१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कमिसनको चक्करमा सिलिन्डर खरिदमै ध्यान : ठूला अस्पतालले अक्सिजन प्लान्ट नै बनाएनन्, बनाएकाले पनि मर्मत गरेनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:oo:oo

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट बनाउने पैसा बैंकमा राखेर दैनिक सिलिन्डर खरिद गरिरहेको छ । कुन बैंकमा कति प्रतिशत ब्याजमा राखेको भन्नेबारे अस्पतालले खुलाएको छैन । तर, अक्सिजन प्लान्टका लागि भनेर छुट्याइएको ६५ लाख रुपैयाँ बैंक खातामा राखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

‘अक्सिजन प्लान्ट निर्माणका लागि ६५ लाख रुपैयाँ छुट्याएको थियो,’ निर्देशक डा. आचार्यले भने, ‘दुई करोड रुपैयाँ लाग्ने भएपछि रकमले पुगेन । रेट्रोफिटिङ कार्यक्रममार्फत गर्ने भनेर नकिनी बसेका हौँ ।’ आफू प्रतिष्ठानमा आउनु केही वर्षअघिदेखि नै उक्त रकम बैंकमा राखिएको उनले बताए । आचार्य निर्देशक भएको साढे तीन वर्ष भयो । त्यस हिसाबबाट पनि करिब पाँच वर्षदेखि अक्सिजन प्लान्टका लागि भनेर छुट्याइएको रकम ब्याज असुल्न बैंकमा राखिएको छ ।

‘अस्पतालको रकम भएकाले बैंकमा राखौँ भनेरै राखिएको हो,’ उनले भने । प्रतिष्ठानमा दैनिक करिब एक सय ५० वटा सिलिन्डर खपत हुन्छन् । प्लान्ट निर्माण भए सिलिन्डर खरिद बन्द हुन्छ । अधिकारीहरूका अनुसार सिलिन्डरबाट कमिसन पाइने भएकाले प्लान्टको प्रयोग नगरी सिलिन्डर खरिद गरिन्छ ।

कोभिड महामारीको समयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएका छन् । यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि अक्सिजन प्लान्टको प्रयोग नगरी सिलिन्डर खरिद गरिन्छ ।

बिपी प्रतिष्ठानका अनुसार अक्सिजन प्लान्ट बिग्रिएको छैन, तर कोभिड–१९ बिरामीका लागि आवश्यक अक्सिजन सिलिन्डर खरिद गरिन्छ । प्रतिष्ठान स्रोतका अनुसार दैनिक एक सय ५० भन्दा बढी सिलिन्डर खरिद गरिन्छ । बिपीमा दैनिक तीन सयभन्दा बढी सिलिन्डर अक्सिजन खपत हुन्छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अक्सिजन प्लान्ट बिग्रिएको करिब ६ महिना भयो । दैनिक करिब तीन सय सिलिन्डर प्रयोग हुने उक्त प्रतिष्ठानमा हाल सबै सिलिन्डर खरिद गरी चलाइएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार मर्मत गर्ने वा नयाँ ल्याउने भन्नेमा विभिन्न चरणमा छलफल भइरहेको छ । उक्त प्रतिष्ठान ‘कोभिड लेभल थ्री’ अस्पताल हो ।

करिब ६ महिनादेखि बिग्रिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पनि बिग्रिएको अक्सिजन प्लान्ट अझै मर्मत भएको छैन । अस्पताल निर्देशक डा. केदार सेन्चुरीले लकडाउनको समयमा अक्सिजन प्लान्ट बिग्रिएको र मर्मतको काम भइरहेको बताए । ‘पटक–पटक बनाएर प्रयोग गरे पनि प्लान्टको भित्रको भाग जाम भएकाले सम्भव नभएपछि त्यसलाई परिवर्तन गर्नुपर्ने भएको छ,’ डा. सेन्चुरीले भने, ‘फ्रान्सबाट आवश्यक सामान ल्याउनुपर्ने भएकाले केही समय लागेको हो ।’ वीरमा दैनिक एक सय ५० सिलिन्डर खपत हुन्छ । ती सबै टेन्डरमार्फत खरिद गरिन्छ ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड चिकित्सक डा. अनुप बाँस्तोला आइसियू र भेन्टिलेटरभन्दा पनि अब अक्सिजन अपरिहार्य भएको बताउँछन् । अहिले फेरि अस्पतालले सबै शय्यामा अक्सिजन जडान गरेको छ । कोरोना संक्रमित धेरै बिरामीलाई आइसियू र भेन्टिलेटरभन्दा पनि अक्सिजन अत्यावश्यक रहेको अस्पताल निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । भन्छन्, ‘हामीले गम्भीर अवस्था आउने देखेर सुरुमै लिक्विड अक्सिजन प्लान्ट जडान गरेका थियौँ । अहिले सबै बेडमा अक्सिजन जडान गरेका छौैँ ।’

उक्त अस्पतालमा दैनिक करिब दुई सय सिलिन्डर प्रयोग हुन्छन् । ती सिलिन्डरका लागि अस्पतालले ६८ लाख रुपैयाँमा वैशाख अन्तिमतिर ‘लिक्विड अक्सिजन प्लान्ट’ जडान गरेको थियो । त्यसयता अक्सिजन सिलिन्डर खरिद गर्नुपर्ने झन्झट हटेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एक सय ५० सिलिन्डरका लागि अक्सिजन उपलब्ध हुन सक्ने प्लान्ट पनि निर्माण नगरी रकम थन्क्याएर राखेको छ ।

कोरोना संक्रमितको जीवन बचाउन अक्सिजन अत्यावश्यक मानिन्छ । संक्रमितको उपचारका लागि हरेक बेडमा अक्सिजन जडान गरिएको हुनुपर्छ । मृत्यु कम गराउन यसको भूमिका अझ बढी भएको सहिद शुक्रराज अस्पतालका निर्देशक डा. राजभण्डारी बताउँछन् ।

चिकित्सकका अनुसार कोरोना संक्रमितको उपचारका लागि अक्सिजन धेरै आवश्यक पर्ने भएकाले सिलिन्डरबाट सेवा प्रवाह गर्न सहज छैन । सिलिन्डर प्रयोग गर्दा अस्पताललाई ठूलो आर्थिक भार पर्ने मात्रै होइन, समयमा अक्सिजन नपाएर बिरामीको मृत्युसमेत हुन्छ । प्रतिसिलिन्डर अस्पतालहरूले तीन सय ५० देखि चार सय रुपैयाँमा खरिद गर्छन् । हाल सिलिन्डरको मूल्य दोब्बरले बढाएको अस्पतालहरूले बताएका छन् ।

अक्सिजन प्लान्टको आवश्यकता महसुस भए पनि ठूला अस्पतालले भएको प्लान्ट पनि बिगारेका छन् । कोरोना संक्रमण सुरु भएको एक वर्ष लाग्दासमेत बिग्रिएका प्लान्ट मर्मत गरिएको छैन । प्लान्ट मर्मत नगर्नुको मुख्य उद्देश्य भने सिलिन्डर खरिद गर्नु हो ।

ad
ad