मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दुई वर्षअघि माघ पहिलो साता कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटमा भारतीय एसएसबीद्वारा अवरोध गरिएको सडक
मोहन विष्ट कञ्चनपुर
२०७७ माघ १ बिहीबार १९:५५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

एसएसबीद्वारा नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ माघ १ बिहीबार १९:५५:००

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाटका नेपाली किसानलाई अन्नबाली भित्र्याउन दशगजाको सडक प्रयोगमा रोक लगाएको छ । 

वर्षौँदेखि नेपाल (सडकघाट) र भारत (टिल्ला नम्बर ४ का) किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो । भारतीय किसानलाई भने निर्वाध रूपमा उपभोग गर्न दिएर नेपाली किसानलाई प्रयोग गर्न नदिएको सीमावर्ती सडकघाटका नेपाली किसानले बताएका छन् ।

स्थानीय चक्रबहादुर कठायतले एसएसबीले उक्त सडक नेपाली किसानलाई प्रयोग गर्न नदिएपछि नेपाली किसान मारमा परेको बताए । ‘हामीलाई सो सडक प्रयोग गर्न दिएको छैन,’ उनले भने, ‘सडक प्रयोग गर्न नदिँदा नेपालीको अन्नबाली खेतमै कुहिने भयो ।’

आफूहरू खेतमा जाँदा यो सडक भएर नआउनुहोस् भन्दै एसएसबीले फर्काइदिने गरेको उनले दुखेसो पोखे । ‘मैले यो सडक ३५–४० सालदेखि प्रयोग गर्दै आएको छु, उता भारतीय नागरिकले पनि प्रयोग गर्दछ,’ कठायतले भने, ‘अहिले एकाएक आएर एसएसबीले रोकिरहेको छ ।’ 

स्थानीय शिक्षक विवेक लम्सालले भारतीय ज्यादतीका कारण नेपालीले आफ्नै खेतमा उत्पादन भएको अन्नबाली भित्र्याउन नपाएको बताए । ‘खेतमा तोरी सुकेर त्यहीँ नष्ट हुने भइसक्यो, एसएसबीले दशगजाको सडक प्रयोग गर्न दिँदैन,’ उनले भने, ‘हामी सीमावासीले यस्तो अपराध कहिलेसम्म सहने ।’ 

सरकारले समेत चासो नदेखाएको उनको दुखेसो छ । ‘यो सडक दुवै देशका नागरिकले खेतीपातीका लागि प्रयोग गर्दै आएका थियौँ,’ उनले भने, ‘तर, आज आएर एसएसबीले हामी नेपाली किसानमाथि यत्रो अन्याय गरिरहेको छ ।’ पाक्नै लागेको अन्नबाली भित्र्याउन आफ्नै खेतमा जाँदासमेत एसएसबीले अवरोध गर्ने गरेको उनले बताए । 

बेलौरीका स्थानीय युवक लालबहादुर शाहीले भारतले नेपाल र नेपालीमाथि गर्दै आएको ज्यादतीको निरन्तरता भएको टिप्पणी गरे । उनले जनताको समस्या बुझ्दै सरकारले भारतीय पक्षसँग वार्ता गरेर समाधान गर्नुपर्नेमा जोड दिए । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कानुनअनुरूप दशगजा क्षेत्रको सडक दुवै देशले उपभोग गर्न नपाउने बताउँदै व्यावहारिक रूपमा दुवै देशका नागरिकले विगतदेखि प्रयोग गर्दै आएकाले दशगजा क्षेत्रको सडक प्रयोगको विषयमा विवाद आएको बताए । ‘सडकघाट क्षेत्रमा केही विवाद आएको छ,’ महतोले भने, ‘दुवै देशका अधिकारी बसेर विवाद समाधान गर्छौँ ।’

महतोले सो क्षेत्रमा भारतबाट अवैध रूपमा उखु तस्करी भइरहेको जनगुनासोसमेत आइरहेकाले त्यसतर्फ समेत ध्यान दिँदै सीमा क्षेत्रमा गैरकानुनी काम गर्न कसैलाई छुट नभएको बताए । ‘वर्षौँदेखि दुवै देशका नागरिकले प्रयोग गर्दै आएको सडकको विषयमा सहजीकरण गर्न सकिन्छ,’ उनले भने, ‘अन्य गैरकानुनी विषयमा हुँदैन, जनताको विषयमा छलफल गरेर निकास निकाल्छौँ ।’ 

दुई वर्षअघि पनि बेलौरी नगरपालिका १० सडकघाट क्षेत्रमा नेपाल भूमिमै सडक फराकिलो बनाउने क्रममा भारतीय एसएसबीले सडक अवरोध गरेको थियो । आर्थिक वर्ष ०७४÷७५ को माघ पहिलो सातातिरै भारतीय एसएसबीले दुई किलोमिटर सडकलाई आठ मिटर चौडाइ गर्न योजनामा अवरोध गरेको थियो । दुई वर्षअघि सडक अवरोधपछि दशगजा क्षेत्रमा नेपालीमाथि हस्तक्षेप गरेको भन्दै स्थानीय विरोधमा उत्रेका छन् ।