मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १ बिहीबार ०९:२१:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

हिटलरले जे गरे, केपी ओली त्यही गरिरहेका छन् : डा. भट्टराई 

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार ०९:२१:००

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली हिटलरको पथमा अगाडि बढिरहेको आरोप लगाएका छन् । केपी ओली प्रवृत्ति फासिस्ट र हिटलरी प्रवृत्ति रहेको उनको भनाइ छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै डा. भट्टराईले भने, ‘हिटलरले पनि उखान–टुक्काहरू हालेर मान्छे जुरुक–जुरुक उचाल्थे । अझै पनि तपाईं युट्युबमा हेर्न सक्नुहुन्छ । सबै निर्वाचित संस्थाहरू भत्काइदिने हिटलरले जे गरे, केपी ओलीले त्यही गरेका छन् ।’ हिटलरले जस्तै प्रधानमन्त्री ओलीले देश सिध्याउन खोजेको उनको भनाइ थियो । ‘जसरी हिटलरले जर्मनी सिध्याए, त्यसैगरी केपी ओलीले नेपाल सिध्याउँछन् । केपी ओलीलाई नसच्याउने हो भने अब संघीयता पनि खारेज गर्छन् । न्यायालय, शिक्षा, विश्वविद्यालय सबै कब्जा गरेर हिटलरले तानाशाही फासीवाद लादे । केपी ओलीले त्यसै गर्छन्,’ डा. भट्टराईले भने । हिटलरी प्रवृत्ति सबैलाई डुबाउने र आफू पनि डुब्ने प्रवृत्ति रहेको उनको भनाइ थियो । 

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले यो प्रवृत्ति नचिन्दा अहिले यो समस्या आएको उनको टिप्पणी थियो । आफूले प्रचण्डलाई निर्वाचनलगत्तै ओली प्रवृत्तिलाई बल पुग्ने गरी पार्टी एकता नगर्न भनेको उनले स्मरण गरे । माधव नेपाल र प्रचण्ड अझै पनि सच्चिने भ्रम पालेर निर्णायक ढंगले अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘जर्मनमा त हिटलरले करोडौँ मान्छे मारे । प्रेमिकालाई विष खुवाए । अन्तिम समयमा पनि आत्मसमर्पण नगरी आफू र आफ्ना मान्छेलाई विष खुवाएर मारे । केपी ओली त्यस्तै हुन् । अन्त्यमा सर्वनाश नभएसम्म छाड्दैनन्,’ डा. भट्टराईले भने । 

असारमै ओलीले संसद् विघटन गर्ने धम्की दिएको र प्रचण्ड–नेपाल यसबाट डराएकाले अहिलेको नियति आएको उनले बताए । आफूले त्यतिवेला नै ओली प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दा नमानेका कारण यो अवस्था आएको उनले सुनाए । ‘उहाँहरूले डराएर छाड्ने ठूलो गल्ती गर्नुभयो । मैले असारमै संसद् विघटन गर्छन् भन्दा त्यही धम्की ओलीले नेपाल र प्रचण्डलाई दिएका रहेछन् । मैले ओलीले आपत्काल घोषणा गर्छन् भनेर उतिवेलै भनेको हो । नपत्याए सोध्नुभए हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले संवैधानिक अदालतको जिकिर पनि यत्तिकै नगरेको उनको भनाइ छ । ‘त्यतिवेला कांग्रेस–एमालेले मानेनन् । हाम्रो प्रचण्ड धेरै उदार, सबैलाई दिन्छु दिन्छु भने । सबै छोडिदिए, त्यसको परिणाम ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने अवस्थामा आइपुगेको छ,’ डा. भट्टराईले थपे, ‘अहिले त अदालतले के गर्छ, गर्छ ? साँच्चै भन्न सकिने अवस्था छैन । ओलीले जुन ढंगले मान्छे भरेका छन्, आसेपासे प्रयोग गरेर, धम्क्याएर अन्यथा गर्न पनि सक्छन् । त्योभन्दा माथि जनताको अदालतमा हामी जानुपर्छ ।’ दुईतिहाइको बहुमत हुँदा संसद् भंग गर्नेले फेरि चुनाव गर्छ भनेर कसैले सोच्न नहुने उनको भनाइ थियो ।