१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ पौष २६ आइतबार २०:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्रको सन्देश- राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएँ

Read Time : < 1 मिनेट
२०७७ पौष २६ आइतबार २०:०७:००

पूर्वराजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेर आफूले उच्च साहस र इमानदारी दर्शाएको बताएका छन् । उनले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको गुनासो गरेका छन् ।

पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको शुभकामना सन्देशमा पूर्वराजाले नेपाल निर्माणमा हरेक जातीय, भाषिक र सांस्कृतिक समुदायकाे विशिष्ट योगदानलाई समेत स्मरण गरेका छन् । 

‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौंँ, हाल झापामा रहेका पूर्वराजाले उतैबाट जारी सन्देशमा भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’ उनले जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । 

पूर्वराजाले राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उल्लेख गर्दै भनेका छन्, ‘अहिले मुलुकले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहितअनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेकाे छ ।’ उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप नेपालमा भित्रेकोसमेत आरोप लगाएका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले  संसारमा कतिपय देशमा जाति, भाषा र धर्मका नाममा परस्पर मतभेद उत्पत्ति भएको, तर नेपाल सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज रहेको उल्लेख गरेका छन् । 

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको पनि उल्लेख गरेका छन् । उनले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्नेसमेत बताएका छन् ।