मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर सौजन्य : नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गीअड्डा, रासस
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार ०६:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार ०६:३१:००

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी सिरियाको अतिसंवेदनशील माउन्ट हर्मनको हिउँमा गस्ती गरिरहेका छन् । जहाँ २० फिट हिउँ छ भने तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झरेको छ । 

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद हुँदै आएको छ । दुई देशको विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति सैनिक तैनाथ गरिएका हुन् । शान्ति सैनिक तैनाथ रहेको यो संसारकै अग्लो स्थान भएको नेपाली सेनाले जनाएको छ । यो क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि यथावत् छ । 

गोलान हाइट पनि भनिने यो क्षेत्रमा करिब ६ महिना हिमपात हुने गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार यस क्षेत्रमा खटिने अधिकांश फौजहरू मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका छन् । त्यहाँ नेपाली शान्ति सैनिक सन् २०१३ देखि तैनाथ छन् । ‘त्यस क्षेत्रमा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारीसाधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ,’ निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । 

सिरियास्थित मिसनको फोर्स कमान्डर नेपाली सेनाका रथी ईश्वर हमाल छन् । त्यहाँ यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा, अवकाशप्राप्त रथी बालानन्द शर्मा र अवकाशप्राप्त उपरथी शिवराम खरेल पनि कार्यरत थिए । सिरियाको मिसनमा नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति छ । 

मिसनमा नेपाली सेनाको चिकित्सकसहितको मेडिकल टिम कार्यरत छ । आन्तरिक द्वन्द्वका कारण विद्रोहीहरूबाट क्षति पु¥याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनःनिर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि कार्यरत छ ।