मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २४ शुक्रबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान

Read Time : < 1 मिनेट
२०७७ पौष २४ शुक्रबार १८:५५:००

सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो । 

साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकहरूमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । शुक्रबार महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाबीच अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

युएनडिपीको ‘ग्रिन एन्ड गेम’ परियोजनाको सहयोगमा महानगरले अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत एउटा मोबाइल एप तयार हुनेछ । साइकलयात्रीले सो मोबाइल एप ओपन गरी साइकलको प्रयोग गर्नुपर्नेछ । सो एपमार्फत सडकको साइकल दूरी नापिनेछ र दूुरीको आधारमा साइकलयात्रीलाई पुरस्कारको व्यवस्था गर्ने महानगरले जनाएको छ । 

‘साइकल प्रयोगमा महानगरवासीको संख्या बढाउन यस्तो अभियान थाल्न लागिएको हो, यसमा अन्य उपहारका योजना पनि छन्,’ उनले भने । साइकल चलाउन इच्छुक भएको, तर खरिद गर्न नसकेका दुई सयजनालाई साइकल खरिदका लागि समेत अनुदानको व्यवस्था गरिएको मेयर महर्जनले बताए । 

अभियानले सहरको पर्यावरणीय संरक्षण र मानव स्वास्थ्य सुधारका लागि समेत योगदान पुग्ने महानगरको अपेक्षा छ । महानगरले दोस्रो चरणमा २२ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि टेन्डर गरेको छ । 

यसअघि दश किलोमिटर क्षेत्रमा साइकल लेन निर्माण भइसकेको छ । साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुप्रै चुनौती भए पनि त्यसको व्यवस्थापन गरेर महानगरले साइकल लेन निर्माणको काम सुरु गरेको र प्रयोगकर्ता बढाउन अभियान नै सञ्चालन गर्न लागेकाप्रति खुसी व्यक्त गरे ।