सिफारिस गर्ने निर्णय गरेको छ । पोखरेललाई कमल– ५ को मंगलमय मावि र भट्टराईलाई कमल– २ को कमला मदनआश्रित माध्यमिक विद्यालयमा सरुवाका लागि सिफारिस गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । 

कमल– ५ मा रहेको मंगलमय मावि पोखरेलका लागि घरपायक पर्छ । उनी दमकका स्थायीवासी हुन् । दमकबाट करिब दुई किलोमिटरको दूरीमा छ भने यसअघि सहिद धर्मभक्त मावि करिब पाँच किलोमिटरको दूरीमा थियो । ‘छानबिन त शिक्षा समन्वय इकाइले पनि गर्छ । सरुवाका लागि हामीले अनुरोध मात्र गर्न सक्छौँ,’ उनले भनिन्, ‘अनुसन्धानको विषय त अरूले पनि गर्लान् । हामीले गर्ने त यति मात्र हो ।’ 

यद्यपि, शिक्षकले गल्ती गरेको निष्कर्षमा भने गाउँपालिका पनि पुगेको छ । ‘शिक्षकले विद्यार्थीलाई यसो गर्नुहुँदैन थियो । उहाँहरूले गल्ती गर्नुभयो,’ उनले भनिन्, ‘विद्यार्थीलाई उहाँहरूले छुनुहुँदैन । महिलालाई एउटा पुरुषले छुनु हिंसाभित्र पर्छ । त्यसैले यस्तो काम गर्नुहुँदैन । छानबिन प्रहरीले गर्छ । गल्तीको नसिब हामीले तत्काललाई सरुवाका लागि अनुरोध गरेका छौँ ।’

ad
ad