
कालिगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटमा कालिगण्डकी करिडोरमा ट्रक भिरबाट ट्रक खस्दा तीनजनाको मृत्यु भएको छ ।
नवलपुरको गैँडाकोट– ३ भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको छ ।
ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले बताए ।
दुर्घटनामा परी तीनजनाको निधन भएको र अन्य विवरण आउन बाँकी रहेको उनले बताए । घटनास्थलमा उद्धार कार्य जारी रहेकोले मृतकको सनाखत हुन नसकेको उनले बताए ।
बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कंदै गर्दा ट्रक दुर्घटनामा परेको जनाइएको छ ।
घटनास्थलमै तीनजना पुरुषको शव फेला परेको स्थानीयले जानकारी दिएका हुन् ।
ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ भने सडकदेखि करिब एक सय मिटर दूरीमा शव फेला परेको गैँडाकोट– ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
घटनास्थल गैँडाकोट पूर्व–पश्चिम राजमार्गदेखि करिब ३५ किमिको दूरीमा पर्छ ।
विस्तृत विवरण अझै आउन बाँकी रहेको छ । अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेको नवलपुर प्रहरीले जनाएको छ ।