१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १० शनिबार
  • Wednesday, 02 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ माघ १० शनिबार १६:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जाँदैन : रामचन्द्र पौडेल 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ माघ १० शनिबार १६:३२:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकाले नसच्चिएसम्म कांग्रेस कुनै हालतमा चुनावमा जान नसक्ने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले ओलीको कदम प्रतिगमनकारी भएकाले कांग्रेसले प्रस्ट रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संघर्ष थाल्ने बताए । 

उनले कांग्रेस संविधानले प्रदान गरेको कानुनको हकअनुसारको चुनावमा मात्र भाग लिने, तर कसैको लहडमा गरेको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा नजाने स्पष्ट पारे । 
नेता पौडेलले पटक–पटक लहड र सनकका लागि अर्बौँ खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकाले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने प्रस्ट्याए । 

पुनर्स्थापनाको पक्षमा जाने निर्णय भइसकेको दाबी
उनले संविधानमा प्रस्ट रूपमा प्रतिनिधिसभा भत्काउन पाइँदैन भनेर व्यवस्था गरेकाले कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संघर्षमा जाने निर्णय गरिसकेको बताए । पत्रकारहरूमार्फत कार्यकर्तालाई चुनावको बहानामा नलोभिन आग्रह गर्दै पौडेलले भने, ‘कसले भन्यो ? पार्टीको प्रस्ट निर्णय छ कांग्रेस चुनावमा हैन प्रतिगमन विरोधी संघर्षमा जान्छ, कसैले दायाँबायाँ गर्न पाउँदैन, संविधानमा टेकेर मात्र चुनावमा जाने हो ।’ 

असंवैधानिक कदम मान्न अदालत बाध्य छैन 
नेता पौडेलले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णय मान्न अदालत पनि बाध्य नभएकाले विघटित प्रतिनिधिसभा अदालतबाट पुनस्र्थापित हुने विश्वास व्यक्त गरे । उनले राष्ट्र जोगाउने आधार अब अदालत मात्र भएकाले आफूहरूले न्यायमूर्तिहरूमाथि पूर्ण विश्वास राखेर प्रतीक्षा गरिरहेको बताए । 

पौडेलले ओलीको अलोकतान्त्रिक निर्णय अदालतले सदर गरेमा नेपालमा लोकतान्त्रिक शासन प्रणाली नै समाप्त भएर जाने बताए । अदालतले प्रधानमन्त्रीको निर्णयलाई सदर ग¥यो भने कांग्रेस चुनावमा जान्छ कि जाँदैन भन्ने पत्रकारहरूको प्रश्नमा प्रतिप्रश्न गर्दै पौडेलले भने, ‘अदालतले आत्मघाती निर्णय सदर ग¥यो भने नेपालमा जसले जतिवेला जे पनि गर्न सक्छन् । देश अफगानस्तानजस्तै हुन्छ, यसैले जे पनि गर्न दिन जनताले भोट किन हाल्ने ?’ 

ओलीको सर्वसत्तावादी प्रवृत्ति एकादेशको कथा बन्छ 
वरिष्ठ नेता पौडेलले ‘मैले जे गरेर गरेँ त्यही ठीक हो र अदालतले पनि त्यसैलाई ठीक मान्नुपर्छ’ भनेर प्रदर्शन गरिरहेको ओलीको सर्वसत्तावादी प्रवृत्तिलाई नेपाली जनताले एकादेशको कथा बनाएरै छाड्ने दाबी गरे । उनले ७० वर्षको संघर्षले आफँैले लेखेको संविधानको सुरक्षा गर्न कांग्रेस प्रतिबद्ध भएर लाग्ने प्रस्ट पारे । 

प्रदेशमा सत्ताको विपक्षमा कांग्रेसले मतदान गर्छ 
वरिष्ठ नेता पौडेलले कांग्रेस मुख्य प्रतिपक्ष भएकाले संघ र प्रदेशमा प्रस्ट भएर जिम्मेवार रूपमा प्रतिपक्षीको भूमिका निभाउने बताए । उनले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेशमा सत्ताको विपक्षमा मतदान गर्ने कांग्रेसको धारणा सुनाए । पत्रकारहसँग उनले भने, ‘हामी भागबन्डामा लोभिदैनौँ, प्रतिपक्षको धर्म प्रस्ट निभाउँछौँ, यसैले सत्ताको विपक्षमा मत हाल्छौँ ।’