मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२०७७ पौष २४ शुक्रबार १८:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उज्यालो महानगर अभियान :  काठमाडौंका सडकमा हाइमास सडकबत्ती जडान गरिने 

Read Time : > 1 मिनेट
२०७७ पौष २४ शुक्रबार १८:२७:००

काठमाडौंका मुख्य–मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले करिब ६० किलोमिटर सडक क्षेत्रमा एक हजार सात सय ५० वटा हाइमास बत्ती जडान गर्न लागेको हो । 

सडकबत्ती जडानका लागि महानगरपालिकाले गएको २५ मंसिरमै नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । देशकै राजधानी सहरसमेत रहेको महानगरलाई ‘उज्यालो महानगर’ बनाउने उद्देश्यले आधुनिक सडकबत्ती जडान गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
‘महानगरले आफ्नो क्षेत्रका मुख्य सडकहरूमा करिब ८० स्थानमा हाइमास बत्ती जडान गर्छ, ती बत्तीले सडकमा चम्किलो उज्यालो छर्छन् र रात्रिजीवन सहज हुन्छ,’ मेयर शाक्यले भने । 

महानगरको ५५औँ कार्यपालिका बैठकमा मेयर शाक्यले यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षाका लागि समेत सहरमा रात पनि दिनजस्तै उज्यालो हुनु आवश्यक रहेको बताए । 

सडकबत्ती जडानमा प्राधिकरण र महानगरपालिकाको संयुक्त लगानी हुने सम्झौता भएको छ । ‘सहमतिअनुसार सडकबत्ती जडानमा महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी हुन्छ,’ उनले भने । मेयर शाक्यले महानगरका अन्य सडकहरूमा पनि महानगरको आफ्नो स्रोतबाट सडकबत्ती जडान गरिने बताए । 
‘उपलब्ध स्रोत–साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्यलाई तीव्र गतिका साथ अघि बढाइन्छ, अब अँध्यारोमा सडक पार गर्न नपरोस् भन्ने ध्येय हो,’ मेयर शाक्यले भने । 

पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजागन्जसम्म र सिंहदरबारवरिपरि आधुनिक सडक बत्ती जडान गर्ने योजना रहेको महानगरको भौतिक पूर्वाधार विकागका प्रमुख राम थापामगरले जानकारी दिए । यस्तै, पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटेलसम्म पनि पहिलो चरणमै सडकबत्ती जडान गर्ने तयारी रहेको छ । 

विभागका प्रमुख थापाका अनुसार नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिनेछ । ‘ती स्थानमा अहिले भइरहेका सोलार प्यानलको पुनः प्रयोगका लागि हामी स्थान पहिचान गरिरहेका छौँ,’ उनले भने, ‘पहिलो चरणको बत्ती जडानका लागि ११ करोड खर्च हुने अनुमान छ, हामी टेन्डर प्रक्रियामा छौँ ।’